वास क्षेत्रको अन्तर्राष्ट्रिय विज्ञ टोली नेपालमा, लेले खानेपानी आयोजनाको अवलोकन, जनप्रतिनिधी र स्थानीयसँग अन्तरक्रिया

  वास खबर सम्बाददाता  491 पटक हेरिएको


ललितपुर : खानेपानी र सरसफाइ क्षेत्रको अन्तर्राष्ट्रिय विज्ञहरूको एक टोली हाल नेपाल भ्रमणमा छ । जसले गोदावरी नगरपालिकामा सञ्चालन भइरहेको गोदावरी प्रावल्य वास परियोजना अन्तर्गतका गतिविधिहरूको अवलोकन गरिरहेको छ।

स्वीडेनस्थित भ्याकिनका प्रमुख कार्यकारी अधिकृत रोबर्ट हन्सन (Robert Honssan) सहितको टोलीले आज गोदावरी नगरपालिकाको वडा नं. ५ स्थित लेले एकीकृत खानेपानी आयोजनाकोअवलोकन गर्दै स्थानीय सरोकारवालासँग प्रत्यक्ष अन्तरक्रिया गरेको छ।


स्वीडेन स्थित भ्याकिन, त्यहाँको तीन वटा नगरपालिकाहरूमा सुरक्षित खानेपानी आपूर्ति, फोहोर पानी प्रशोधन, तथा फोहोर व्यवस्थापन सेवा प्रदान गर्ने अग्रणी सार्वजनिक संस्था हो। सन् २०१६ मा स्थापित यस संस्थाले सफा पानी, स्वच्छ वातावरण, र सामाजिक दिगोपनलाई आफ्नो मुख्य लक्ष्य बनाएको छ।

भ्याकिनले १८ वटा जलशोधन केन्द्रहरू, २४ वटा फोहोरपानी प्रशोधन केन्द्रहरू, र करिब १३० वटा पम्पिङ स्टेसनहरू सञ्चालन गर्दछ । यस्तै फोहोर व्यवस्थापनका लागि ८ वटा पुनःप्रयोग केन्द्रहरू सञ्चालन गर्दछ, जसमा वार्षिक ३.५ लाखभन्दा बढी आगन्तुकहरू आउने गर्छन्। कम्पनीले शहरी योजना, वातावरणीय मुद्दाहरूमा अनुसन्धान, र परियोजना डिजाइनमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

भ्याकिनले ललितपुरको गोदावरी नगरपालिकासँग वाटर अपरेटर्स पार्टनरसिप (WOP) अन्तर्गत सहकार्य गर्दै आएको छ।

जनप्रतिनिधी र स्थानीयसँग अन्तरक्रिया, खानेपानी आयोजनाको अवलोकन

भ्याकिनका सिईओ रोबर्ट हन्सन नेतृत्वको टोलीले गोदावरी नगरपालिकाको वडा नं. ५ को कार्यालयमा वडा अध्यक्ष मिलन सिलवाल, लेले एकीकृत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष राजकुमार श्रेष्ठ लगायत अन्य पदाधिकारीहरुसँग समेत अन्तरक्रिया गर्‍यो ।


अन्तरक्रिया कार्यक्रममा वडाध्यक्ष सिलवालले लेले एकीकृत खानेपानी आयोजना निर्माणको सुरुवात देखि नै भ्याकिन टिमको प्राविधिक सहयोगले गर्दा खानेपानी आयोजना प्राविधिक हिसाबले गुणस्तरीय भएको बताउनुभयो । वडाध्यक्ष सिलवालले लेलेमा गोदावरी नगरपालिकाकै नमुना खानेपानी आयोजना निर्माण भैरहेको बताउँदै खानेपानीको गुणस्तर परिक्षण गर्न ल्याब समेत स्थापना गरिदिएकोमा धन्यबाद व्यक्त गर्नुभयो ।


एकातिर राम्रो काम भए पनि अर्को तिर सडक खनेर पाइप विछ्याउनु परेकाले यसलाई आवश्यक बजेट विनियोजन गरी सकेसम्म चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारकै निकायहरु बीच समन्वय अभाव रहेको र अनुगमनको कमी रहेको औल्याउँदै नगरपालिकाकाले यसतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

‘ बाँकी दुई बर्षको कार्यकालमा स्वीडेन जस्तै नभए पनि त्यस्तै त्यस्तै बनाउने प्रयास गर्नेछु’ उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

लेले एकीकृत खानेपानी तथा सरसफाइ आयोजनाको अवलोकन पछि पहिलो समूहले नदी बेसिन योजना, एकीकृत जल स्रोत व्यवस्थापन तथा स्रोत संरक्षण सम्बन्धी संघीय सरकारका पहलहरूबारे जल तथा ऊर्जा आयोगको सचिवालयको तर्फबाट प्रस्तुीकरण गरिउको थियो ।

उक्त छलफलमा नदी बेसिन योजना निर्माण प्रक्रिया, अवधारणा तथा जलस्रोतको संरक्षणका लागि संघीय तहमा गरिएका पहलहरूबारे जानकारी गराईएको थियो । सोही समूहले मुहान पुनर्जीवनका लागि आवश्यक ६ चरणबारे जानकारी गराईएको थियो । इसिमोडको तर्फबाट गरिएको प्रस्तुतीकरणमा सुक्दै गएका प्राकृतिक मुहानहरू पुनर्जीवन गर्न अपनाइने वैज्ञानिक तथा व्यवहारिक ६ चरणहरूको विवरण प्रस्तुत गरिएको थियो ।

यस्तै अर्को समूहले भ्याकिन प्राविधिक टोली, गोदावरी नगरपालिकाको प्राविधिक टोली, निर्माणपक्ष र डिजाइनर बीच पानी चुहावट नियन्त्रण, लेले खानेपानी आयोजना सञ्चालन कार्यविधि र लेले खानेपानी आयोजना अन्तर्गत बाँकी कार्यहरू सम्पन्न गर्नको लागि कार्ययोजना सम्बन्धी छलफल गरिएको थियो ।

गोदावरी प्रावल्य वास परियोजना अन्तर्गत शहरी सरसफाइ व्यवस्थापन नीति कार्यान्वयनमा सहयोग, नगरपालिका कर्मचारी, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु र समुदायमा जनचेतना अभिवृद्धि गर्ने र दूषित पानी तथा फोहोर व्यवस्थापनको अभावमा वातावरणमा पर्ने नकारात्मक असर कम गर्ने प्रयास गरिएको छ ।

यस्तै खानेपानी तथा सरसफाइ ऐन निर्माण र एनवास एप प्रयोग गरी नगरमा खानेपानी, सरसफाइ, स्वच्छताको डेटा संकलन तथा वास प्लान निर्माण गर्न सहयोग पुर्‍याएको गोदावरी प्रावल्य वास परियोजना प्रमुख आनन्द गौतमले बताउनुभयो ।

विज्ञ टोलीका सदस्यहरु : 

Robert Hansson, CEO VAKIN

Elin Backman

Communication officer

Daniel Fredlander, Project Manager

Anna Olund, Map Engineer

Petter Walan, Technical Investigation Engineer

Niclas Bergqvist, Water Production Technician

Jimmy Solander, Maintenance Technician

Sara Bostrom, Process Engineer

Malin, Environmental Engineer

 साझेदार संस्थाहरूको योगदान

• गोदावरी नगरपालिका : परियोजनाको नेतृत्व तथा कार्यान्वयन।
• VAKIN, स्वीडेन : प्राविधिक ज्ञान र व्यवस्थापन पद्धति हस्तान्तरणमा सहकार्य।
• Water Aid नेपाल : योजना निर्माण र सामुदायिक संलग्नता सुदृढीकरण।
• UN-Habitat: समन्वय संस्था (GWOPA कार्यक्रम अन्तर्गत)।
•  युरोपियन युनियन : प्रमुख वित्तीय सहयोगी।

भ्याकिन जस्ता अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्यले गोदावरी नगरपालिकाको सरसफाइ व्यवस्थापनमा नयाँ सोच र दिगो अभ्यासहरू स्थापित हुने अपेक्षा रहेको नगरपालिकाको भौतिक पूर्वाधार विभाग प्रमुख इन्जिनियर अर्जुन पौडेलले बताउनुभयो ।

दुई समूहमा विभाजन, छुट्टाछुट्टै छलफल

लेले एकीकृत खानेपानी तथा सरसफाइ आयोजना क्षेत्रको अवलोकन पछि भ्याकिन टोली, नगरपालिकाको प्राविधिक टोली र वाटर एड नेपालको विकन परियोजनाको टोली दुई प्राविधिक समूहमा विभाजन भै दुवै समूहले छुट्टाछुट्टै बिषयमा छलफल गरेको थियो ।

पहिलो समूहले वाटर एड नेपालद्वारा लहानमा सञ्चालित विकन परियोजना र परियोजना मार्फत Quantum Geographic Information System (क्यूजीआईएस) को अनुभव सम्बन्धी विस्तृत प्रस्तुतीकरण गरिएको थियो । चुहावट नियन्त्रणका लागि क्यूजीआईएसको प्रयोगबारे पिटरले संक्षिप्त प्रस्तुति गर्नुभएको थियो भने लेले खानेपानी आयोजना सम्बन्धी मानक कार्यविधि र लेले खानेपानी योजना अन्तर्गत बाँकी रहेका गतिविधिहरू सम्पन्न गर्नका लागि विस्तृत कार्ययोजना निर्माण गरिएको थियो।


यस्तै दोस्रो प्राविधिक समूहमा जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव कलानिधी पौड्यालले नदी बेसिन योजना, एकीकृत जल स्रोत व्यवस्थापन तथा स्रोत संरक्षण तयारीका लागि संघीय सरकार स्तरमा गरिएको पहल सम्बन्धी विस्तृत प्रस्तुतीकरण गरिएको थियो भने ईसिमोडका प्रतिनिधिद्वारा खानेपानीका मुहानहरू पुनर्जीवित गर्न अपनाइने छ वटा चरणहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो।

नेपालमा एकीकृत जल स्रोत व्यवस्थापन कार्यान्वयनसँग सम्बन्धित तीनै तहका सरकारहरू बीचको समन्वय संयन्त्रबारे बुझाउने, नेपालमा जल स्रोत संरक्षणका लागि संघीय सरकारले चालिएका पहलहरूबारे जानकारी गराउने र एकीकृत जल स्रोत व्यवस्थापनको प्रभावकारी कार्यान्वयनका लागि गोदावरी नगरपालिका र अन्य सरोकारवालाहरू बीच भविश्यमा हुन सक्ने सहकार्यको सम्भावना पहिल्याउने उद्देश्यले छलफल आयोजना गरिएको थियो ।


थप फोटाहरु : 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार