दामगाडेमा घरैपिच्छे धारा आए, घ्याम्पोका दिन गए, दामगाडे खानेपानी आयोजना नगर खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण

  वास खबर सम्बाददाता  200 पटक हेरिएको

मकवानपुर : मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ८ दामगाडेमा खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । खानेपानीको चरम अभावमा रहेका १ सय ५१ परिवारका लागि निर्माण गरिएको दामगाडे खानेपानी तथा सरसफाई आयोजना निर्माण सम्पन्न गरी उद्घाटन गरिएको हो ।

परियोजनाको थाहा नगरपालिका नगर कार्यपालिकाका प्रमुख विष्णु बहादुर विष्टले उद्घाटन गर्नुभयो।

विद्युतमा आधारित लिफ्टिङ खानेपानी आयोजनाबाट कैलाश गाउँपालिकाका १२ परिवारलाई समेत खानेपानी वितरण गरिएको छ । कुल १ करोड ७५ लाख ५३ हजार १ सय ३६ रुपैयाको लागतमा खानेपानी परियोजनाको निर्माण भएको हो ।

गैरसरकारी संस्था च्वाइस नेपालको सहयोगमा रोटरी तथा च्वाइस नेपालबाट ७२ लाख ५ हजार ८ सय ८६ रुपैयाँ, बागमती प्रदेश सरकारको ६५ लाख, थाहा नगरपालिकाको १५ लाख तथा स्थानीय उपभोक्ताको १९ लाख ७० हजार ५ सय ५० रुपैयाको लागत सहभागितामा आयोजना निर्माण गरिएको हो ।

उद्घाटन कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले अति आवश्यक ठाउँ पहिचान भएको गाउँमा खानेपानी योजना निर्माणका लागि साझेदारी गरेकोमा च्वाइस नेपाल तथा रोटरी क्लब अफ काठमाण्डौं प्रति आभार व्यक्त गर्नुभयो। विष्टले दशाकौं देखिको दामगाडे गाउँको खानेपानी अभाव थाहा पाएको भए पनि बजेट कम भई सम्पन्न गर्न नसकेकोमा साझेदारी संस्था र उपभोक्ताको उत्साहबाट ‘एक घर, एक धारा’ निर्माणमा सफलता मिलेको बताउनुभयो।

थाहानगर खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका विष्टले नगरका सबै खानेपानी आयोजनाहरुलाई एकीकृत रुपमा सञ्चालन व्यवस्थापनको प्रबन्ध मिलाउने बतााउनुभयो । ‘आयोजनाको निर्माण सम्पन्न मात्र ठूलो कुरा भएको बताउँदै यसको दीगो व्यवस्थापन चुनौतिपूर्ण रहेको छ’– बोर्डका अध्यक्ष विष्टले थप्नुभयो ‘यसका लागि खानेपानी व्यवस्थापन बोर्ड मार्फत प्रविधि र व्यवस्थापकीय सहयोग हुन्छ, च्वाइस र रोटरी जस्ता सहयोगी संस्था हामीसँगै हुनु हुनेछ।’

च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्माले दामगाडेमा खानेपानी संकट टार्न आफ्नो संस्थाको तर्फबाट सहयोग भएको भएपनि परियोजनामा उपभोक्ताको लगानी र लगावको उच्च प्रशंसा गर्नुभयो।

पहिलो जनप्रतिनीधिकै पालामा सम्झौता गरी अघि बढाइएको परियोजना सम्पन्न गर्नका लागि समुदायसंगै, रोटरी क्लब अफ काठमाण्डौं, थाहा नगरपालिका, वडा कार्यालय सबैको सहयोगमा सफल भएको बताउँदै संयुक्त सहकार्यबाटै उपलब्धी हासिल भएकोमा खुशी व्यक्त गर्नुभयो । च्वाइस नेपालले हाल देशका २५ स्थानीय सरकारसंग सहकार्य गर्दै काम गरीरहेको उल्लेख गर्दै दामगाडेमा अरु थप परियोजनाहरु पनि सञ्चालन गर्ने शर्माले बताउनुभयो।

‘खानेपानीका आयोजनाको स्टोर भवन, ममर्तसंभार तालिम र केही आयआर्जनका कार्यक्रमहरु पनि हाम्रो योजनामा छन्’ शर्माले भन्नुभयो ‘सहयोगी रोटरीलाई अनुरोध गरेका छौं, सहयोग आए त्यसबाट कार्यक्रम गर्छौ, नत्र च्वाइसले गर्छ, ढुक्क हुनुस्, खानेपानी आयोजना उद्घाटन गर्ने वित्तिकै च्वाइस चटक्कै छोडेर जाँदैन ।’ च्वाइस नेपालले थाहा नगरपालिकामा विगत १० वर्षदेखि साँझेदार संस्थाको रुपमा काम गर्दै आइरहेको छ ।

रोटरी क्लब अफ काठमाण्डौं मेट्रोका पास्ट डिस्ट्रिक गभर्नर राजीव पोख्रेलले रोटरियनहरुले गरेको सामाजिक कामको लागि गरेको योगदान दामगाडेमा साँच्चै प्रभावकारी भएको बताउँदै दशकौदेखि घ्याम्पोमा जम्मा गरेर फारो गरी पानी खानुपर्ने दिनको अन्त्य भएकोमा खुशी व्यक्त गर्नुभयो। अन्तराष्ट्रिय संस्था रोटरीमा व्यक्तिले सामाजिक काम गर्नकै लागि दिने अनुदानबाट समुदायको व्यक्तिहरुमा चमक आउँदा दाताहरु आनन्दित हुने उहाँको भनाइ थियो ।

पोख्रेलले राजधानीबाट नजिक भएर पनि निकै दुःखमा संघर्ष गरिरहेका गाउँलेहरुलाई आफ्नो संस्थाको तर्फबाट सहयोग हुने प्रतिवद्धता जनाउनुभयो। थाहा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष हेम कुमार थिङले दाताहरुको सहयोगमा वडाकै ठूलो योजना सम्पन्न गर्न सहयोग मिलेकोमा खुशी व्यक्त गर्नुभयो। च्वाइस, रोटरी लगायतको संस्थाले वडा नम्बर ८ लाई हेर्ने दृष्टिकोण सकारात्मक बनाएकोमा खुशी व्यक्त गर्दै नागरिकसंग जोडिएका विकासे काममा साँधै सहकार्य हुने उहाँको प्रतिवद्धता थियो ।

नगरपालिकाका प्रमुख उपप्रमुखलगायत पनि आग्राको विकासमा सँधै सकारात्मक देखिएकोमा प्रशंसा गर्दै गैरसरकारी संस्थाहरु, पालिका र वडाको संयुक्त सहकार्यबाटै ८ नम्बर वडाको सम्वृद्धि हुने थिङले विश्वास गर्नुभयो।

कार्यक्रमको अवसरमा च्वाइस नेपाल, रोटरी क्लबलाई नगरपालिकाले दोसल्लासहित सम्मान गरिएको थियो । कार्यक्रममा रोटरी क्लबलका पोख्रेल, पास्ट प्रेसिडेन्ट सशी सत्याल लगायतलाई नगर प्रमुख विष्टले सम्मान गरेका हुन् । त्यस्तै वडा कार्यालयले नगरपालिकाका प्रमुख उपप्रमुख प्रमुख प्रशासकीय अधिकृत लगायतलाई पनि सम्मान गरिएको थियो ।

सो अवसरमा उपभोक्ता समितिको कामको उच्च मूल्याङ्कनसहित अध्यक्ष मान बहादुर पाख्रिन, च्वाइस नेपालका प्राविधिक सुवास मरहट्टालाई पनि दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

यसैबीच दामगाडे खानेपानी तथा सरसफाई परियोजनालाई उद्घाटन समारोहकै अवसरमा थाहा नगर खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको छ । अब उक्त आयोजना बोर्डको ऐन अनुसार सञ्चालन तथा व्यवस्थापन हुने भएको छ ।

वडा नम्बर ८ की वडा सदस्य कान्छीमायाँ वाइवाले स्वागत गरेको कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, वरिष्ठ इन्जिनियर विनायक शर्मा, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, च्वाइस नेपालका कार्यक्रम निर्देशक किरण न्यौपाने, भिटिङ्गल जिसी, जिल्ला कार्यक्रम संयोजक सुकराम दुलाल, इन्जिनियर प्रकाश बास्तोला, पालुङका प्रताप घिमिरे, सुवास मरहट्टा, वडा सदस्य बद्री थापा, स्थानीय समाजसेवी अरण रायमाझी, विद्युत प्राधिकरण पालुङका राजु पोखरेल, थाहानगर खानेपानी बोर्डका सुरज कुमार भुजेल, पूर्व वडाध्यक्ष टिकाराम मोक्तान, नेपाल तामाङ घेदुङ संघ थाहाका अध्यक्ष दिपक थिङ, पत्रकार शम्भु अधिकारीलगायतकाको आतिथ्यता रहेको थियो । सो अवसरमा स्थानीयहरुले तामाङ साँस्कृतिक ढ्याङग्रो नाच समेत प्रदर्शन गरेका थिए ।

खानेपानी परियोजना उदघाटनका केही तस्बिरहरु :

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार