
राजविराज : सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ४ स्थित श्री महिकर श्यामा माध्यमिक विद्यालय प्रसवनीमा समावेशी तथा पहुँचयुक्त खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधायुक्त संरचनाहरू मर्मत सम्भार, स्तरोन्नति तथा निर्माण कार्य सम्पन्न गरी शुक्रबार एक कार्यक्रम बीच हस्तान्तरण गरिएको छ ।
अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको समन्वय तथा BMZ/VCA/WHH को आर्थिक सहयोगमा महुली सामुदायिक बिकास केन्द्र (MCDC) द्वारा संचालित Up- scaling Wash Strengthening Approach in the Terai region of Nepal परियोजना अन्तर्गत श्री महिकर श्यामा माध्यमिक विद्यालय प्रसवनी तथा महुली सामुदायिक बिकास केन्द्र बीच भएको सम्झौता अनुरुप २ हजार लिटर क्षमताको बायो स्याण्ड फिल्टर जडान १ वटा, समावेशी तथा पहुँचयुक्त खानेपानी स्टेशन ६ धारा सहितको ३ वटा, हात धुने स्टेशन ६ वटा धारा सहितको ३ वटा, सोकपिट २ वटा निर्माण तथा पहुँचयुक्त छात्र शौंचालय, युरिनल, छात्रा शौंचालय, महिनावारी व्यवस्थापनका लागि शौचालयको स्तरोन्नति, सेफ्टी ट्यांकीको मर्मत सम्भार, लगायतका अन्य संरचनाहरु मर्मत सम्भार, स्तरोन्नति, पुनस्निर्माण तथा निर्माण सम्पन्न गरिएको हो ।
विद्यालयको ३ लाख ८२ हजार ८७ रुपैयाँ तथा परियोजनाको २१ लाख ३० हजार ३ सय ३८ रुपैयाँ गरी २५ लाख १२ हजार ४ सय २५ रुपैयाँ लगानीमा ती संरचना निर्माण गरिएको परियोजना संयोजक प्रताप श्रेष्ठले जानकारी गराउनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर प्रसाद सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अग्नीसाइर कृष्णासवरन गाउँपालिका, वार्ड नं ४ का वडा अध्यक्ष तेज नारायण यादवको रोहवरमा उक्त संरचनाहरूकोे सञ्चालन, उचित व्यवस्थापन लगायत मर्मत सम्भार एवं संरक्षण सम्बर्धन गर्ने कार्यको सम्पुर्ण जिम्मेवारी विद्यालय परिवारको हुने सुनिश्चिताका साथ विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
परियोजनाले विद्यालयमा समावेशी तथा पहुँचयुक्त खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा उपलब्ध गराइ अपाङ्गता भएका बालबालिकाहरु, किशोर किशोरीहरुको पहुँच वृद्धि गरी सिकाइको वातावरण सिर्जना गर्दै दिगो विकास लक्ष्यको ४ को उपलब्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

हस्तान्तरण कार्यक्रममा शिक्षा शाखाका प्रतिनिधिहरु लयागत महुली सामुदायिक बिकास केन्द्रका अध्यक्ष राम लगन मरार तथा अन्य कर्मचारी तथा उक्त क्षेत्रका भद्र भलादमी र विद्यार्थीहरुको सहभागिता थियो।




649 पटक हेरिएको 

