ललितपुर महानगरले देखाएको बाटो ‘विदेशबाट सिकेर आउने, गरेर देखाउने’

  वास खबर सम्बाददाता  450 पटक हेरिएको


काठमाडौ : हामी मध्ये धेरैले अन्तर्राष्ट्रिय भ्रमणलाई केवल अवलोकनको प्रक्रियामा सीमित राख्ने गर्छौं । तर ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले वैदेशिक भ्रमणलाई एउटा यात्रा मात्र होइन, परिवर्तनको सुरुवातको रूपमा लिनु भएको छ ।

पुल्चोक इन्जिनियरिङ कलेज वा नर्सिङ क्याम्पस मध्ये एकमा दिसाजन्य लेदो व्यवस्थापनको काम पाइलोटिङ गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भारतको उडिसादेखि बंगलादेशसम्मको भ्रमण, नेपालकै समाजशास्त्री डोरबहादुर विष्टको कामदेखि किर्तिपुरका सुलभ शौचालयसम्म । उहाँका अनुभवहरू केवल सम्झनाको श्रृंखला मात्र होइन, योजनाको म्याप बनेका छन् ।

नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणाली विस्तार कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेपछि मन्चमा उभिएर उहाँले विगतका सिकाइ र कार्यान्वयनको अनुभव सुनाउनुभयो ।

मेयर महर्जनको भनाइमा नगरपालिकाले विगतमा भारतको उडिसा, बंगलादेश लगायतका देशहरूबाट सार्वजनिक शौचालय र दिसाजन्य लेदो व्यवस्थापनको सन्दर्भमा धेरै अभ्यासहरू अवलोकन गरेको थियो । ती मध्ये कतिपय अभ्यासहरू ललितपुरको भूगोल, संरचना र आर्थिक सामर्थ्यमा मेल खाने गरी कार्यान्वयन भइसकेका छन् ।


उहाँले सम्झनुभयो ‘उडिसाको एउटा छात्रावासमा जुन सरसफाइ प्रणाली थियो, त्यो निक्कै प्रभावकारी देखियो । नेपालमा फर्केर कार्यान्वयन गर्न लागिपरे पनि केही व्यावहारिक कठिनाइका कारण त्यो बेला सम्भव भएन ।’ त्यसबेला अहिले जस्तो समझदारी पत्रमा हस्ताक्षर नभएकाले गर्नैपर्ने अनिवार्य नभएकाले पनि कार्यान्वयन गर्न नसकेको र अब पुल्चोक इन्जिनियरिङ कलेज वा नर्सिङ क्याम्पस मध्ये एकमा दिसाजन्य लेदो व्यवस्थापनको काम पाइलोटिङ गरेर देखाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मेयर महर्जनका अनुसार, सार्वजनिक शौचालय र सरसफाइ प्रणालीमा ललितपुर महानगरले विगतदेखि नै प्रयोगात्मक अभ्यास गर्दै आएको छ । उहाँले पञ्चायतकालीन समयको अनुभव सुनाउँदै भन्नुभयो ‘डोरबहादुर विष्ट जुम्लामा काम गरेर काठमाडौं फर्किनुभयो । उहाँले ल्याएको ‘सुलभ शौचालय’ अवधारणा किर्तिपुरमा लागु गरिएको थियो ।’

‘सुलभ शौचालय प्रणालीमा स्लज जत्ति अलग्गै बस्ने र झोल बहने गरी दुई कक्षमा निर्माण गरिन्थ्यो । एउटा खण्ड प्रयोग गरेपछि बन्द गरेर अर्को प्रयोग गर्न मिल्थ्यो । बन्द गरिएको खण्ड करिब सात महिनापछि गन्धरहित मलमा रूपान्तरण हुन्थ्यो । यो वातावरणमैत्री अभ्यासको रुपमा स्वीकारिएको थियो’ उहाँले विगत सम्झिदै भन्नुभयो ।

त्यो बेला आफू ललितपुर नगर पञ्चायतको वडा अध्यक्ष हुँदा वडा नम्बर ३ पुल्चोकमा यस्तै मोडलका ६–७ वटा शौचालय सञ्चालन गरेको स्मरण गर्दै मेयर महर्जनले भन्नुभयो ‘अहिले पनि नगरपालिकाका ग्रामीण क्षेत्रहरूमा यस्ता प्रणालीको शौचालय बनाउन सके लाभदायी हुने सम्भावना उत्तिकै छ ।’

भूगोल र आर्थिक अवस्थाको भिन्नताका कारण सबै अभ्यास सबै ठाउँमा हुबहु लागू हुन नसक्ने भन्दै महर्जनले स्थान अनुसार मिल्ने अभ्यासलाई अनुसरण गर्नुपर्ने बताउनुभयो ।

बंगलादेशको भ्रमण र स्मार्ट शौचालयको परिकल्पना

विगतमा बंगलादेश भ्रमणमा जानु भएका महर्जनले त्यहाँका शौचालयहरूबाट सिकेको एउटा खास पक्ष हो, नुहाउने कक्षको व्यवस्था । ‘प्रत्येक शौचालयमा एउटा सानो नुहाउने कोठा राख्दा नागरिकलाई सहज हुन्छ भन्ने बुझें । वंगलादेशबाट फर्किएपछि हामीले स्मार्ट सिटी अवधारणाभित्र यसलाई समावेश गर्‍यौं’ उहाँले भन्नुभयो।

पाटन दरबार स्क्वायरमा अत्याधुनिक शौचालय निर्माण गरी पर्यटकको समस्यालाई सम्बोधन गरिएको उहाँले जानकारी गराउनुभयो । हाल महानगरका धेरै वडामा यस्ता स्मार्ट शौचालयहरु सञ्चालनमा रहेको र अझै ९ वटा निर्माणाधीन अवस्थामा रहेको उहाँले सुनाउनुभयो।

‘अरुका लागि पनि अनुशरण योग्य बनाउनुपर्छ’

मेयर महर्जनले भन्नुभयो ‘आज सातवटा नगरपालिकाहरुले हस्ताक्षर गरेको यो समझदारी मात्र सुरक्षित सरसफाइ प्राप्तिका लागि एक प्रस्थान बिन्दु हो । अबको काम भनेको कार्यान्वयन हो र साझेदारी हो ।’

उहाँले आगामी वर्षभित्रै सातवटै नगरपालिकाबीच पुनः एकपटक भेटघाट गरेर एक अर्काको प्रगति, समस्या र सुझाव साटासाट गर्ने पहल गर्नुपर्नेमा जोड दिनुभयो । ‘हामीले गरेका अभ्यास अरुले पनि सिकून्, हामी पनि अरुबाट सिकौं । यो नै सहकार्य र समृद्धिको बाटो हो ।’ उहाँले जोड दिनुभयो ।


गेटस् फाउण्डेसनको वित्तिय व्यवस्थापन र यु.एन.ह्याबिटाटको कार्यकारी भूमिकामा कैलालीको गोदावरी नगरपालिका, सल्यानको शारदा नगरपालिका, दाङको घोराही उपमहानगरपालिका, गोरखाको गोरखा नगरपालिका, ललितपुरको ललितपुर महानगरपालिका, सिरहाको लहान नगरपालिका र झापाको मेचीनगर नगरपालिकामा ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम’ (Scalling of Citywide Inclusive Sanitation Service System) कार्यान्वयन हुना थालेको छ ।

वाटर एड नेपाल, नेपाल नगरपालिका संघ, खानेपानी मन्त्रालय/खानेपानी तथा ढल व्यवस्थापन विभाग र संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (यु.एन.ह्याबिटाट) को प्राविधिक सहयोगमा सम्बन्धित नगरपालिकामा नगरस्तरीय दिशाजन्य लेदो व्यवस्थापन सम्बन्धी ऐन वा नियमावली, कार्यविधि वा योजना, नीति वा कार्यनीति बनाउने र दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी तथ्याङ्क संकलन गरी एन वासमा अद्यावधिक गर्ने लगायत काम हुनेछन् ।

‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम’ सन् २०२६ डिसेम्बरसम्म कार्यान्वयन हुनेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार