
काठमाडौ : एसियाली विकास बैंक (एडिबी) को मिसन टोलीले खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग र परियोजना कार्यान्वयन एजेन्सीहरूसँग एकीकृत खानेपानी तथा ढल व्यवस्थापन परियोजनाका बिषयमा छलफल गरेको छ ।
मिसन टोलीले परियोजनाको तयारी र परियोजना सञ्चालन हुने नगरहरूको छनोट, परियोजना संरचना, कार्यान्वयन ढाँचा, खरिद रणनीति, समग्र वित्तीय योजना आदि विषयमा सम्बद्ध पक्षसँग छलफल गरेको हो ।
खानेपानी मन्त्रालयमा भएको छलफलमा परियोजनाको विस्तृत परियोजना प्रतिवेदन र सम्बन्धित अन्य कागजातहरूको अन्तिम रूप दिने प्रक्रियाका बिषयमा छलफल भएको थियो ।
परियोजना कार्यान्वयन व्यवस्था सम्बन्धी छलफल र अन्तिम रूप दिने, सम्बन्धित सरकारी निकायहरू र अन्य सरोकारवालाहरू सँग परामर्श गर्ने, परियोजना सञ्चालन हुने एक वा दुईवटा सहरहरूमा स्थल भ्रमण गर्ने उद्देश्यले एडिबीको मिसन टोली परिचालन गरिएको हो ।
मिसन टोलीमा एडिबीका वरिष्ठ शहरी विकास विशेषज्ञ घुफ्रान शफी, वरिष्ठ परियोजना अधिकृत (शहरी विकास) नरेश गिरी, एसोसिएट अपरेशन्स अफिसर, आइभी क्याथरिन डिजन, परियोजना विश्लेषक रोमन भट्टराई र अपरेशन्स सहायक सुवान्ती लामा हुनुहुन्छ ।
सरकारले मध्यम तथा साना सहरहरूमा शहरी सेवाहरू सुधार गर्न एशियाली विकास बैंकको सहयोगमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन परियोजना सञ्चालन गर्न लागेको छ । यस परियोजनाले सबैका लागि आधारभूत खानेपानी तथा सरसफाइ सेवाको सुनिश्चित गर्ने सरकारको लक्ष्यमा योगदान पुर्याउने अपेक्षा लिएको छ ।
यस परियोजनाले सहर तथा नगरपालिकाहरूमा खानेपानी र सरसफाइ सँग सम्बन्धित बढ्दो चुनौतीहरू समाधान गर्न रणनीति र मार्गनिर्देशन प्रदान गर्नेछ ।
परियोजना अन्तर्गत मध्यम तथा साना सहरहरूमा उत्थानशील शहरी खानेपानी पूर्वाधार सुधार गर्ने, ती सहरहरूमा सरसफाइ पूर्वाधार र प्रणाली सुधार गर्ने र दिगो र समावेशी सेवा प्रदानका लागि अनुकूल वातावरणको प्रबर्द्वन गर्नेछ ।
खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठ र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक, परियोजना कार्यान्वयन एजेन्सी लगायतसँग प्रारम्भिक बैठक गरेको एडिबीको मिसन टोलीले परियोजना सञ्चालन गर्न छनौट गरिएका नगरहरूको स्थलगत भ्रमण समेत गर्नेछ । मिसन टोलीले परामर्शदाता र परियोजना कर्मचारीहरूसँग पनि प्राविधिक छलफल गर्नेछ ।


606 पटक हेरिएको 

