
सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं.४ र ५ स्थित किचेन लिसपानी च्यूरा खानेपानी तथा सरसफाइ आयोजना समुदायलाई हस्तान्तरण गरिएको छ ।
नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, नगर उप प्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी लगायतको उपस्थिति तथा रोहबरमा नगर प्रमुखबाट उपभोक्ता समितिका पदाधिकारीहरुलाई आयोजना हस्तान्तरण गरिएको हो।
आयोजनाको संरक्षण, मर्मत सम्भार, निरन्तरता र दिगोपनाको जिम्मेवारी समुदायकै हुने शर्त सहित योजना हस्तान्तरण गरिएको हो । आर्थिक बर्ष. ०८०⁄०८१ मा सवैका लागि दिगो खानेपानी तथा सरसफाइ (सुस्वा) आयोेजना अन्तर्गत नगर वास कोषको ७१ लाख ६१ हजार एक सय ३२ रुपैयाँ, उपभोक्ताहरुको नगद ६ लाख ७ हजार र श्रमदान १८ लाख ६१ हजार २९ रुपैयाँ गरी कूल ९६ लाख, २९ हजार छ सय ६१ रुपैयाँ लागत सहभागितामा यो योजना निर्माण सम्पन्न भएको हो ।

एक घर एक धाराको अवधारणा बमोजिम निर्माण पश्चात प्रत्येक घरधुरीमा पर्याप्त तथा नियमित रुपमा पानी पुगेकोले उपभोक्ताहरुलाई ठूलो राहत मिलेको छ । खानेपानी आयोजनाबाट १३५ घरपरिवार सहित दुईवटा विद्यालयका शिक्षक तथा विद्यार्थीहरु पनि लाभान्वित भएका छन् ।
आयोजना हस्तान्तरण कार्यक्रममा नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले आयोजना निर्माण गर्नु मात्र ठूलो कुरा नभै दिगो बनाउने कुरामा सवैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले कुनै भैपरि आउने समस्या या अत्यन्तै कठिन अवस्था बाहेक अन्य अवस्थामा अब आयोजनाको संरक्षण तथा मर्मत सम्भार गर्ने, सदुपयोग गर्ने र दिगो बनाउने जिम्मेवारी समुदायको नै हुने गरी योजना हस्तान्तरण गरिएको बताउनुभयो।

कार्यक्रमका सभाध्यक्ष एवम् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष खड्ग विष्टले आयोजना निर्माण चरणमा विविध कठिनाईहरु भएपनि निर्माण पश्चात समुदायमा ठूलो राहत मिलेको बताउनुभयो ।
कार्यक्रममा आयोजना सहयोग इकाईका प्रतिनिधि गुम्म बहादुर नेपाली, बनगाड कुपिण्डे नगरपालिकाको वडा नं. ४ का वडाध्यक्ष पुष्कर बुढा सहितको उपस्थितिमा खानेपानी आयोजनाको लागत सहभागिता लगायत विविध विषयमा वास संयोजक गोविन्द प्रसाद शर्माले जानकारी गराउनु भएको थियो।


350 पटक हेरिएको 

