लम्कीचुहा सह लगानी खानेपानी आयोजनाको खानेपानीमन्त्री यादवद्वारा शिलान्यास

  वास खबर सम्बाददाता  349 पटक हेरिएको

कैलाली : कैलाली जिल्लाको लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था अन्तर्गत लम्कीचुहा सह-लगानी खानेपानी आयोजनाको दोस्रो चरणको शिलान्यास गरिएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवले लम्कीचुहा नगरपालिकाका उप-प्रमुख सुशीला शाही, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठ, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना प्रमुख अरुण कुमार कर्ण लगायतको उपस्थितिमा खानेपानी आयोजनाको शिलान्यास गर्नु भएको हो ।

यही असार २३ गते मात्र लम्कीचुहा सहलगानी खानेपानी तथा सरसफाइ आयोजना प्याकेज २ निर्माण गर्न यही असार २३ गते निर्माण व्यवसायी सुप्रिम जयमाता जेभी र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय बीच ठेक्का सम्झौता भै सोही दिन आयोजना कार्यालयले तोकिएको मिति भित्रै निर्माण सम्पन्न गर्न कार्यादेश दिईएको थियो।

मूल्य अभिवृद्धि कर सहित कुल २९ करोड ४८ लाख ३२ हजार ४९९ रुपैयाँमा भएको ठेक्का सम्झौता अनुसार २०८५ साल असार २५ गते भित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।

खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी आयोजना शिलान्यास कार्यक्रममा खानेपानी आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो। उहाँले ठेक्काको काम भनेर निर्माण व्यवसायीको जिम्मामा मात्र नछोडी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले समेत नियमित रेखदेख गर्न र निर्माण व्यवसायीलाई सघाउन पनि अनुरोध गर्नुभयो ।

शिलान्यास कार्यक्रममा लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पदाधिकारीहरु, निर्माण व्यवसायी एवं अन्य उपभोक्ताहरुको पनि सहभागिता थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार