
गाईघाट : उदयपुरमा यस अघि कहिल्यै नसुकेका पानीका मुहान धमाधम सुक्न थालेपछि गाउँका मानिसलाई मात्र होइन सदरमुकामस्थित गाईघाट बजारका उपभोक्तालाई समेत खानेपानीको अभाव हुन थालेको छ ।
आम उपभोक्ताको आवश्यकता अनुसार यसअघि सञ्चालित साना सहरी खानेपानी आयोजनाले पानी उपलब्ध गराउन नसक्नु, गाईघाट खानेपानी आयोजनाको काम बिचैमा अलपत्र हुनु र इनार, कुवा तथा ट्युबेल जस्ता सतह मुनिको पानी निकाल्ने मुहान धमाधम सुक्दै गएपछि गाईघाट बजारका उपभोक्तालाई समेत खानेपानीको अभाव हुन थालेको हो ।
चुरे तथा महाभारत क्षेत्रमा हुने वन विनाश तथा भूक्षयीकरणसँगै प्राकृतिक स्रोत साधन माथि गरिने अत्यधिक दोहन, मानव अतिक्रमण तथा जलवायु परिवर्तनसँगै उदयपुरको चुरे तथा महाभारत क्षेत्रमा बसोबास गर्ने गाउँबस्तीमा खानेपानीको समस्या बढेको हो । पछिल्लो समय चुरे तथा पहाडी क्षेत्रमा पानीको मुहान सुक्ने क्रम बर्सेनि बढ्दै गएपछि स्थानीय उपभोक्तामा खानेपानीको समस्या विकराल हँुदै गएको हो ।
चुरे क्षेत्रबाट निकालिएको ढुङ्गा, सिलिकन बालुवा, गिट्टी, माटो र वन पैदवार आदिको विनाशबाट चुरेको अस्तित्व नै सङ्कटग्रस्त हुँदै गएको छ भने आसपासका बस्तीमा भएका इनार, कुवा तथा ट्युबेलमा सुक्खा मौसम सुरु भएसँगै पानी ठप्पै हुने गरेको गाईघाट बजारका स्थानीय उपभोक्ता प्रकाश तामाङले बताउनुभयो ।
त्रियुगा नगरपालिका–३, भुल्के निवासी ७५ वर्षीय ज्येष्ठ नागरिक चक्रमणि पोखरेलका अनुसार चुरेमुनिका बस्तीमा पानीको स्रोत सुक्न थालेको पाँच वर्ष जति भयो । यसै गरी त्रियुगा नगरपालिका–३, चाँपका उपभोक्ता बमबहादुर कटवालका अनुसार सुक्खा मौसम सुरु भएसँगै उहाँको टोलमै खानेपानीको समस्या आइपरेको छ ।
कटारी, त्रियुगा र चौदण्डीगढी नगरपालिका तथा उदयपुरगढी गाउँपालिकाका अधिकांश क्षेत्र चुरे आसपासमा रहेको र चुरे क्षेत्रमा रहेका पानीका मुहान नै सुक्न थालेपछि स्थानीय उपभोक्तामा खानेपानीको अभाव हुन थालेको हो । जङ्गल क्षेत्रमा परापूर्वकालदेखि रहँदै आएका प्राकृतिक कुवा, जरुवा र पोखरी धमाधम सुक्न थालेपछि मानव मात्र नभएर वन्यजन्तुलाई समेत खानेपानीको अभाव खड्किन थालेको छ ।
चुरेको माथिल्लो भागमा पानी सुक्न थालेपछि त्यस क्षत्रमा पाइने निल गाई, झारल, घोरल जस्ता जङ्गली जनावर पानी खोज्दै बस्तीतिर आउन थालेको त्रियुगा नगरपालिका–५, श्रीपुरका बासिन्दा डम्बरबहादुर थापाले बताउनुभयो । चुरे पहाडमा मुहान भएका सिरहा, सप्तरी र उदयपुरतर्फ बग्ने झन्डै तीन दर्जनको सङ्ख्यामा रहेका खोलामा पानी देखिन छोडेको छ ।
पानीकै समस्याका कारण पशुपालन र खेती किसानी गर्नसमेत समस्या परेकोे त्रियुगा नगरपालिका–६, लालपत्ताका किसान नरबहादुर खड्का बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “क्रमिक रूपमा चुरे क्षेत्रमा पानी सुक्ने क्रम जारी छ । सुक्खा मौसम सुरु भएपछि पानी सुक्ने क्रम झनै बढेर गएको र खानेपानीकै व्यवस्थापन गर्न ठुला आयोजना ल्याउन पर्ने अवस्था छ ।”
गाईघाट बजार र त्रियुगा नगरपालिका–९, गैरुन क्षेत्रमा विगत चार वर्ष यतादेखि सुक्खायाममा ट्युबेलमा पानी आउन छाडेको स्थानीय उपभोक्ता देवकी सदाले बताउनुभयो । खानेपानीको समस्या झेल्दै आएका गैरुनका उपभोक्तामा त्रियुगा नगरपालिकाले ट्याङ्करबाट लगेर पानी वितरण गर्दै आएको नगरप्रमुख वसन्तकुमार बस्नेतले बताउनुभयो ।
गैरुनका मनकामना टोल विकास संस्थामा आबद्ध ३० घरपरिवारलगायत अन्यलाई दैनिक रूपमा त्रियुगा नगरपालिकाको ट्याङ्करबाट खानेपानी ढुवानी गरी वितरण गर्ने गरिएको खबर गोरखापत्रले प्रकाशन गरेको छ। नगरपालिकाले एक पटकमा एक घरलाई पाँच सयदेखि सात सय लिटरसम्म पानी दिने गरेको नगरप्रमुख बस्नेतले बताउनुभयो ।


502 पटक हेरिएको 

