
हुम्ला : नाम्खा गाउँपालिकालाई सफा र स्वच्छ बनाउने उद्देश्यले गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाको नेतृत्वमा व्यापक सरसफाइ अभियान सञ्चालनमा आएको छ।
‘शिक्षित तथा स्वच्छ नाम्खा, स्वावलम्बी नाम्खाली’ भन्ने नारा सहित अभियानको औपचारिक सुरुवात नाम्खा गाउँपालिका–४ स्थित याल्वाङ र याङ्गार गाउँबाट गरिएको हो। गाउँपालिका अध्यक्ष लामा, अन्य जनप्रतिनिधि तथा कर्मचारीहरूको टोलीले टोलटोलमा पुगेर सफाइका काममा हातेमालो गरेका छन्।
“स्वच्छ र सुन्दर नाम्खा निर्माणका लागि हामी सबैको सक्रिय सहभागिता आवश्यक छ,” अध्यक्ष लामाले बताउनुभयो। उहाँका अनुसार सरसफाइ अभियानबाट दुर्गन्धमुक्त गाउँपालिका निर्माण सम्भव छ, र यसले गाउँको सामूहिक पहिचान पनि बलियो बनाउँछ।
योजनाका अनुसार गाउँघरका घरआँगनमा नै पुगेर फोहोर सङ्कलन कार्य सुरु भएपछि स्थानीय बासिन्दा पनि यस अभियानमा उत्साहपूर्वक सहभागी भएका छन्।
नाम्खा गाउँपालिकाका योजना अधिकृत मोहनबहादुर शाहीले यो अभियानलाई स्वच्छता र जनसचेतनाको सशक्त उदाहरणको रूपमा चित्रण गर्दै भन्नुभयो, “यो अभियान गाउँपालिकाको पहिचान र भविष्यको लागि निर्णायक बन्न सक्छ।”
खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजनाका गाउँपालिका संयोजक दन्तबहादुर शाहीले सरसफाइलाई अबको अनिवार्य जिम्मेवारीको रूपमा व्याख्या गर्दै भने, “अब प्रत्येक व्यक्तिले आफ्नो घरआँगन र टोल सफा राख्ने जिम्मा लिनुपर्छ, नत्र कारबाहीको भागिदार बन्नुपर्नेछ।”
स्वच्छता अभियान मार्फत नाम्खा गाउँपालिकाले स्थानीय जनसमुदायको सहभागिता बढाउँदै स्वच्छ, शिक्षित र आत्मनिर्भर समाज निर्माणको दिशामा महत्वपूर्ण कदम चालेको स्पष्ट देखिन्छ।


297 पटक हेरिएको 

