
काठमाडौ : संघीय खानेपानी, सरसफाइ तथा स्वच्छता वास क्लष्टरको बैठक सम्पन्न भएको छ । खानेपानी मन्त्रालयको खानेपानी तथा सरसफाइ महाशाखाका प्रमुख तथा वास क्लष्टर संयोजक सहसचिव मीना श्रेष्ठको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा संयुक्त पुनःस्थापना कार्य योजना अद्यावधिक, बाढीपछिको अनुभव साझेदारी, पाठ सिकाइ र पुनःस्थापना, विभिन्न संस्थाहरूले बाढी आएपछि गरेका कामहरूको अनुभव आदानप्रदान र आएका चुनौती र समाधानका लागि चालिएका कदम तथा भविश्यको योजनाका बिषयमा छलफल गरिएको थियो।
यस्तै खानेपानी, सरसफाइ स्वच्छता क्षेत्रमा विपद् आउँदा के गर्ने योजना छ भन्नेबारेमा पनि छलफल भएको थियो । आपतकालीन तयारी, आवश्यक सामग्री, जनशक्ति, र बजेट तयारी बारे समेत छलफल गरिएको थियो ।
बैठकमा वास क्लस्टरका सहसंयोजक एवं युनिसेफ नेपालका वास विशेषज्ञ अरिनिता मास्केले विपदको समयमा राहत प्रदान गर्न विभिन्न सरोकारवालाहरूले संकलन गरेका तथ्याङ्क फरक पर्दा राहत प्रदान गर्न समस्या हुनु,सबैभन्दा बढी आवश्यकता भएका व्यक्तिलाई राहत प्रदान गरेपनि अन्यहरूमा पनि आशा र अपेक्षा बढाएको र केही समुदायहरूमा सामाजिक र राजनीतिक जटिलताले गर्दा राहत वितरणमा ढिलाइ हुने गरेको लगायत चुनौतीहरु रहेको बताउनुभयो ।
बैठकमा खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग र अन्तर्गतका निकाय तथा खानेपानी र सरसफाइ क्षेत्रमा कार्यरत विकास साझेदार तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति थियो।


582 पटक हेरिएको 

