शौचालयमा कला र प्रविधिको संगम : पाटनमा सवा करोडको पर्यटक लक्षित अत्याधुनिक शौचालय

  वास खबर सम्बाददाता  458 पटक हेरिएको
🔗
33
Shares

काठमाडौं : पाटन दरबार क्षेत्र घुम्न आउने पर्यटकलाई अब शौचालय खोज्दै अलमलिनु पर्ने दिन गए । ललितपुर महानगरपालिकाले पर्यटक लक्षित गरेर अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरी आइतबारदेखि सञ्चालनमा ल्याएको छ।

ललितपुर महानगरपालिकाले निर्माण गरेको यो शौचालय न त सामान्य छ, न त पुरानै शैलीको। आधुनिक सुविधा, पुरातात्विक झल्को र कलात्मक डिजाइनले सजिएको यो शौचालय पर्यटकका लागि मात्र होइन, सम्पूर्ण महानगरका लागि ‘शोकेस प्रोजेक्ट’ बनेको छ।

नगर प्रमुख चिरीबाबु महर्जन भन्नुहुन्छ “हाम्रो सहरको मौलिकता झल्कने गरी शौचालय बनाएका छौं, अब आन्तरिक र बाह्य पर्यटकलाई सहज हुन्छ।”

अघिल्लो शौचालय यहाँको भीड र आवश्यकतालाई थेग्न नसक्ने अवस्थामा थियो। नयाँ शौचालय भने साँच्चिकै चित्तबुझ्दो बनेको छ।

 के छ त शौचालयमा ? 

√ अपाङ्गतामैत्री शौचालय

√ पुरुषका लागि ६ युरिनल र ३ शौचालय

√ महिलाका लागि ६ शौचालय

√ अपाङ्गता भएकाहरूका लागि छुट्टै कक्ष

√ आमा र बच्चाका लागि स्तनपान कक्ष

√ साथै अत्याधुनिक स्यानिटेशन सामग्री

 

सम्पदासँग मेल खाने डिजाइन

महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठका अनुसार, यो शौचालय पुरातात्विक र ऐतिहासिक संवेदनशीलता ख्याल गरेर निर्माण गरिएको हो। काष्ठकला, चुनासुर्की, अप इँटा र झिंगटी टायल प्रयोग गरिएको छ, जसले सम्पदा क्षेत्रको सौन्दर्यमा थप चमक दिएको छ।

शौचालयको कुल लागत करिब १ करोड २६ लाख रुपैयाँ परेको महानगरले जनाएको छ।

महानगर प्रवक्ता राजु महर्जन भन्नुहुन्छ, “पूर्वाधार निर्माणमा शौचालय पनि अत्यावश्यक हो। अरू वडामा पनि यस्ता शौचालय निर्माण भइरहेका छन्।”

पूर्वाधार निर्माण महाशाखा प्रमुख प्रदीप पौडेलले पब्लिक स्यानिटेसनलाई सुधार गर्न यो महत्त्वपूर्ण परियोजना भएको बताउनुभयो । सम्पदा क्षेत्रको पुरातात्विक मौलिकतामा ध्यान दिई शौचालयको बाहिरी बनावट काष्ठ कला र चुनासुर्की सहितको मा अप इँटा प्रयोग भएको छ ।

पाटन दरबार क्षेत्र घुम्न आउने जो–कोहीका लागि अब यो शौचालय ‘स्मार्ट सुलभ’ बन्दै गएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार