दमकलको सहायताले सडक पखाल्दै बेनी नगरपालिका

  वास खबर सम्बाददाता  146 पटक हेरिएको

बेनी : म्याग्दी जिल्लाको सदरमुकाम समेत रहेको बेनी नगरपालिकाको सडक क्षेत्रमा धुलो जम्न थालेपछि नगरपालिकाले दमकलको सहायताले सडक पखाल्न सुरु गरेको छ ।

सडकमा धुलो जम्मा भएको र हावाहुरीले उडाएर जनस्वास्थ्यमा नकारात्मक असर परेकोले पखालेर धुलो हटाउन लागेको नगर प्रमुख सुरत के.सी.ले जानकारी दिनुभयो ।

“सडकमा जम्मा भएको धुलोलाई हावाले उडाएर जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्नुका साथै बजारका व्यापार व्यवसायमा समेत नकारात्मक असर परेकोले सडकको सबै धुलोलाई पखालेर नालीमा खसाल्न खोजिएको हो”, नगर प्रमुख के.सी. को भनाइ छ, “एक साता परीक्षणपछि हप्ताको एक वा दुई पटक सफा गरे पनि पुग्छ भन्ने आशा छ ।”

हेर्नुहोस् यो भिडियो :

सडक सफा गर्ने कार्यका लागि आवश्यक पानी बेनी खानेपानीले उपलब्ध गराएको छ भने दमकल र नगर प्रहरी बेनी नगरपालिकाले व्यवस्था गरेको छ ।

बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले नागरिक र बेनी बजारका व्यवसायीको गुनासोका आधारमा सडक सफा गर्ने कार्य गरिएको बताउनुभयो ।नगर प्रहरी प्रमुख शंकर पौडेलले नगर सफा गर्ने कार्यमा सबै बासिन्दाको सहयोगको अपेक्षा गर्नुभयो ।

तस्वीर/भिडियोः शिव आचार्य


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार