
सल्यान : सल्यानको वनगाड कुपिण्डे नगरपालिका ३ महिला सहित १६ जनालाई ग्रामीण मर्मत सम्भार कार्यकर्ता तालिम दिईएको छ। नगरपालिकाका विभिन्न वडाहरुमा सञ्चालित १४ वटा खानेपानी आयोजनाका १६ जना मर्मत सम्भार कार्यकर्तालाई तालिम दिईएको हो ।
सैद्धान्तिक तथा प्रयोगात्मक गरी १२ दिनसम्म सञ्चालन भएको तालिमको समापन वनगाड कुपिण्डे नगरपालिका वडा नं. १ मा रहेको अम्रा खानेपानी आयोजना स्थलमा गरिएको हो । तालिमकै क्रममा उक्त स्थानमा ५ घनमिटरको आर.भि.टी समेत निर्माण गरिएको छ ।
तालिममा मुख्य प्रशिक्षकको रुपमा कृष्ण प्रसाद न्यौपाने हुनुहुन्थ्यो भने बनगाड कुपिण्डे नगरपालिका वास इकाईका प्राविधिक सहजकर्ता प्रदीप चन्दका साथै वास सहजकर्ताहरु दिर्खराज जोशी र सुरेन्द्र वि.क.ले पनि तालिम सहजीकरण गर्नुभएको हो।
तालिमको समापन वनगाड कुपिण्डे नगरपालिकाका उप प्रमुख पुरुषोत्तम आचार्यले गर्नुभयो। तालिम समापन गर्दै आचार्यले भन्नुभयो “ग्रामीण मर्मत सम्भार तालिमले खानेपानी आयोजनाहरु दिगो रुपमा संचालन गर्न ठूलो सहयोग गर्नेछ ।”
उहाँले तालिममा सिकेको सीपले एकातिर खानेपानी आयोजनाहरुको सुचारुपनामा सहयोग पुग्ने र अर्कोतिर सीपयुक्त जनशक्ति उत्पादन भई रोजगारीका अवसर बढ्दै जाने बताउनुभयो ।
ग्रामीण मर्मत सम्भार कार्यकर्ता तालिमबाट यसअघि निर्माण भैसकेका र अब निर्माण हुँदै गरेका खानेपानी आयोजनाहरु समेत दिगो बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । उक्त तालिमले सानोतिनो मर्मत कार्य मात्र गर्न सिकाएको नभई नयाँ आरभिटि तथा अन्य संरचनाहरु समेत निर्माण गर्न सक्ने ज्ञान, सीप र उत्प्रेरणा प्रदान गरेको छ । तालिमबाट आफूहरुले धेरै कुराहरु सिक्ने अवसर मिलेको सहभागीहरुको भनाई थियो ।
तालिम समापनको अवसरमा आफ्ना भनाई राख्दै वास संयोजक गोविन्द प्रसाद शर्माले तालिमहरु केवल तालिमका लागि मात्रै नभै उपलब्धीमूलक बनाउने प्रयास भईरहेको बताउनुभयो।
१२ दिन सम्म चलेको तालिममा १० दिन प्रयोगात्मक अभ्यास गरिएको थियो । तालिम समापन कार्यक्रममा वडा जनप्रतिनिधि, वास इकाई कर्मचारी, आयोजना स्थलका उपभोक्ता समितिका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।


345 पटक हेरिएको 

