महिनावारीमैत्री समाजका लागि सहकार्य विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

  वास खबर सम्बाददाता  542 पटक हेरिएको

राजविराज : “महिनावारीमैत्री समाजका लागि सहकार्य” भन्ने नारासहित एक विशेष अन्तरक्रियात्मक कार्यक्रम राजविराजमा सम्पन्न भएको छ। कार्यक्रममा महिनावारीसँग सम्बन्धित सामाजिक, सांस्कृतिक तथा सेवा-सुविधाका विविध चुनौतीहरूको पहिचान गर्दै सहकार्यमा आधारित समाधानका उपायहरूमा गहन छलफल गरियो।

महुली सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित “Up-scaling WASH System Strengthening Approach in the Terai Region of Nepal परियोजनाको पहलमा, BMZ/VCA/WHH को आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा विभिन्न स्थानीय तह, स्वास्थ्य तथा शिक्षा क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मी, तथा वाश परियोजना सन्चालित पालिकाहरु अग्निसार गाउँपालिका, विष्णुपुर गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, राजगढ गाउँपालिका. र सप्तकोशी नगरपालिकाका छात्रछात्रा तथा महिनावारी सम्पर्क शिक्षिकाको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता महुली सामुदायिक विकास केन्द्रकी उपाध्यक्ष शावित्री चौधरीले गर्नुभएको थियो। उहाँले महिनावारी स्वास्थ्य तथा स्वच्छता विषयमा अझ प्रभावकारी नीति, कार्यक्रम तथा समन्वय आवश्यक रहेको बताउँदै सबै तह र तप्काको सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो।

स्वास्थ्य संयोजक कमल चौधरीले पनि महिनावारी विषयलाई मौनताको चक्रबाट बाहिर ल्याउन र समावेशी समाज निर्माणमा सबैले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। सहभागीहरूले विद्यालय तथा सार्वजनिक स्थानहरूमा महिनावारीमैत्री पूर्वाधारको अभाव, जनचेतनाको कमी तथा किशोरीहरूद्वारा भोगिँदै आएको सामाजिक अपमानजस्ता मुद्दाहरूमा गम्भीर छलफल गरेका थिए।

कार्यक्रममा राष्ट्रिय मावि. फत्तेपुरकी विद्यार्थी प्रतिक्षा बि.के.ले भन्नुभयो ‘पहिला महिनावारीको कुरा गर्न पनि डर लाग्थ्यो, तर अहिले खुला रूपमा बोल्न सक्छु। आजको कार्यक्रममा भाग लिएपछि मलाई अझ धेरै कुरा थाहा भयो।’

कार्यक्रमबाट निम्न प्रमुख निष्कर्षहरू निकालिएका छन्:

  • महिनावारी स्वास्थ्यलाई स्थानीय नीति तथा बजेट निर्माण प्रक्रियामा समावेश गर्न पहल गरिने।

  • विद्यालयहरूमा सेनेटरी प्याड, सुरक्षित परिवर्तन कक्ष र नियमित स्वास्थ्य शिक्षा सुनिश्चित गरिने।

  • विद्यालय तथा सार्वजनिक स्थानहरूमा महिनावारीमैत्री शौचालय निर्माणमा प्राथमिकता दिइने।

  • सञ्चार माध्यमहरू मार्फत महिनावारी विषयलाई नियमित र संवेदनशील ढंगले उठाउने अभियान सञ्चालन गरिने।

कार्यक्रमले सहभागिता, संवाद र सहकार्यलाई प्रवर्द्धन गर्दै आगामी दिनमा महिनावारीमैत्री समाज निर्माणका लागि संयुक्त प्रयास गर्ने प्रतिबद्धता जाहेर गर्दै समापन गरिएको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार