
दैलेख : दुल्लु नगरपालिका वडा नं. ११ मा सञ्चालित खानेपानी योजनाहरूको अवस्था, उपलब्धि र चुनौतीहरूबारे विस्तृत छलफल गर्ने उद्देश्यले आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम दुल्लु नगरपालिका तथा हेल्भेटास नेपालको आर्थिक सहयोग र सोसेक नेपालको साझेदारीमा सम्पन्न गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख भरत रिजालले खानेपानी जनताको आधारभूत अधिकार र आवश्यकता भएको उल्लेख गर्दै, वर्षौंदेखि सञ्चालनमा रहेका योजनाहरूको प्रभावकारिता सुनिश्चित गर्दै दीगो रुपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “नयाँ योजना प्रारम्भ गर्नु महत्वपूर्ण विषय हो, तर पुराना योजनाको मर्मतसम्भार र सुदृढीकरण उत्तिकै आवश्यक छ। पानी पिउन पाउनु प्रत्येक नागरिकको अधिकार हो।”
सार्वजनिक सुनुवाइमा वडामा सञ्चालनमा रहेका जम्मा १० वटा खानेपानी योजनाहरू (८ पुराना र २ नयाँ) को प्रगति, अवस्था, समस्या र उपलब्धिबारे विवरण प्रस्तुत गरिएको थियो।
अलैचिवारि खानेपानी योजना अन्तर्गत ६० घरधुरीमध्ये हाल ४८ धाराहरू सञ्चालनमा रहेका छन्। सिमतोली लाफा योजनामा ३८ घरधुरीमध्ये २५ धारामात्र सञ्चालनमा रहेका छन्। त्यस्तै, मालति गंगा योजनामा ९२ घरधुरीमध्ये ७५ धारा सञ्चालनमा रहेको जानकारी दिइएको छ। उपभोक्ता समिति अध्यक्ष रेशम बहादुर भण्डारीले पानीको मुहानमा पानीको मात्रा घट्दै गएको गम्भीर चुनौती रहेको बताउनुभयो।
सैनिखोला योजना अन्तर्गत ४६ धारामध्ये हाल ४० धारा सञ्चालनमा छन् भने सचिव राम बहादुर बिष्टले नियमित मर्मत तथा अनुगमनको आवश्यकता औंल्याउनुभयो। त्यस्तै, पाल्त सुनारबस्ती खानेपानी तथा सरसफाइ योजनामा ३८ धारामध्ये ३५ धारा सञ्चालनमा रहेको जनाइएको छ। उपभोक्ता समिति अध्यक्ष नन्द बहादुर सुनारले समितिको बैठक प्रत्येक महिनाको १८ गते नियमित बस्ने र सरसफाइ कार्य निरन्तर गरिने जानकारी दिनुभयो।

नयाँ योजनाहरू अन्तर्गत सैनिखोला रावतटोल सिम खा.पा. योजनामा हाल ५१ धारा निर्माणाधीन अवस्थामा छन् भने पैयाखोला तोराय योजना ६७ धाराको सञ्चालनको अन्तिम चरणमा पुगेको जनाइएको छ।
कार्यक्रममा सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिंह थापाले उपभोक्ताहरू स्वयंसेवकका रूपमा मर्मत, सरसफाइ तथा व्यवस्थापन कार्यमा सक्रिय हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो। उहाँले भन्नुभयो, “उपभोक्ताको नै स्वामित्वमा रहेका योजनाहरूमा उनीहरूको श्रम र सहभागिता अनिवार्य छ।”
यसै सन्दर्भमा, वडा नं. ११ का अध्यक्ष सुरेन्द्र जंग भण्डारीले सामाजिक विकासका लागि एकताबद्ध सहभागिता अपरिहार्य रहेको बताउनुभयो। उहाँले जोड दिँदै भन्नुभयो, “आफ्नो खानेपानी व्यवस्थापन आफैँ गर्नुपर्छ, तब मात्र दीगो समाधान सम्भव हुन्छ।” वडा नं. १२ का अध्यक्ष लिलाराम लम्सालले खानेपानीलाई प्राथमिक अधिकारको रूपमा बुझ्नुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “पानी मैले खानुपर्ने हो, त्यसैले मेरो जिम्मेवारी पनि हो भन्ने चेतना उपभोक्तामा आवश्यक छ।”
दुल्लु नगरपालिकामा सञ्चालित खानेपानी योजनाहरूको सुचारुपनाको अनुगमन र मर्मतका लागि “हेलो धारा सेवा” सञ्चालनमा रहेको जानकारी दिइएको छ। दुल्लु खानेपानी व्यवस्थापन बोर्ड अन्तर्गत सञ्चालन भइरहेको यो सेवामा ९८५८०३०२६४ मा सम्पर्क गरी समस्या वा गुनासोहरू उजुरी गर्न सकिने व्यवस्था गरिएको छ। कार्यक्रम संयोजक बद्री लम्सालले समस्या समाधानमा तुरुन्त सक्रियता देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अन्त्यमा, कार्यक्रम अध्यक्ष एवं वडा खानेपानी व्यवस्थापन समिति अध्यक्ष भद्र बहादुर पन्तले सामुदायिक श्रमदान र सहभागिताको महत्त्वमा प्रकाश पार्दै भन्नुभयो, “खानेपानी व्यवस्थापन केवल सरकारको जिम्मेवारी होइन, उपभोक्ताहरूको पनि हो। सबै मिलेर आफ्नो खानेपानी आफैँ व्यवस्थापन गर्नुपर्छ।”


307 पटक हेरिएको 

