बेसीशहर खानेपानी आयोजनाको उद्घाटन, तीन हजार घरधुरीमा २४ सै घण्टा खानेपानी उपलब्ध हुने

  वास खबर सम्बाददाता  339 पटक हेरिएको

लमजुङ : लमजुङ जिल्लाको बेसी शहर स्थित बेसी शहर सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन एव हस्तान्तरण गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको उदघाटन एवं हस्तान्तरण गर्नुभएको हो ।

भाचोक खोलाको पानीलाई प्रशोधन गरी बेंसिशहर बजारमा वितरण गर्न थालिएको छ । आयोजनाबाट वडा नं. ६ देखि १० सम्मका तीन हजार ३०० घरधुरीका करिब ४५ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन्।

उदघाटन कार्यक्रममा मन्त्री यादवले बेसीशहर नगरवासीहरूका लागि मात्र नभई समग्रमा खानेपानी सेवा सुधारका दृष्टिले ऐतिहासिक कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकार, उपभोक्ता समिति तथा स्थानीय तहको सहकार्य, प्रतिबद्धता र समन्वयका कारण आयोजना कार्यान्वनले सफलता प्राप्त गरेको बताउनुभयो ।

‘अबको हाम्रो प्राथमिकता गुणस्तरीय व्यवस्थापन, उच्चस्तरीय सेवा र सर्वसुलभ दरमा स्वच्छ पानीको पहुँच सुनिश्चित गर्नु हो’ उहाँले भन्नुभयो ‘यस कार्यमा तपाईंहरूको सक्रिय सहभागिता अति आवश्यक छ।’

नेपाल सरकार सुलभ, सुरक्षित र दीगो खानेपानी सेवा उपलब्ध गराउने संकल्पका साथ अगाडि बढिरहेको र समुदायको साथ, समर्थन र सहकार्यबाट अझ प्रभावकारी योजना लागु गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

नेपाल सरकारको नीति नै नागरिकलाई सुरक्षित, दिगो र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउनु भएकाले देशका दुर्गम क्षेत्र सहित लमजुङका नागरिकको खानेपानीको समस्या सधैका लागि समाधान गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। ‘देशका हिमाल, पहाड, तराइँ सहित विभिन्न दुर्गम क्षेत्रका नागरिकहरूको खानेपानीको समस्या सधैका लागि समाधान गर्न सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको छ’ मन्त्री यादवले भन्नुभयो।


खानेपानी आयोजना उदघाटन तथा हस्तान्तरण कार्यक्रममा खानेपानी सचिव ई.प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यबस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठ लगायत हुनुहुन्थ्यो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार