स्थानीय तहमा खानेपानी व्यवस्थापन बोर्ड स्थापना गर्न उपाध्यक्ष डा.नेपालको जोड

  वास खबर सम्बाददाता  785 पटक हेरिएको
🔗
119
Shares

हेटौंडा, मकवानपुर : बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले अब हरेक स्थानीय तहमा खानेपानी व्यवस्थापन बोर्ड स्थापना गर्नु पर्नेमा जोड दिनु भएको छ । आइतबार हेटौंडामा आयोजित ‘खानेपानी, सरसफाई तथा स्वच्छता सुशासन सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी’लाई सम्बोधन गर्दै उपाध्यक्ष नेपालले उपभोक्ता समितिहरूको भूमिकालाई सशक्त बनाउँदै खानेपानी र सरसफाइ कार्य स्थानीय सरकार मार्फत संस्थागत गर्न आवश्यक भएको बताउनु भएको हो ।

“अब नीति तथा कार्यक्रममा समेट्दै खानेपानी व्यवस्थापन बोर्ड गठन गर्न स्थानीय तहले अग्रसरता लिनुपर्छ। उपभोक्ता समिति त छँदैछ, तर त्यसलाई थप मजबुत र उत्तरदायी बनाउन बोर्डको जरुरत छ” उहाँले भन्नुभयो।

मकवानपुरका अधिकांश पालिकामा बोर्ड गठन छैन

हाल मकवानपुर जिल्लाका १० स्थानीय तहहरूमध्ये हेटौंडा र थाहा नगरपालिकामा मात्र खानेपानी व्यवस्थापन बोर्ड गठन भइसकेको छ। बाँकी पालिकामा अझै पनि यस्तो बोर्ड गठन हुन बाँकी छ, जसले दीगो सेवा प्रवाहमा चुनौती खडा गरिरहेको छ।

उपाध्यक्ष नेपालले आफू विगतदेखि नै खानेपानी तथा सरसफाइ क्षेत्रमा संलग्न रहेको स्मरण गर्दै यस क्षेत्रमा दिगोपनाका आधारमा योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो। “सुरुमा पूर्ण दिशामुक्त अभियानबाट व्यवहारमा परिवर्तन ल्याउनु आवश्यक छ। त्यसपछि मात्रै सुरक्षित खानेपानी र स्वच्छताको सुनिश्चितता हुनसक्छ,” उहाँले भन्नुभयो।

महासंघको सरोकार : न्यायोचित वितरण र स्रोत परिचालन

कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश अध्यक्ष कर्णबहादुर थापा मगरले पनि खानेपानी र सरसफाइलाई अन्य विकास कार्यहरू सरह प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रदेशभित्रका ७४ वटै गाउँपालिकामा खानेपानी तथा सरसफाइ सम्बन्धी नीतिगत सहयोग, स्रोत परिचालन तथा पैरवीका लागि महासंघ सक्रिय रहेको जानकारी गराउनुभयो ।

अध्यक्ष थापामगरले जनप्रतिनिधिहरू माझ आवश्यक शिक्षा र नेतृत्व क्षमताको अभाव देखिएको उल्लेख गर्दै कर्मचारीसँग तालमेल मिलाउन समय सापेक्ष तालिम अपरिहार्य भएको बताउनुभयो। “संघीयताको बलियो आधार स्थानीय तह हुनुपर्छ,” उहाँले जोड दिनुभयो ।

विकट क्षेत्रका लागि विशेष उपाय

कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले भौगोलिक विकटता र चेपाङ–तामाङ समुदायको बाहुल्यता भएका क्षेत्रहरूमा व्यवहार परिवर्तन गराएर सुरक्षित खानेपानी र सरसफाइमा सुधार सम्भव हुने बताउनुभयो।

उहाँका अनुसार समुदायमा समूह निर्माण गर्दै दिगो योजना लागू गर्ने, ऐन निर्माण मार्फत प्रणालीगत सुधार ल्याउने र साझेदार संस्थाहरू आरआरएन र वाइन टु वाटरसँग सहकार्य गर्दै आईरहेकोछ।

दिगो विकास लक्ष्य २०३० हासिल गर्न वडा, पालिका र प्रदेश सरकार बीचको सहकार्य अपरिहार्य रहेको मुक्तानले बताउनुभयो। राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा सम्पन्न गोष्ठीमा यस्तो बहुपक्षीय सहकार्यको आवश्यकता बारम्बार दोहोरियो।

कार्यक्रममा महासंघका प्रदेश अध्यक्ष कर्णबहादुर थापामगर, कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, उपाध्यक्ष बालकुमार मल्ल, राक्सिराङ उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृतहरू अमुल श्रेष्ठ (कैलाश) र पदमबहादुर बस्नेत (राक्सिराङ), उपभोक्ता महासंघ प्रदेश अध्यक्ष बद्रीप्रसाद देवकोटा, हेटौंडा खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्ट, आरआरएनका कार्यक्रम व्यवस्थापक निराजन पोखरेल, डब्लु.एच.एच.का वास विज्ञ विजु डंगोल, तथा अन्य सरोकारवालाहरूको उपस्थिति थियो।

राक्सिराङ र कैलाश गाउँपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, तथा शाखा प्रमुखहरू समेत सहभागी उक्त कार्यशाला नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RNN) र Welthunger Hilfe (WHH) को संयुक्त आयोजनामा सम्पन्न भएको हो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार