
वीरगन्ज : वीरगन्जको पोखरिया टोलकी मनिषा पटेल साँझ बिहान खाना पकाउनुअघि इनारतर्फ धाउनुहुन्छ। बिहानैदेखि सुरु हुने घरधन्दा, खेतबारीको काम, बालबालिकाको पढाइ, सबैको जीवन यही इनारको पानीमा टिकेको छ। उहाँको विश्वास थियो “इनारको पानी सफा हुन्छ, जमिनमुनिको पानीमा के नै प्रदुषण हुन्छ र ?”
तर, उहाँको मनमा कहिल्यै आएको थिएन कि त्यो इनारमा भरिएको पानी नै आफ्नै परिवारलाई रोगको सिकार बनाइरहेको छ भनेर।
यो पीडा केवल मनिषाको मात्र होइन। यो त देशभरका सयौँ गाउँ शहरको साझा कथा हो। हाम्रो घरआँगन छेउमा अनियमित रूपमा बनाइने असुरक्षित सेप्टिक ट्याङ्क, र त्यहीबाट बिस्तारै चुहिँदै जाने पानीले जमिनमुनिको पानीलाई विषालु बनाइरहेको छ।
जमिनमुनि बगिरहेको त्यो अदृश्य प्रदुषणलाई हामी देख्दैनौँ। तर जब यही पानी इनार, धारा वा ट्युबवेल हुँदै हाम्रो गिलासमा आउँछ, तब त्यो अदृश्य खतराको रुपमा हाम्रो शरिरमा प्रवेश गर्छ ।
सेप्टिक ट्याङ्क किन खतरनाक बन्दैछन् ?
नेपालका अधिकांश घरपरिवारमा प्रयोग हुने सेप्टिक ट्याङ्क प्राविधिक मापदण्ड अनुसार निर्माण गरिएका हुँदैनन्। भित्ता र भुँईको सतहमा चुहावट हुने गरी निर्माण गरिएको हुन्छ । सतहमा ढलान गर्दा सेप्टिक ट्याङ्क चाँडै भरिन्छ भन्ने सोचले भुँई ढलान गरिएको हुँदैन भने समय समयमा खाली गर्ने व्यवस्था पनि मिलाएको हुँदैन ।
फलस्वरूप, मानव मलमूत्रसँगै रोगजन्य ब्याक्टेरिया, भाइरस र विषालु पदार्थ जमिनमुनिको पानीमा मिसिन्छ। त्यसपछि सोही प्रदुषित पानी इनार, धारा, ट्युबवेल जस्ता स्रोतहरूबाट पुनः हामीले उपभोग गर्छौ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, दूषित पानी पिउनाले हैजा, टाइफाइड, झाडापखला, हेपाटाइटिस जस्ता रोगहरू फैलिन्छन्। नेपालमा प्रत्येक वर्ष हजारौं बालबालिकाको मृत्यु हुने प्रमुख कारण पनि दूषित पानीकै कारण हुने पेट–सम्बन्धी रोगहरू हुन्।
असुरक्षित सेप्टिक ट्याङ्कले फैलाउने समस्या सजिलै देखिँदैन। किनभने जमिनमुनि भएको प्रदुषण आँखाले देख्न सकिदैन भने पानीको नियमित परिक्षण पनि गरिएको हुँदैन् । तर जब हामीले प्रदुषित पानी सेवन गर्छौ, त्यसको असर भयानक हुन्छ।
काठमाडौँ, भरतपुर, बर्दियादेखि विराटनगरसम्मका शहरी क्षेत्रमा सेप्टिक ट्याङ्कबाट चुहिएको फोहोर पानीले भूमिगत पानी प्रदूषण बढेको अनुसन्धानले देखाएका छन्।
दीर्घकालीन असर
भूमिगत पानी एकपटक प्रदूषित भएपछि दशकौंसम्म सफा गर्न सकिँदैन। यसले केवल स्वास्थ्यमा मात्र होइन, स्थानीय अर्थतन्त्रमा पनि ठूलो क्षति पुर्याउँछ।
किनकि पानी पिउन अयोग्य भएपछि, समुदायले पानी किनेर प्रयोग गर्नुपर्ने हुन्छ । प्रदुषित पानीका कारण विरामी भएपछि स्वास्थ्य उपचार खर्च बढ्छ । जसले गर्दा उत्पादनशीलता घट्छ भने बालबालिकाले विद्यालय जान छाड्छन्।
यसरी हेर्दा, असुरक्षित सेप्टिक ट्याङ्क सरसफाइको समस्या मात्र होइन, यो विकास प्रक्रिया नै अवरुद्ध पार्ने कारक हो।
अब के गर्ने ?
समाधान असम्भव छैन। तर, यसको लागि स्थानीय सरकार, प्राविधिक निकाय र समुदायको साझा प्रयास जरुरी छ।
१. प्राविधिक मापदण्डको सेप्टिक ट्याङ्क निर्माण
अहिले धेरै घरपरिवारले सेप्टिक ट्याङ्क बनाउँदा जति सस्तो हुन्छ, त्यति राम्रो भन्ने सोच अपनाउँछन्। तर यो सोच जीवनसँग खेलवाड हो। सुरक्षित ट्याङ्क बनाउन प्राविधिक डिजाइन र गुणस्तर अत्यन्त जरुरी छ।
√ सेप्टिक ट्याङ्कको भुँईको सतह तथा भित्ताहरू सिमेन्ट ढलान तथा प्लाष्टर गर्ने, जसले चुहावट रोक्छ।
√ उचित मोटाइ र मजबुत ढक्कन राख्नुपर्छ। जसले दुर्घटना रोक्छ।
√ फिल्टर प्रणाली र निस्काशन पाइप सही तरिकाले जडान गर्नुपर्छ ।
यी आधारभूत मापदण्ड पालना गरेर बनाइएका ट्याङ्कहरूले जमिन मुनिको पानीलाई प्रदूषित हुनबाट रोक्छ । त्यसैले, सुरु देखि नै सुरक्षित संरचना बनाउनु भविष्यको ठूलो जोखिमबाट बच्ने आधार हो।
२. नियमित खाली गर्ने व्यवस्था
सेप्टिक ट्याङ्क एकपटक भरिएपछि समयमै खाली नगरेमा, फोहोर पानी वरिपरि चुहिन थाल्छ। धेरै ठाउँमा अझै पनि मानिसहरूले आफैं ढक्कन खोलेर फोहोर निकालेर खेतबारी वा खोलामा हाल्ने चलन छ, जसले वातावरण प्रदूषण मात्र होइन, रोगको जोखिम पनि बढाउँछ।

त्यसैले,
√ भ्याकु ट्रक वा सुरक्षित निकास सेवा सबै समुदायसम्म पुर्याउन जरुरी छ।
√ प्रत्येक नगरपालिकाले नियमित रुपमा सेप्टिक ट्याङ्क खाली तथा सफा गर्ने सेवा उपलब्ध गराउनुपर्छ ।
√ ग्रामीण क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गरेर सेवा विस्तार गर्नुपर्छ ।
√ सेप्टिक ट्याङ्क सफाइ सेवा शुल्क सबैको पहुँचमा हुने गरी व्यवस्था मिलाउनुपर्छ ।
√ नियमित खाली गर्ने प्रणालीले सेप्टिक ट्याङ्कलाई दीर्घकालीन रूपमा सुरक्षित राख्छ।
३. सचेतना अभिवृद्धि
सुरक्षित सेप्टिक ट्याङ्क नबन्ने वा नियमित सफा नगर्ने प्रमुख कारणमध्ये एक हो जनचेतनाको अभाव। धेरैलाई थाहा नै हुँदैन कि उनीहरूको आँगनको सेप्टिक ट्याङ्कले इनार वा धारा प्रदूषित पारिरहेको हुन्छ ।
त्यसैले,

√ समुदायस्तरमा स्थानीय सरकार तथा विभिन्न संघसंस्थाले निरन्तर सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
√ विद्यालय, टोल र सामुदायिक भेलामा सुरक्षित सेप्टिक ट्याङ्कबारे छलफल चलाउनु पर्छ ।
√ स्थानीय रेडियो, सामाजिक सञ्जाल र पोस्टर मार्फत सन्देश फैलाउनु पर्छ ।
√ सेप्टिक ट्याङ्क सुरक्षित नहुँदा पानी असुरक्षित हुन्छ भन्ने सरल तर गहिरो सन्देश हरेक परिवारसम्म पुर्याउनुपर्छ ।
√ जब समुदाय आफैं सचेत हुन्छ, तब उनीहरूले प्राविधिक सेवा र स्थानीय सरकारलाई दबाब दिन सक्छन्।
४. निगरानी र नियमन

मापदण्ड बनेर मात्रै पुग्दैन, त्यसको निगरानी हुनु आवश्यक छ। भवन निर्माण संहितामा नै सेप्टिक ट्याङ्कको नक्सा पनि हुनुपर्ने व्यवस्था भए पनि भवन निर्माण अनुमति लिँदा सेप्टिक ट्याङ्कको डिजाइन जाँच गरिँदैन, जसले अव्यवस्थित संरचनालाई प्रोत्साहन दिन्छ।
तसर्थ नगरपालिका र वडा स्तरमैः
√ भवन निर्माण अनुमति दिनुअघि सेप्टिक ट्याङ्कको डिजाइन प्राविधिकले मूल्यांकन गर्नुपर्छ ।
√ सेप्टिक ट्याङ्क निर्माणका क्रममा निरीक्षण गर्ने व्यवस्था मिलाउनुपर्छ ।
√ गुणस्तर मापदण्ड पालना नगर्ने घरधुरीलाई दण्ड जरिवानाको व्यवस्था गर्नुपर्छ ।
√ नियमन भए मात्र प्राविधिक मापदण्ड कागजमा मात्रै नभई व्यवहारमा उतार्न सकिन्छ।
अन्त्यमा, पानी बिना हाम्रो जीवन अकल्पनीय छ । तर यही पानी असुरक्षित सेप्टिक ट्याङ्क मार्फत प्रदूषित हुँदा जीवन नै समाप्त हुन सक्छ । त्यसैले प्राण धान्ने पानी हो भने प्राण समाप्त पार्ने पनि पानी नै हो भन्ने बुझ्न जरुरी छ ।
अब समय आएको छ, सेप्टिक ट्याङ्कलाई सुरक्षित बनाउने । भूमिगत पानीलाई बचाउने, अनि जीवनलाई सुरक्षित गर्ने।


310 पटक हेरिएको 

