
काठमाडौं : गोकर्णेश्वर नगरपालिका –३ स्थित तारेभीर आधारभूत विद्यालयमा नव निर्मित विद्यालय भवनको एक विशेष समारोहका बीच उद्घाटन तथा हस्तान्तरण गरिएको छ। कार्नेभाली फाउण्डेसन, छायाँ अष्ट्रिया र गोकर्णेश्वर नगरपालिकाको संयुक्त आर्थिक सहयोग तथा छायाँ नेपालको कार्यान्वयनमा निर्माण सम्पन्न भएको विद्यालय भवनको नगर प्रमुख दीपक कुमार रिसाल र छायाँ अष्ट्रियाकी प्रमुख सबिने क्लोत्जले संयुक्त रूपमा उद्घाटन गर्नु भएको हो।

कार्यक्रममा बोल्दै नगर प्रमुख रिसालले शैक्षिक पूर्वाधारमा गरिएको लगानीले समावेशी र गुणस्तरीय शिक्षाको मार्ग खुल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “शैक्षिक विकासमा यस्तो साझेदारीबाट हासिल भएको उपलब्धिले समुदायमा आशा र आत्मविश्वास बढाएको छ। नगरपालिका शिक्षाको गुणस्तर सुधार्न प्रतिबद्ध छ।”
छायाँ अष्ट्रियाकी प्रमुख सबिने क्लोत्जले छायाँ अष्ट्रियाले नेपालका विभिन्न दुर्गम जिल्लामा विद्यालय भवन तथा खानेपानी, सरसफाइ र स्वच्छता पूर्वाधारहरु छायाँ नेपाल मार्फत निर्माण गरिरहेको बताउनुभयो। उहाँले यस्तो सकारात्मक परियोजनामा सहभागी हुन पाउँदा आफू उत्साहित भएको बताउँदै भन्नुभयो “शिक्षा प्रत्येक बालबालिकाको आधार हो। यस्तो विद्यालयले सीपयुक्त र सक्षम नागरिक उत्पादन गर्न सहयोग पुर्याउनेमा म विश्वस्त छु। हामी आगामी दिनमा पनि यस्ता परियोजनामा सहकार्य गर्दै जानेछौँ।”

नयाँ विद्यालय भवनमा अपांगता मैत्री शौचालय, छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय, हात धुने स्थान, शिशु कक्षामा खेल्दै सिक्दैका लागि विभिन्न खेलौना, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याबजस्ता सुविधाहरू समावेश गरिएका छन्, जसले सिकाइको वातावरण अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति दिए । जसमा नेपाली लोकभाका र राष्ट्रिय गीतमा आधारित नृत्य विशेष प्रस्तुत गरिएको थियो । स्थानीय अभिभावक, शिक्षक, शिक्षिका, विद्यार्थी र अन्य समुदायका सदस्यहरूको उपस्थितिले कार्यक्रमलाई भव्य बनाएको थियो।

छायाँ नेपालका टिम लिडर राम महर्जनले परियोजनाको सफल कार्यान्वयनमा समुदायको साथ र समर्पणलाई धन्यवाद दिंदै भविश्यमा समेत यस्ता सहभागितामूलक परियोजना सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विद्यार्थीहरुले आफूहरु पढ्ने विद्यालय भवन निर्माण गरिदिएकोमा धन्यबाद व्यक्त गर्दै विद्यालयमा आएका पाहुनाहरुलाई पुष्प गुच्छा र नृत्यले स्वागत गरेका थिए ।

कार्यक्रमका थप फोटाहरु :

















421 पटक हेरिएको 

