फोहोर व्यवस्थापन राजश्व संकलनको नयाँ क्षेत्र बन्दै, चन्दननाथले उठायो साढे २ लाख बढी राजश्व

  वास खबर सम्बाददाता  157 पटक हेरिएको

जुम्ला : जुम्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिकाले प्लास्टिक र सिसाजन्य फोहोर प्रशोधन थालेको छ । पालिकाभित्रै पुनः प्रयोग केन्द्र स्थापना गरेर प्लास्टिक र सिसाजन्य फोहोर प्रशोधन गर्न थालेको हो ।

प्लास्टिक र सिसाजन्य फोहोर जहाँतहीँ देखिँदा नकरात्मक सन्देश फैलिएको भन्दै संकलन गरेर पुनः प्रयोग गर्न योग्य बनाउने कार्यको प्रारम्भ भएको नगरपालिकाले जनाएको छ ।

गत पुस महिनाको १४ देखि १८ गते सम्म प्लास्टिक र सिसाजन्य फोहोरको अवस्था अध्ययन गरेको नगरपालिकाले नगरभित्रका होटल, सरकारी कार्यालय, स्वास्थ्य संस्था, व्यावसायिक स्थल, धार्मिकस्थल, विद्यालय र सर्वसाधारको गरेर १६० स्थानबाट फोहोर संकलन गरेको थियो ।

नगरभित्र जम्मा हुने कुल फोहोरमध्ये ७९ प्रतिशत फोहोर नागरिकको घरबाट निस्कने गरेको भेटिएको थियो । ९ प्रतिशत स्वास्थ्य संस्थाबाट, ७ प्रतिशत धार्मिकस्थल र ५ प्रतिशत फोहोर व्यापारिक स्थलबाट निस्कने गरेको पाइएको थियो ।

घरधुरीहरुबाट दैनिक औसतमा एक केजी फोहोर उत्पादन भइरहेको भेटियो । दैनिक ६ हजार ८ सय टन फोहोर उत्पादन हुने गरेको नगरपालिकामा १६ प्रतिशत फोहोर प्लास्टिकजन्य थियो । फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख लक्ष्मीचन्द्र न्यौपानले प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा नगरपालिका जुटेको बताए ।

प्लास्टिकजन्य फोहोर प्रशोधन गर्न राष्ट्रिय आविष्कार केन्द्रबाट प्लास्टिक बहिष्करण तथा टुत्र्याउने मेसिन खरिद गरेर प्रयोगमा आइसकेको छ । ८ लाख ९८ हजार ३५० रुपैयाँमा खरिद गरेको मेसिन गत पुस महिनादेखि परीक्षण गरिएको थियो ।

एक हप्ता अपरेटर तालिम गरेर दुई जना नियमित रुपमा अपरेटरले मेसिन चलाइरहेका छन् । नगर प्रमुख राजुसिंह कठायतले महावीर पुनसँगको परामर्श पछि मेसिन जुम्ला ल्याइपुर्‍याइएको बताए । ‘नगरभित्रको फोहोर हटाउन निकै कठिन छ’ प्रमुख कठायतले भने, ‘प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्न यो मेसिन पर्याप्त हुनेछ ।’ उनले नगरवासीलाई फोहोरको वर्गीकरण गरेर राख्न सुझाव दिएको खबर कान्तिपुरले प्रकाशन गरेको छ।

‘मेसिनले जथाभावी फालिने प्लास्टिकजन्य फोहोरलाई व्यवस्थित रुपमा संकलन र वर्गीकरण गर्ने छ’ उनले भने, ‘यसबाट सफा, हराभरा र स्वच्छ राख्न राहत मिल्नेछ ।’

मेसिन सञ्चालन तथा मर्मत खर्चिलो हुनु, आवश्यक सामग्री जिल्ला बाहिर मात्र उपलब्ध हुनु, अपरेटरहरूको सुरक्षाको प्रत्याभूति कमजोर हुनु तथा पर्याप्त जनशक्ति र आधारभूत पूर्वाधारको अभाव हुनु प्रमुख समस्या रहेका छन् ।

शाखा प्रमुख न्यौपानेले प्लास्टिक तथा सिसाजन्य फोहोरको संकलन र व्यवस्थापनलाई व्यवस्थित गर्न विशेष कार्यविधि आवश्यक रहेको बताए । चन्दननाथ नगरपालिकाले आ.व. २०८१/८२ को फागुन २७ गतेसम्म फोहोर उठाएर २ लाख ५१ हजार ६ सय राजस्व संकलन गरेको छ ।

प्लास्टिक प्रयोग नगर्ने वा कम गर्ने परिवारहरूको तथ्यांक संकलन गरी तिनलाई प्रोत्साहन गर्ने, विद्यार्थीहरूलाई प्लास्टिक संकलन गर्न प्रेरित गर्दै प्रति ५ केजी प्लास्टिकको विनिमयमा कापी तथा कलम उपलब्ध गराउने, अन्य नागरिकलाई प्रतिकेजी १० रुपैयाँ नगद वा नगरपालिका चिह्नयुक्त उपहार दिने योजना रहेको छ ।

पुनः प्रयोग गरिएका प्लास्टिकबाट बेन्च तथा डेस्क निर्माण गरी सार्वजनिक स्थानमा राख्ने, प्लास्टिक न्यूनीकरणका लागि रेडियो जिंगल, सचेतना अभियान तथा प्लास्टिक संकलन कार्यक्रम सञ्चालन गर्ने, ४० माइक्रोन भन्दा कम प्लास्टिकको बिक्री, वितरण तथा प्रयोगमा पूर्ण रोक लगाउने, वडा तथा नगरपालिका स्तरमा प्लास्टिक तथा सिसाजन्य फोहोर व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तथा अन्य पालिकाबाट प्लास्टिक संकलन गरी पुनः प्रयोगका लागि केही राजस्व लिएर प्रयोग गर्ने योजना पनि नगरपालिकाले अघि सारेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार