भविश्यको सम्पत्ति बन्दैछ ‘मानव मलमूत्र’

  वास खबर सम्बाददाता  563 पटक हेरिएको


काठमाडौं : मानिसको विकार तत्व पनि कसरी भविश्यको लागि अनमोल सम्पत्ति बन्न सक्छ? यस प्रश्नको जवाफ पाउन मानव मलमूत्र व्यवस्थापनको अवधारणा र त्यसको सम्भावनाबारे बुझ्न जरुरी छ । मानव मलमूत्र वा दिसाजन्य लेदो, जुन प्रायः फोहोरको रूपमा मात्र लिइन्छ, वास्तवमा त्यसका पछाडि ठूलो सम्भावना पनि लुकेको छ । यसको प्रशोधन र पुनः प्रयोगले यो मोहोर पनि बनिदिन सक्छ।

हामीले फोहोरलाई नष्ट गर्ने प्रक्रिया मात्र देखेका छौं । यदि यसलाई सही तरिकाले प्रशोधन गर्ने हो भने यसमा ठूलो सम्भावना लुकेको छ । मानव मलमूत्रजन्य फोहोरलाई सम्पत्ति बनाउनका लागि सही प्रविधि र सोच आवश्यक छ।

उदाहरणका लागि मानव मलमूत्र जन्य फोहोरलाई कम्पोष्ट मल बनाउन सकिन्छ, जसले माटोको उर्वरा क्षमता वृद्धि गर्छ र कृषि उत्पादनमा मद्दत पुर्‍याउँछ। मानव मलमूत्रजन्य फोहोरको पुनः प्रयोगले वातावरणीय प्रभावलाई घटाउँछ र कृषि क्षेत्रमा सस्तो र दिगो मलको आपूर्ति गर्छ ।

जुन फोहोरलाई पुनः प्रयोग गरिन्छ , यो वातावरणको लागि मात्र लाभदायक कुरा होइन, समाजको लागि अवसर पनि हो । उदाहरणको लागि स्याङ्जाको वालिङ नगरपालिकाको दिसाजन्य लेदो प्रशोधन केन्द्रलाई लिन सकिन्छ । वालिङमा मानव मलमूत्रलाई प्रशोधन गरी कम्पोष्ट मल बनाउने कामले केवल नगरपालिकाको सरसफाइ सुधार्ने काम मात्र भएको छैन । यसले स्थानीय कृषि उत्पादनलाई पनि प्रोत्साहित गरेको छ ।


मानव मलमूत्रलाई सबैले गन्हाउँने फोहोरका रूपमा हेरिरहेका हुन्छन् । वास्तवमा यसको सही उपयोगले दिगोपनामा महत्वपूर्ण योगदान पुर्‍याउँछ । यसले माटोको संरचना सुधार्न, जैविक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्न र खाद्य सुरक्षा सुनिश्चित गर्न पनि मद्दत पुर्‍याउँछ । नेपालका विभिन्न स्थानहरूमा मानव मलमूत्रलाई उपयुक्त प्रविधिबाट प्रशोधन गर्ने र पुनः प्रयोग गरेर स्थानीय स्रोतहरूबाट नाफा आर्जन गर्ने प्रयासहरू भैरहेका छन् ।

यसर्थ मानव मलमूत्रलाई केवल फोहोर, बिकार र विसर्जन गरिने हानिकारक र अव्यवस्थित तत्वको रूपमा मात्र नहेरी यसको दिगो उपयोगको सम्भावनामा दृष्टि लगाउन आवश्यक छ । यस प्रकारका व्यवस्थापनका उदाहरणहरू भनेको समाजमा सकारात्मक प्रभाव पुर्‍याउने स्रोतहुन् । जसले वातावरणलाई मात्र बचाउँदैन, आर्थिक र सामाजिक पक्षमा पनि लाभ पुर्‍याउँछ ।

यदि हामीले यसलाई सही दृष्टिकोणबाट हेर्‍यौ भने, फोहोरलाई मोहोरमा बदल्ने प्रक्रिया मात्र नभई भविश्यलाई हरित र दिगो बनाउने महत्वपूर्ण कदम हुनेछ । यसका लागि हामीलाई केवल सोच र योजनामा परिवर्तन ल्याउनुछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार