
सर्लाही : सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१२ स्थित फूलजोर खोलामा करिब ८० घरधुरीमा सुरक्षित खानेपानी सुविधा पुर्याउने उद्देश्य सहित इन्टेक संरचना निर्माण गरिएको छ। चुरे क्षेत्रको फेदीमा अवस्थित फूलजोर गाउँमा ‘एक घर, एक धारा’ अभियान अन्तर्गत खानेपानी सेवा विस्तारको काम तीव्र रुपमा अगाडि बढाइएको हो।
फूलजोर–झोलुङ्गे पुल खानेपानी उपभोक्ता समितिका अध्यक्ष ज्ञानेन्द्रराज खत्री (राजु) का अनुसार खोलामा ३० हजार लिटर क्षमताको खानेपानी इन्टेक ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ। “इन्टेकमा सङ्कलित पानी तथा नजिकै रहेको वर्षैभरि बग्ने मुहानको पानी फिल्टर गरेर प्रत्येक घरमा वितरण गर्ने योजना छ,” अध्यक्ष खत्रीले जानकारी दिनुभयो।
उक्त आयोजना कार्यान्वयनका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ५२ लाख रुपैयाँ तथा वडा र नगरपालिकाबाट ५ लाख ५६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। इन्टेकमा सङ्कलित पानी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जडान गर्ने सौर्य ऊर्जा प्रणाली (सोलार प्लान्ट) प्रयोग गरेर घरघरमा पुर्याइनेछ।
हालसम्म फूलजोर गाउँका बासिन्दा नजिकैको बाँके खोलाबाट ल्याइएको खानेपानी प्रयोग गर्दै आएका थिए। तर, उक्त प्रणाली अनियमित रहेको र कहिले पानी आउने, कहिले नआउने समस्याले स्थानीय बासिन्दा हैरान रहेका थिए।
यसैबीच, बाँके खोलातर्फ पनि खानेपानी परियोजना सञ्चालनमा रहेको छ। मधेश प्रदेश सरकारको ७० लाख रुपैयाँको बजेटबाट ईश्वरपुर–१२ का करिब एक हजार घरधुरीमा खानेपानी पुर्याउने लक्ष्यसहित काम भइरहेको वडाध्यक्ष देविबहादुर खत्री (शिव) ले जानकारी दिनुभयो।
“फूलजोर र बाँके दुवै खोलामा खानेपानी आयोजना सञ्चालन भइरहेको छ। यी आयोजना सफल भए वडाभित्रको खानेपानी अभाव धेरै हदसम्म समाधान हुने विश्वास लिएको छु,” वडाध्यक्ष खत्रीले बताउनुभयो।
सर्लाहीको चुरे क्षेत्र र चुरे फेदीका अधिकांश गाउँहरूमा वर्षौंदेखि खानेपानीको गम्भीर समस्या रहँदै आएको छ। यस्ता योजनाले ग्रामीण क्षेत्रमा स्वच्छ र पहुँचयोग्य खानेपानी सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


312 पटक हेरिएको 

