
सिरहा : ‘महिनावारीमैत्री समाजका सहकार्य’ भन्ने नाराका साथ आज विश्व महिनावारी स्वच्छता दिवस सिरहा जिल्लाका विभिन्न स्थानीय तहहरूमा विविध कार्यक्रमहरू आयोजना गरी मनाईएको छ। बीएमजेड/भीसीए/डब्लुएचएचको सहयोग र सबल नेपालद्वारा सञ्चालित Upscaling WASH System Strengthening Approach in Terai कार्यक्रम अन्तर्गत विभिन्न जनचेतनामूलक गतिविधिहरू गरिएका हुन्।
कल्याणपुर नगरपालिका–१, अर्नमा कियौत टोलमा आयोजित कार्यक्रममा पूर्ण सरसफाइ उन्मुख बस्तीको अवलोकन गरिएको थियो। साथै स्थानीय समुदायलाई महिनावारी सरसफाइ तथा सुरक्षित व्यवस्थापनसम्बन्धी अभिमुखीकरण प्रदान गरियो। सो अवसरमा प्रयोग भइसकेका प्याडहरूको सुरक्षित व्यवस्थापनका लागि खाल्डो खनी गाड्ने अभ्यास गरिएको थियो। त्यस्तै, घरदैलो अभियानमार्फत स्थानीय महिलाहरूलाई प्याड व्यवस्थापन सम्बन्धी जानकारी प्रदान गरिएको थियो।

यसै क्रममा सिराहा नगरपालिका–१८ स्थित श्री जनता माध्यमिक विद्यालय, लक्ष्मीनिया भजनाहामा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा नगरपालिका क्षेत्रभित्रका आठ वटा माध्यमिक विद्यालयबाट १६ जना छात्र छात्राहरूको सहभागिता रहेको थियो। विद्यालयका प्रधानाध्यापक प्रमोद कुमार यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडाध्यक्ष शैलेन्द्र कुमार यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा विद्यालय परिवार, शिक्षक, स्थानीय अगुवा तथा विभिन्न विद्यालयका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यस्तै, सिराहा जिल्लाका पाँचवटा पालिका, सिराहा, कर्जन्हा, कल्याणपुर, गोलबजार नगरपालिका तथा विष्णुपुर गाउँपालिकाबाट गठन गरिएका पालिका स्तरीय किशोरी समूहका सदस्यहरूले सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकामा अध्ययन अवलोकन भ्रमण गर्नुभएको छ। सो भ्रमण सम्मुनति कार्यक्रम अन्तर्गत सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपालद्वारा सञ्चालित नमुना तथा हरित विद्यालय प्रवर्द्धन कार्यक्रम अन्तर्गत भएको हो। भ्रमणको क्रममा श्री मा.वि. मल्हनमामा रहेको पियर ग्रुप सँग अनुभव आदान–प्रदान गर्नुका साथै प्याड भेन्डिङ मेसिनको पनि अवलोकन गरिएको थियो।
दिवसकै अवसरमा सबल नेपालले MCC Foundation/Cricket Without Boundaries को सहयोग एबं सप्तरी क्रिकेट संघको सहकार्यमा किशोरीमैत्री क्रिकेट टुर्नामेन्टको पनि आयोजना गरिएको थियो।

यी सम्पूर्ण कार्यक्रमहरूले महिनावारीसँग जोडिएका सामाजिक पूर्वधारणा र गलत धारणाको अन्त्य गर्न सहयोग पुग्नुका साथै सरसफाइका अभ्यासहरू र सुरक्षित स्वच्छता व्यवस्थापनको सन्देश विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायमा सकारात्मक रूपमा प्रवाह गरेको देखिएको छ।



770 पटक हेरिएको 

