सुर्खेत : सुर्खेतको लेकबेशी नगरपालिकाले नगरपालिका भित्रका उत्कृष्ट खानेपानी तथा सरसफाइ समितिहरूलाई पुरस्कृत तथा सम्मान गरेको छ । नगरपालिका भित्र सञ्चालित खानेपानी योजनाहरूको सुचारुपना, दिगोपना, वित्तीय व्यवस्थापन, उपभोक्ता सहभागिता र व्यवस्थापन क्षमतालाई आधार मानी नगरपालिकाले आफ्नो आठौं स्थापना दिवसको अवसर पारी उत्कृष्ट समिति तथा संस्थाहरूलाई पुरस्कृत गरिएको हो ।
नगरपालिकाले तिजुवोट वडिपाटी खानेपानी तथा सरसफाइ समितिलाई प्रथम, श्री न्यावलखोला लमना खानेपानी तथा सरसफाइ समितिलाई द्धितिय र श्री लेकफर्सा खानेपानी तथा सरसफाइ संस्थालाई तृतीय तथा श्री साटाखानी खानेपानी तथा सरसफाइ समितिलाई सान्त्वना पुरस्कार प्रदान तथा सम्मान गरेको हो ।
पुरस्कृत भएसँगै नगरपालिकाले तिजुवोट वडिपाटी खानेपानी तथा सरसफाइ समितिले ५५ हजार रुपैयाँ, न्यावलखोला लमना खानेपानी तथा सरसफाइ समितिले ४५ हजार रुपैयाँ र श्री लेकफर्सा खानेपानी तथा सरसफाइ संस्थाले ३० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् भने सान्त्वना पुरस्कार प्राप्त गरेका श्री साटाखानी खानेपानी तथा सरसफाइ समितिलाइ २० हजार रुपैयाँ प्रदान गरिएको छ ।
नगरपालिकाले उपलब्ध गराएको फर्मेटमा स्व९मूल्यांकन गरी १५ दिनभित्र पेश गर्न सार्वजनिक सूचना जारी गरिएको थियो । जसमा ९० प्रतिशतभन्दा माथि खानेपानी तथा सरसफाइ सेवाको सुचारु अवस्था कायम रहेको दाबी गर्नुपर्ने थियो । हाल नगरपालिकामा अस्तित्वमा रहेका ९५ खानेपानी तथा सरसफाइ योजना मध्ये १३ वटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मात्र दाबी पेश गरेका थिए ।
स्व–मुल्यांकन कार्यका लागि नगरपालिकाको खानेपानी तथा सरसफाइ योजनाको सुचारुपना कायम गर्ने उपभोक्ता संस्था पुरस्कृत गर्ने मापडण्ड २०८० अनुसार सामाजिक विकास समितिका संयोजकको संयोजकत्वमा गठन गरिएको मूल्याङ्कन समितिले उपभोक्ता समितिहरुद्वारा पेश गरिएका कागजात तथा फिल्ड स्तरको अनुगमनको मुल्यांकनको आधारमा पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका मेयर उमेश कुमार पौडेलले सम्मानित संस्थाहरू प्रति बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि यस किसिमका प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले खानेपानी तथा सरसफाइ योजनाको सुचारुपनाको प्रबर्धन हुने बताउनुभयो।
उत्कृष्ट खानेपानी तथा सरसफाइ समितिहरूलाई पुरस्कृत तथा सम्मान कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुख, निर्वारित जनप्रतिनिधिहरु, पालिकाका सम्पुर्ण कर्मचारीहरु सम्बन्धित समितिका पदाधिकारी तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
भनिन्छ उपचार भन्दा रोकथाम राम्रो हो । खानेपानी योजना बिग्रेर मर्मतका लागि राज्यले लगानी गर्नु भन्दा समयमै सानो तिनो मर्मतको लागि उपभोक्ता समिति आफैले गर्ने गरी सक्षम बनाई योजनाको सुचारुपना (Functionality) कायम गर्दा सेवाग्राहीलाई मात्र लाभ नभई राज्यको ठुलो धनराशीको वचत गर्न सकिन्छ । यसले समयमै योजनाको सानोतिनो मर्मत नगर्ने तर राज्यका निकायहरुबाट बजेट खोज्ने उपभोक्ता समितिलाई पनि केही सिकाइ हुनेछ ।