म्याग्दी : मालिका गाउँपालिका–३ डाँडागाउँका बासिन्दाहरूको जीवनशैलीमा सुखद परिवर्तन आएको छ। झोलुङ्गे डोको बोकी उकालो-ओरालो गर्दै धारातिर जाने बाध्यता हटेको छ। कारण हो—हालै सम्पन्न डाँडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना, जसले दुई सय पच्चीस घरपरिवारलाई घरमै शुद्ध पिउने पानीको सुविधा प्रदान गरेको छ।
एक करोड १० लाख रुपैयाँको लागतमा सम्पन्न यो आयोजना मालिका गाउँपालिकाको रु। २४ लाख ८५ हजार ५९६, नेपाल स्वास्थ्यका लागि पानी संस्था ९नेवाको रु ५६ लाख एक हजार ३६६ अनुदान तथा स्थानीय उपभोक्ताको रु। २९ लाख १३ हजार १२४ बराबरको नगद तथा श्रमदानबाट निर्माण गरिएको हो।
वडाध्यक्ष मोतिप्रसाद बुढाका अनुसार आयोजना मार्फत २२५ घर, चार विद्यालय तथा एक सामुदायिक स्वास्थ्य इकाईमा निजी धारा जडान गरिएपछि पानी सहज रूपमा आपूर्ति हुन थालेको छ। उहाँले बताउनुभयो, “अब सर्वसाधारणले सार्वजनिक धारामा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटेको छ। घरमै धारा भएपछि समयको बचत त भएको छ नै, स्वच्छता तथा घरायसी कामकाज पनि सहज भएको छ।”
डाँडागाउँसँगै किटेनी, औल, सराग्दी र स्यागलुङ टोलका कुल दुई हजार उन्नाइस जना जनसङ्ख्या यस सुविधाबाट प्रत्यक्ष लाभान्वित भएका छन्।
सस्तो, सहज र स्वच्छ पानी सुनिश्चित गर्न प्रत्येक धारा स्थानमा पानी मिटर जडान गरिएको छ। साथै धारा वरपरको सफा वातावरण सुनिश्चित गर्न भाँडा सुकाउने पक्की चाङ पनि बनाइएको छ।
बोक्रेमा रहेका तीन वटा मुहानबाट पानी संकलन गरी ११ वटा रिजर्भ ट्याङ्कीमा भण्डारण गरिन्छ र त्यहाँबाट वितरण गरिन्छ। नेवा संस्थाका प्राविधिक सुरेन्द्र चन्दका अनुसार मुख्य र शाखा पाइपलाइनको लम्बाइ मात्र २१ हजार ४६८ मिटर रहेको छ।
उपभोक्ताहरूले प्रतिपरिवार ६० दिन बराबरको श्रमदान गरेर यो आयोजनालाई सफल बनाएका हुन्। यो आयोजनाले मात्र पानी उपलब्ध गराएको होइन, स्वस्थ जीवन, समयको सदुपयोग र महिलाहरूको श्रमको सम्मान गर्नेतर्फ पनि सकारात्मक परिवर्तन ल्याएको छ।
स्थानीय बासिन्दाहरूको आवाजमा एकै प्रकारको आशा र सन्तोष छ, अब हामीलाई पानीको चिन्ता छैन। हाम्रो जीवनमा सहजता आएको छ।