समाज कल्याण परिषदद्वारा चाँगुनारायणमा जीर्णोद्वार भैरहेको प्राचीन ढुङ्गे धाराहरुको अनुगमन

  वास खबर सम्बाददाता  299 पटक हेरिएको

भक्तपुर : समाज कल्याण परिषदले भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्र भित्र भईरहेको प्राचीन ढुङ्गेधाराहरुको जीर्णोद्धार तथा पुनः निर्माण एवं खानेपानीको मूलहरुको संरक्षण गर्ने कार्यको अनुगमन तथा मुल्याङ्कन गरिएको छ ।

समाज परिषदका असिस्टेन्ट डाईरेक्टर पेम्बा तामाङ्ग र अनुगमन टोलीका ईन्जिनियर नेत्र लाल सापकोटाले नगरपालिका क्षेत्र भित्र सञ्चालित “नगरपालिकाको आम चासोमा केन्द्रित शहरी क्षेत्रमा एकीकृत पानी व्यवस्थापन” परियोजना अन्तर्गतका गतिविधिहरुको अनुगमन तथा मूल्याङ्कन गर्नु भएको हो ।

२०८० फागुन १७ गते देखि चाँगुनारायण नगरपालिकासंगको समन्वयमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले Bremen Overseas Research and Development Association (BORDA) SOUTH ASIA को आर्थिक सहयोगमा “नगरपालिकाको आम चासोमा केन्द्रित शहरी क्षेत्रमा एकीकृत पानी व्यवस्थापन” परियोजना सञ्चालन गरिरहेको छ ।

अनुगमनको क्रममा चाँगुनारायण नगरपालिकाको नगर प्रमुख जीवन खत्रीसँग भेट गरी परियोजनाको बारेमा र परियोजनाले नगरपालिकामा क्षेत्र भित्र प्राप्त उपलब्धी, चुनौती र भावी कार्य दिशाको बारेमा छलफल गरिएको नगरपालिकाको वास शाखाका संयोजक सुरेन्द्र लामिछानेले जानकारी दिनुभयो।


नगर प्रमुख जीवन खत्रीले यस परियोजनाबाट नगर क्षेत्रभित्र रहेको खानेपानीको संरचनाहरु परम्परागत ढुङ्गेधारा, ईनार, कुवा, खानेपानीको स्रोतहरुले पूर्नजीवन प्राप्त गर्ने धारणा व्यक्त गर्नुभयो । ‘हामीले हाम्रो सम्पदाहरुलाई जीवन्त राखी नयाँ पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो’ नगर प्रमुख खत्रीले भन्नुभयो।

साथै सहयोगी संस्था एन्फो मार्फत संचालित परियोजनाहरुबाट प्राप्त उपलब्धी र कार्यको उचित मूल्याङ्कन समेत गरी प्रशंसा गर्नुभयो । चाँगुनारायण नगरपालिका वडा नं. २ को डुडोल ढुङ्गेधाराको बिगतको अवस्था र निर्माण पश्चातको अवस्थाको बारेमा वडा नं. २ का वडा अध्यक्ष सोम प्रसाद प्रधान लगायत जनप्रतिनिधीहरु र समुदायसँग जानकारी लिई उक्त क्षेत्रको अनुगमन र मूल्याङ्कनको कार्य समेत भएको थियो ।

अनुगमन टोलीबाट वडा नं. ८ मा रहेको पात्ले वन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ईन्टेकको स्तरोन्नति गरिएको ठाउँ र समितिको कार्यालयको समेत अनुगमन गरी उपभोक्ता समितिका अध्यक्ष अवकाश प्राप्त उपरथी भरत बहादुर खड्कासँग पनि खानेपानी समितिले प्रवाह गरेको सेवा र खानेपानी आयोजना र गुणस्तर सुधारको लागि भई रहेको कार्यहरुको बारेमा समेत जानकारी हासिल गर्नु भएको थियो।


यस परियोजना अन्र्तगत वडा नं. ७ को सुन कुवाँ र वडा नं. ९ को नासाखु ढुङ्गेधारा पूर्ननिर्माण कार्य कार्यान्वयन चरणमा रहेको छ भने वडा नं. ३ को कार्की टोल ढुङ्गे धारा, वडा नं. ५ को पिखेल ढुङ्गेधारा र वडा नं. ६ को महादेव पोखरीको कुवाको डिपिआर रिपोर्ट तयार भई सकेको छ ।

एन्फोका सिनियर प्रोग्राम म्यानेजर प्रसन्न प्रधान, ई. सन्तोष दाहाल, चाँगुनारायण नगरपालिकाका वास संयोजक सुरेन्द्र लामिछाने, वास सहजकर्ता मेनुका थापा, राममाया राना मगर लगायत एन्फोका कर्मचारीहरुको समेत उपस्थिति थियो । परियोजना कार्यान्वयनका लागि नगरपालिकाको तर्फबाट खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) शाखाले आवश्यक समन्वय र सहजिकरणको लागि काम गरिरहेको नगरपालिकाको वास संयोजक लामिछानेले जानकारी दिनुभयो ।

सन् २०२६ सम्म चाँगुनारायण नगरपालिकामा संचालनमा रहने परियोजनाले नगरपालिका क्षेत्र भित्र रहेको परम्परागत ढुङ्गेधारा, ईनार, कुँवा, खानेपानीको स्रोतहरु, सार्वजनिक शौचालयहरु लगायतको संरचनाहरुको संरक्षण गर्न र पूर्ननिर्माण गर्न डिपिआर, योजना, डिजाइन तथा परामर्श सेवा प्रदान गरी प्राविधिक सहयोग प्रदान गर्ने परियोजनाको लक्ष्य छ ।


साथै अन्य पालिकाहरुमा परिक्षण सफल भएको योजना र नयाँ प्रबिधिलाई चाँगुनारायण नगरपालिकामा पनि अनुशरण गरिने लक्ष्य परियोजनाले लिईएको छ । खानेपानी, सरसफाइ र स्वच्छता योजना निर्माण, जलवायु र लैङ्गिक स्मार्ट शहर बनाउन मूल्याङ्कन ढाँचा विकास गरी लागु गर्ने, नगरपालिका क्षेत्र भित्र हासिल गरेका अनुभव र उपलब्धीमूलक दस्तावेजहरुलाई अन्य पालिका तथा शहरहरुको लागि सामग्रीको रुपमा सहयोग गर्ने लगायतको कार्यहरु परियोजना अन्तर्गत गरिनेछ ।

दिगो बिकास लक्ष्य ६ अन्तर्गत “सुरक्षित खानेपानी र दिगो सरसफाइ” ले लिईएको लक्ष्य हासिल गर्नको लागि परियोजनाले महत्वपूर्ण सहयोग प्रदान गर्नेछ । यस नगरपालिकामा सुरक्षित पानी र उत्थानशील नगरपालिका (Building a Water Safe Resilient Municipality) बनाउने कार्यमा समेत यस परियोजनाले सहयोगी भूमिका निर्वाह गरिरहेको नगरपालिकाको वास शाखाका संयोजक सुरेन्द्र लामिछानेले जानकारी दिनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार