
काठमाडौ : छठ पर्वको पूर्वसन्ध्यामा वीरगन्जस्थित सिर्सिया खोलाको प्रदूषण नघटेपछि स्थानीय बासिन्दा अत्यन्तै आक्रोशित भएका छन् । ब्रतालुको धार्मिक आस्थासँग खेलवाड हुने गरी पर्सा–बारा औद्योगिक करिडोरअन्तर्गतका उद्योगले खोलामा फोहोरजन्य पदार्थ मिसाइरहेकाले जनआक्रोश चुलिएको हो ।
सिर्सिया नदी तथा वीरगन्ज प्रदूषणमुक्त अभियानका सचिव वृजेश्वरप्रसाद चौधरीका अनुसार औद्योगिक करिडोरका उद्योगहरूले स्थानीय समुदायको धार्मिक भावनामा ठेस पुर्याउने गरी अटेरपूर्ण व्यवहार गरिरहेका छन् । उहाँले भन्नुभयो, “अघिल्ला वर्षमा छठ पर्व नजिकिँदै गर्दा ती उद्योगहरूले कम्तीमा साता दिन अघिदेखि नै आफ्नो फोहोर खोलामा नफाल्ने प्रथा अपनाउँथे, तर यस वर्ष त हदै भयो ।”
सामाजिक अभियन्ता प्रकाश थारुका अनुसार पर्सा र बाराका विभिन्न स्थानहरूमा डेढ दर्जनभन्दा बढी छठ घाटहरू निर्माण गरिने परम्परा रहँदै आएको छ । ती घाटहरूमा प्रत्येक वर्ष ठूलो संख्यामा ब्रतालु तथा श्रद्धालुहरूको उपस्थिती हुने गर्दछ । उहाँले भन्नुभयो, “ब्रतालुहरूले सिर्सिया खोलामै उभिएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने धार्मिक परम्परा छ । यस्तो पवित्र अवसरमा प्रदूषणका कारण ती श्रद्धालुहरूलाई सास्ती हुने अवस्था अत्यन्त दुःखद र अक्षम्य छ ।”
करिब तीन दशकयता अत्यधिक प्रदूषित बन्दै आएको सिर्सिया खोलामा हाल कालो र दुर्गन्धित पानी बग्ने गरेको छ । यस खोलाको पानी न त मानवीय प्रयोजनका लागि उपयुक्त छ, न त चौपायाका लागि, न त खेतीपातीका लागि प्रयोग गर्न मिल्ने स्थिति छ । पूजाआजा र दाहसंस्कारसमेत गर्न अप्ठ्यारो हुने गरी खोलाको स्वरूप बिग्रिसकेको स्थानीयले बताएका छन् । बाराको सिमरास्थित रामवन क्षेत्रबाट निस्किएको यो खोला करिब तीन किलोमिटर बगेपछि नै प्रदूषणग्रस्त बन्न थाल्छ, र वीरगन्ज पुग्दा त पानी पूर्णतः कालो र दुर्गन्धित भइसकेको हुन्छ ।
वीरगन्जस्थित रानीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष रन्जनकुमार सिंहका अनुसार लाखौँ श्रद्धालुको धार्मिक आस्थासँग खेलवाड हुनु अत्यन्त दुःखद विषय हो । उहाँले भन्नुभयो, “खोलाको प्रदूषणकै कारण यस वर्षको चैते छठमा हामीले नदी किनारमा दुई वटा कृत्रिम पोखरी निर्माण गरी ब्रतालुहरूलाई पूजापाठ गर्ने वैकल्पिक व्यवस्था मिलाउनुपर्यो ।”
स्थानिय सरोकारवाला, धार्मिक अगुवाहरू र नागरिक अभियन्ताहरूको बुझाइमा, वर्षेनि छठ पर्वको समयमा सिर्सिया खोलाको प्रदूषणबारे आवाज उठाइने भए पनि प्रशासन र स्थानीय सरकारले ठोस कदम चाल्न नसक्दा समस्या दोहोरिरहेकै छ । उहाँहरूको भनाइमा, जिम्मेवार उद्योगीमाथि कडा कानूनी कारबाही भएमा यो समस्या स्थायी रूपमा अन्त्य गर्न सकिन्छ ।
डेढ दशकअघि सिर्सिया खोलाको प्रदूषणको स्रोत पत्ता लगाउन गठित सिर्सिया नदी अनुगमन समितिले तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई बुझाएको प्रतिवेदनमा ४८ वटा प्रदूषण स्रोत पहिचान गरिएको थियो । तीमध्ये ४६ वटा पर्सा–बारा औद्योगिक करिडोरभित्रका उद्योग रहेका थिए, बाँकी दुईमा वीरगन्ज महानगरपालिकाले खोलामा फाल्ने फोहोर र शहरभित्रका अवैध मदिरा भठ्ठीहरूलाई उल्लेख गरिएको थियो ।
नेपाल र भारत दुवै देशका छठ पर्व मनाउने भक्तजनका लागि आस्थाको केन्द्र मानिने सिर्सिया खोलाको प्रदूषण अहिले सिमाना पार गरी भारतको रक्सौल र आसपासका बासिन्दालाई समेत प्रत्यक्ष असर पारिरहेको छ ।
यसरी धार्मिक, सामाजिक र पर्यावरणीय दृष्टिले अत्यन्त संवेदनशील सिर्सिया खोलाको संरक्षण अब स्थानीय मात्र होइन, सरकारी तहको प्राथमिक जिम्मेवारीका रूपमा लिनुपर्ने आवश्यकता झनै तीव्र बनेको छ ।


171 पटक हेरिएको 

