
उदयपुर : उदयपुर सदरमुकामको त्रियुगा ११ गाईघाट तथा सरकारी कार्यालयहरु रहेको १० नं वडा बोक्सेसँग जोडिएको ९ नं. वडाका गहिरुन, झिल्केटोल र रातमाटेबासीका नागरिक बर्षौँ देखि खानेपानी अभावमा तड्पिरहेका छन् । खानेपानी कहर भोग्दै आएका यहाँका १ हजार बढी घरधुरीको समस्यालाई मध्यनजर गर्दै ५ वर्षअघि लिफ्टिङ खानेपानी योजना सञ्चालन थालिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन ।
स्थानीयबासी खानेपानीको चरम अभावमा परेपछि सो ठाउँलाई गतवर्ष ‘सुख्खाग्रस्त क्षेत्र’ घोषणा गरी खानेपानी योजना निर्माण कार्यलाई तिब्रता दिन थालिएको थियो । तर, अहिलेसम्म ५० प्रतिशत मात्र योजना सम्पन्न भएको छ । योजना आधा सम्पन्न भए पनि झिल्केटोलका ५० घरपरिवारले भने खानेपानी सुविधा पाएका छन् । केही दिन अघि मात्र खानेपानी डिभिजन फिल्ड कार्यालय गाईघाटले झिल्केटालबासीलाई खानेपानी वितरण गरिदिएको छ ।
सरुवा भएर प्रदेश कार्यालय गईसकेका फिल्ड कार्यालय गाईघाटका तत्कालीन प्रमुख ईन्जिनियर सत्यनारायण साहले उपभोक्तालाई कार्यक्रम मार्फत खानेपानी वितरण गर्नुभयो। उहाँका अनुसार सदरमुकाम भए पनि रातमाटे, गहिरुन र झिल्केटोलबासी जनता सुद्ध खानेपानीबाट वञ्चित रहदै आएका छन् । गाईघाट र बोक्सेलाई लक्षित गरि सञ्चालित ‘त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाटै ९ नं. वडालाई पनि खानेपानी उपलब्ध गराउने योजना थियो ।
तर, सो योजनाबाट बोक्से र गाईघाटमा दिनदिनै बढ्दो आवादीले पानी पु¥याउन नसकेपछि ९ नं. लाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर लिफ्टिङ प्रविधिको अर्को योजना निर्माण थालिएको हो । तर, ८ वर्षअघि डिपिआर बनाएर काम थालेको ५ वर्ष बितिसक्दा सम्म बजेट अभावले अहिलेसम्म आयोजनाले पूर्णता पाउन नसक्दा सदरमुकामसँगै जोडिएका बस्ती खानेपानी अभाव भोग्न बाध्य भएका हुन् ।
योजना निर्माण कार्य ढिलाई भएको तथा पछिल्लो दुईवर्ष यता भूमिगत ट्युबवेलको पानीसमेत सुख्न थालेपछि लिफ्टिङ खानेपानी आयोजना निर्माणलाई तिब्रता दिनुपर्ने माग बढ्न थाल्यो । सोही क्रममा बस्तीलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी निर्माणाधीन लिफ्टिङ सामुदायिक खानेपानी तथा सरसफाई आयोजना मार्फत केही हदसम्म खानेपानी वितरण थालेको इन्जिनियर साहले बताउनुभयो।
५ वर्षअघि सुरु भएको आयोजनालाई आवश्यक बजेट अभाव हुँदा काम धीमा गतिमा भईरहेको छ । अहिलेसम्म ५० प्रतिशत काम भए पनि काम चलाऊ खानेपानी वितरण थालिएको साहले बताउनुभयो । लिफ्टिङ खानेपानी आयोजना ८ करोड लागतमा ५ वर्षभित्र सम्पन्न गर्ने गरी अमानतमा निर्माण भईरहेको ‘लिफ्टिङ सामुदायिक खानेपानी तथा सरसफाई समिति’का सचीव बद्री गेलालले बताउनुभयो। हालसम्म ५० प्रतिशत काम भएर ५० घरधुरीलाई पानी वितरण गरिएको उहाँले बताउनुभयो।
बजेट अभावमा राम्रोसँग काम गर्न नसके पनि साह्रै खाँचो पर्ने बस्तीलाई पानी वितरण गर्न थालेको गेलालले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ३ करोड ५० लाख बराबरको काम सम्पन्न भईसकेको छ तर, भुक्तानी भने १ करोड ४३ लाख मात्र भएको गेलालले बताउनुभयो।
तत्कालीन फिल्ड प्रमुख साहको सरुवा भएपछि योजना निर्माणमा थप सुस्तता आयो । तर, सुख्खाग्रस्त क्षेत्र घोषित बस्तीबासीलाई खानेपानी उपलब्ध गराउनुपर्ने चर्को दबाबपछि प्रदेश कार्यालय सरुवा भएका इन्जिनियर साह काजमा फर्केर एकसाताको अथक प्रयासपछि बस्तीमा खानेपानी वितरण गर्न सफल भएका छन् । खानेपानी डिभिजन कार्यालय खोटाङमा रहेको तथा फिल्ड प्रमुख साह सरुवा भएपछि जनशक्ति र बजेट अभावमा योजना निर्माण कार्य प्रभावित भएको उपभोक्ता देवबहादुर दनुवारले बताउनुभयो।
योजना निर्माण सम्पन्न ढिलाई भएपछि गहिरुन र झिल्केटोलबासीलाई पानीको अभाव टार्न त्रियुगा नगरपालिकाले विगत ७ महिनायता दैनिक २ पटक ट्याङ्कर मार्फत प्लास्टिक ड्रम राखेर स्थानीयलाई खानेपानी व्यबस्था गर्दै आएको छ । खानेपानी अभाव हुन नदिन योजना निर्माण छिटो गर्नका लागि सुख्खाग्रस्त क्षेत्र घोषणा गरे पनि बजेट र जनशक्ति अभावमा निर्माण कार्य पुरा नभएसम्म ट्याङ्करबाट पानी ओसारेर खुवाउदै आएको त्रियुगा नगरप्रमुख बसन्त बस्नेतले बताउनुभयो। ७ महिनाअघि सुख्खाग्रस्त क्षेत्रमा पानी अभाव नहोस् भनेर ट्याङ्करबाट ओसारेर उपभोक्तालाई खानेपानी उपलब्ध गराउँदै आएको मेयर बस्नेतको भनाई छ ।
तत्कालीन फिल्ड प्रमुख साहले योजना निर्माणकै क्रममा आफ्नो सरुवा प्रदेश कार्यालयमा भएको तथा बजेट र जनशक्ति दुवै अभावमा काम ढिला भएको बताउनुभयो । सुख्खायाम सुरु भएपछि पानीको थप हाहाकार हुने समस्या टार्न आफै काजमा फर्केर सातादिनको प्रयासपछि पानी वितरण गर्न सफल भएको इन्जिनियर साहले बताउनुभयो।
२०७३ देखि डिपिआर बनाएर सुरु लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएपछि झिल्केटोल, गहिरुन, रातमाटेलगायत बस्तीका १ हजार १ सयभन्दा बढी घरधुरी उपभोक्ता लाभान्वित हुनेछन् । यो खबर नागरिक दैनिकले प्रकाशन गरेको छ। त्रियुगा नदी किनारमा बोरिङ मार्फत मुहान थापिएको योजनाको ट्याङ्की क्षमता ४ करोड ५० लाख लिटर रहेको छ । योजना सम्पन्न भएपछि ९ नं. वडाबासीलाई प्रसस्त सुद्ध खानेपानी उपलब्ध गराउन सकिने इन्जिनियर साहले बताउनुभयो।


275 पटक हेरिएको 

