
दमक, झापा : गौरादह नगरपालिका र गौरिगञ्ज गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) योजना निर्माणका लागि सामाजिक गणकहरूलाई लक्षित गरी तीन दिने तालिम दमकमा सम्पन्न भएको छ।
तालिममा सहभागी सामाजिक गणकहरूले पालिकाभित्रका घरधुरी, विद्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक शौचालयहरूको खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्थासम्बन्धी तथ्यांक संकलन गर्नेछन्। साथै, पालिकाभित्र निर्माणाधीन तथा प्रस्तावित खानेपानी योजनाहरूको विवरण समेत संकलन गरिनेछ। यस कार्यका लागि गणकहरूले NWASH-MIS एप्लिकेसन को प्रयोग गरी मोबाइलमार्फत तथ्यांक संकलन गर्नेछन्।
उक्त पहल कोशी प्रदेश सरकार अन्तर्गतको खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय, सम्बन्धित पालिकाहरू र खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणाली सुदृढीकरण परियोजना (WASH Systems Strengthening Project) को सहकार्यमा चालु आर्थिक वर्ष २०८१/८२ देखि सञ्चालन गरिएको हो।

यस परियोजनाको माध्यमबाट कोशी प्रदेशका झापा जिल्लाका ९ पालिका, बुद्धशान्ति, विर्तामोड, कमल, गौरादह, गौरिगञ्ज, झापा, कचनकवल, हल्दिबारी र बाह्रदशी, सुनसरीका २ पालिका भोक्राहा नरसिंह र कोशी, मोरङका २ पालिका, जहदा र मिक्लाजुङ तथा उदयपुरको रौतामाई गाउँपालिका गरी कुल १४ पालिकामा WASH योजना निर्माण गर्ने लक्ष्य राखिएको छ।
योजना निर्माण प्रक्रियालाई प्रभावकारी र समन्वित बनाउने उद्देश्यले प्रदेश सरकारको तर्फबाट ७ जना प्रादेशिक स्रोत व्यक्ति (Provincial Resource Persons) समेत नियुक्त गरिएको छ, जसले पालिकास्तरमा योजना निर्माणको प्रक्रिया सहज बनाउन प्रत्यक्ष सहजीकरण गर्नेछन्।
उक्त तालिमको सफल सम्पन्नतासँगै अब गणकहरूद्वारा संकलित तथ्यांकको आधारमा स्थानीय आवश्यकता, चुनौती र अवसर पहिचान गरी व्यवहारिक, दिगो र समावेशी खानेपानी तथा सरसफाइ योजना निर्माण गरिने अपेक्षा गरिएको छ।


596 पटक हेरिएको 

