जुम्ला : जुम्लाको हिमा गाउँपालिकामा आयोजित संयुक्त वृहत वास सम्मेलनले खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी ११ बुँदे सिँजा उपत्यका घोषणा पत्र जारी गरेको छ । खानेपानीमन्त्री प्रदीप यादव, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभाग र हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाका प्रमुखहरुको उपस्थितिमा आयोजित वास सम्मेलनले सिँजा उपत्यकाका घोषणा पत्र जारी गरेको हो ।
खानेपानी सरसफाइ तथा स्वच्छताको सवाल मानव स्वास्थ्यका लागि महत्वपूर्ण बिषय हो भन्ने कुरालाई हृदयङ्गम गरी सन २०३० को अन्त्यसम्ममा सबैलाई खानेपानी, सरसफाइ र स्वच्छताको सुविधा पु¥याउने राष्ट्रिय लक्ष्यलाई आत्मसात गर्दै सम्मेलन आयोजना गरिएको हो ।
घोषणापत्रको ११ वटा बुँदामा के छन् ?
1, आ -आफ्नो पालिकामा निर्माण भएका सबै खानेपानी योजनालाई सेवा सहायता केन्द्रको अवाधरणालाई ध्यानमा राख्दै मर्मत सम्भार कोषको ब्यबस्था गरी योजना सुचारुपना गर्न आवश्यक व्यवस्था मिलाउनेछौं।
२. सबैका लागि र सधैका लागि प्रयोग हुने गरी जलवायु उत्थानशील सुरक्षित खानेपानी योजना मार्फत एक घर एक धारा, एक घर एक सुधारिएको शौचालय निर्माण कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनेछौं।
३. हरेक घरमा साबुन पानीले हात धुने स्थानको निर्माण गरी साबुन पानीले हात धुने कार्यलाइ अभियानकै रुपमा अगाडि बढाउनेछौं ।
४. पूर्ण सरसफाइ उन्मुख पालिका निर्माणका लागि पालिका वास समन्वय समिति, वडा वास समन्वय समिति, पूर्ण सरसफाइ कार्यदल आमा समूह लगायत विभिन्न सरोकारवाला निकायहरु बीचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाइ परिचालन गर्नेछौ ।
५. सार्वजनिक स्थल तथा संस्थाहरु जस्तै स्कुल, स्वास्थ्य संस्था, मठ मन्दिर आदिमा आवश्यकतानुसार अपाङ्गतामैत्री, महिनावारी व्यवस्थापन सहितको लैङ्गिकमैत्री सुरक्षित खानेपानी तथा सरसफाइ सुविधाको निर्माण गर्नेछौं ।
६. छाउपडी जस्ता हानिकारक कुप्रथाको अन्त्य गर्न धार्मिक तथा सामाजिक अगुवा, बाल क्लब, किशोरी समूह लगायतका सरोकारवाला पक्षहरुको सक्रिय सहभागिता सहित निरन्तर अभियान सञ्चालन गर्ने छौं। साथै महिनावारी स्वच्छता व्यवस्थापनका कार्यक्रमहरूलाई प्राथमिकताका साथ सञ्चालन गर्ने छौं।
७. पानीको बहुपयोग प्रणालीलाई प्राथमिकतामा राखी योजनाहरु निर्माण गर्ने, करेसाबारी ब्यबस्थापन तथा तरल फोहोरको व्यवस्थापन गरी पानीको उत्पादनमुलक प्रयोग, ठोस फोहोरको ब्यबस्थापन र सार्वजनिक स्थलहरुमा वृक्षारोपण जस्ता क्रियाकलापहरु संचालन गरी समग्र गाउँपालिकाको सुन्दरतालाइ कायम राख्नेछौं।
८. खानेपानी, सरसफाइ, स्वच्छता र मर्यादित महिनावारी व्यवस्थापनका लागि अभियानात्मक क्रियाकलाप संचालन गर्न पालिकाको विकास बजेटको कम्तीमा दश प्रतिशत बजेट बार्षिक रुपमा यस क्षेत्रमा विनियोजन गर्नेछौं।
९. दिगो सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापनको लागि आ–आफ्नो गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता ऐनको भावनालाई आत्मसाथ गर्दै गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता इकाईलाई स्थायी शाखाको रुपमा स्थापना गर्नेछौं। ।
१०. नमूना घर, नमूना समुदाय, नमूना विद्यालय, र नमुना वडाको अवधारणा अबलम्बन गर्दै स्थानीय सरकारलाई पूर्ण सरसफाइ उन्मुख तथा मर्यादित महिनावारी व्यवस्थापनयुक्त क्षेत्र बनाउन सूचकहरु तयार गरी लागु गर्नेछौ ।
११ आफ्नो घर वरपर, सार्वजनिक स्थल लगायतका स्थानहरुमा सफा सुग्घर गर्ने आफ्नो परम कर्तब्य ठानी तीन वटै स्थानीय सरकार मातहतका हरेक नागरिकले दैनिक सरसफाइका क्रियाकालापहरु गर्नेछौ।
‘खानेपानी तथा सरसफाइका सुविधाहरुको व्यवस्था र स्वच्छताको उचित अभ्यासले स्वास्थ्य, विकास र प्रतिष्ठामा पार्ने सकारात्मक प्रभावलाइ अन्तरमन देखि मनन् गर्दै यस क्षेत्रको सुधार र विकासका लागि आजकै दिन देखि अठोटका साथ हाम्रा आ आफ्ना गाउँपालिका पुर्ण सरसफाइ उन्मुख बनाउने घोषणपत्रको पृष्ठभूमिमा उल्लेख छ ।
घोषणा पत्रमा जुम्लाको सिंजा उपत्यका भित्रका तीन वटा स्थानीय सरकारहरु हिमा, सिजा र कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, शाखा प्रमुखहरु र सरोकारवाला लगायतले अक्षरस पालना गर्न प्रतिबद्ध भै हस्ताक्षर गरेका छन् ।