
नगरकोट : खानेपानीमन्त्री प्रदीप यादवलाई १५ किलो मालाले सम्मान गरिएको छ । खानेपानी मन्त्रालय र अन्तर्गतका निकायहरुको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्न अहं भूमिका खेले बापत मन्त्री यादवलाई खानेपानी तथा ढल व्यवस्थापन विभागले १५ किलो मालाद्वारा सम्मान गरिएको हो ।
नयाँ सांगठनिक संरचना अनुसार स्थापना गरिएको ‘राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र’मा आयोजित ‘स्थायी संगठन संरचना बमोजिम कार्यालयको शुभारम्भ र भावी कार्यदिशा सम्बन्धमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम’मा मन्त्री यादव सँगै खानेपानी सचिव प्रमिलादेवी शाक्य (बज्राचार्य) लाई खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक राम कुमार श्रेष्ठ, उपमहानिर्देशकहरु बाल मुकुन्द श्रेष्ठ र जक्की अहमद अन्सारीले सम्मान गर्नुभयो।
सम्मान कार्यक्रम पछि खानेपानीमन्त्री प्रदीप यादवले भन्नुभयो ‘यो सम्मानको हकदार तपाईहरु आफै हुनुहुन्छ।’ उहाँले खानेपानी मन्त्रालय नै रहन्छ कि रहँदैन भन्ने अवस्थाबाट गुज्रिरहेको बेला खानेपानी मन्त्रालय र मातहतका निकायहरुको स्थायी संरचना खडा गर्न सफल भएको बताउनुभयो।

मौजुदा अवस्थामा देशका २० वटा स्थानमा रहेका संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरुको ठाउँमा अब १५ वटा स्थायी कार्यालयहरु रहनेछन् । ती स्थायी कार्यालयहरुको नाम खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रहनेछ ।
मन्त्री यादवले अस्थायी प्रकृतिको आयोजनाबाट स्थायी कार्यालय स्थापना हुनु सुरक्षित खानेपानी र सरसफाइ उपभोग गर्न पाउने नागरिकको मौलिक हकको रक्षा गर्नु मात्र नभई खानेपानी मन्त्रालय र मातहतमा कार्यरत कर्मचारीहरुको भविश्यको सुरक्षाको ग्यारेन्टी र आत्मसम्मान पनि भएको बताउनुभयो।
नयाँ संगठन संरचना अनुसार खानेपानी मन्त्रालयको ३ सय ४४ जना स्थायी दरबन्दी रहेको छ । स्थायी दरबन्दीले मात्र वर्तमान कार्यभार पूरा गर्न नसक्ने भएकाले अस्थायी दरबन्दी सिर्जना गरिने उहाँले बताउनुभयो । मन्त्री यादवले १५ वटा स्थायी कार्यालयहरु भए पनि मौजुदा आयोजना कार्यालयहरु समेत नहटाउने र मन्त्री स्तरीय निर्णय गरी यथावस्थामै काम हुने वातावरण सिर्जना गर्ने दाबी गर्नुभयो ।
मन्त्री यादवले खानेपानी तथा सरसफाइ क्षेत्रको पूँजीगत खर्च बढाउन उच्च मनोबलका साथ काम गर्न पनि निर्देशन दिनुभयो। देशैभरिका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयबाट सहभागी कर्मचारीहरुलाई निर्देशन दिदै उहाँले भन्नुभयो ‘९५ प्रतिशत पूँजीगत खर्च हुने गरी उच्च मनोबलका साथ काम गर्नुहोस्, तपाई त्यस क्षेत्रको नायक हुनुुहुन्छ । म तपाईहरुको मनोबल खस्किने दिने छैन।’
उहाँले खानेपानी र सरसफाइ क्षेत्रमा रकमको अभाव हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। ‘रकमको चिन्तै नगर्नुहोस्, त्यो मलाई छोडिदिनुहोस्, पूँजीगत खर्च बढाउने तर्फ ध्यान दिनुहोला’ उहाँले भन्नुभयो ।

यसअघि कहिल्यै पनि यत्ति धेरै स्रोत सहमति ल्याउन सफल नभएको दाबी गर्दै मन्त्री यादवले आगामी बर्षका लागि १२ अर्बको स्रोत सहमति ल्याईसकेको र ८१ वटा नयाँ खानेपानी आयोजना ठेक्कामा गैसकेको बताउनुभयो।
नेपाल सरकार मन्त्रीपरिषद बैठकले यही चैत्र ११ गते खानेपानी मन्त्रालय र अन्तर्गतको निकायहरुको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गरेको थियो ।
मन्त्रालयले नयाँ संगठन संरचना अनुसार मन्त्रालयका र मातहतका निकायहरुको पुनःसंरचना गर्न थालेको छ ।
मन्त्रालयले सेवा नियमन तथा समन्वय महाशाखामा उपमहानिर्देशक जक्की अहमद अन्सारलाई नियुक्त गरिरकेको छ भने खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रलाई खानेपानी मन्त्रालय मातहत ल्याई ‘राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र’ को सुरुवात गरिसकेको छ । जसको प्रमुख सहसचिव माधव अधिकारीलाई तोकिएको छ।



809 पटक हेरिएको 

