वायु प्रदुषणका कारण आँखाका बिरामी बढ्दै

  वास खबर सम्बाददाता  237 पटक हेरिएको

मकवानपुरगढी : मकवानपुर लगायत आसपासमा जिल्लाका जङ्गलमा लागेको डढेलोले वातावरण प्रदुषण हुँदा आँखाका बिरामीको सङ्ख्या बढिरहेका छन् । मकवानपुरमा चैत महिनादेखि लागेको डढेलोका कारण वातावरण दुषित हुँदा दिनहुँ जसो नाक, आँखा, घाँटी र छालाका बिरामीहरू बढ्दै गएका छन् ।

वायु प्रदुषण बढेसँगै तुवालो लागेर मौसम प्रतिकुल देखिएको छ भने श्वासप्रश्वासमा समेत समस्या आएको छ ।

जसकारण हेटौँडाको नीजि तथा सामुदायिक अस्पतालमा बिरामीहरूको चाप बढेको चिकित्सहरूको भनाइ छ । मकवानपुरको सामुदायिक आँखा अस्पतालमा अन्य दिनहरूमा भन्दा ३० प्रतिशत आँखाका बिरामीहरू थपिएको अस्पतालका डाक्टर सुधीर श्रेष्ठले जनाकारी दिनुभयो ।

अहिले दैनिकीजसो चार सयको हाराहारीमा बिरामीहरू उपचारका लागि आउने गरेका छन् । जाँच गर्न आउने बिरामीहरूले दैनिक ५० वटा चस्मा खरिद गरेर लाने गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

यो मौसममा विशेषतः बिरामीहरू आँखा पोल्ने, चिलाउने, आँशु बग्ने र आँखा रातो हुने समस्याले अस्पताल आउने गरेको उहाँले बताउनुभयो । अस्पतालका दृष्टि विशेषज्ञ आरती क्षेत्रीले बिरामीलाई आँखा पोल्ने, चिलाउनेजस्ता समस्या देखिएमा अस्पतालमा आएर उपचार गर्न सुझाउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘अहिले बढिरहेको वायु प्रदुषणबाट जोगिन घरबाट बाहिर निस्किदा प्रोटेक्टिभ ग्लासको प्रयोग गर्नुपर्छ । आँखा पोलेमा वा चिलाएमा आखाँमा पानी छ्याप्ने वा आँखा मिच्ने गर्न हुँदैन । डाक्टरको सल्लाह बमोजिम मात्र औषधी प्रयोग गर्नुपर्छ ।’

हेटौँडा अस्पतालका कन्सलटेन्ट फिजिसियन डाक्टर उदित आचार्यले अस्पतालमा हाल श्वासप्रश्वास र विशेषगरी गर्भवती, वृद्धवृद्धा, मुटुरोगीहरूमा वायु प्रदुषणले असर पार्ने हुँदा लक्षित समूहले विशेष ख्याल राख्नुपर्ने उहाँले बताउनुभयो । अस्पतालमा श्वास प्रश्वासमा समस्या र एलएर्जीका बिरामीहरू बढेको उहाँ बताउनुहुन्छ ।

सामूदायिक आँखा अस्पतालमा विशेषतः मकवानपुर, बारा, सिमरा, रौतहट, सर्लाही र महोत्तरीका बिरामी आँखा जाँच्न आउने गरेका छन् ।

वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी सञ्जीव सुवेदीले यस वर्ष डढेलो नियन्त्रणका लागि २ करोड ९० लाख रुपिँया बजेट विनियोजन गरेको बताउनुभएको छ ।

हालसम्मको तथ्याङ्कअनुसार यसवर्ष मकवानपुर जिल्लामा २ हजार ४ सय ३६ हेक्टरको क्षेत्रफलमा डढेलो लागेको उहाँले बताउनुभयो । मकवानपुरको दस स्थानीय तहको एकसय ५१ स्थानमा डढेलो लागेको छ ।

डढेलोले गत बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । डढेलोका कारण एक सय २ रुख जलेर नष्ट भएको छ । ३ लाख २७ हजार ४ सय ६७ बोटबिरुवा नष्ट भएको छ ।

सूचना अधिकारी सुवेदीका अनुसार मन्त्रालयले आफनो मातहतको पन्ध्र वटा डिभिजन वन कार्यालयसँगको समन्वयनमा कर्मचारी तथा सूरक्षाकर्मी परिचालन, अग्नी नियन्त्रण सामग्री खरिद, पत्कर सङ्कलन, अग्नि रेखा निर्माण, सूचना प्रचार–प्रसार, दमकल परिचालन र ट्राफिक उपचार लगायतका कार्यक्रमहरू हरेक वर्ष गर्दै आइरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार