‘केटाको लाइनमा उभियो भने तँ उतातिर जा भनेर धकेल्थ्यो । कक्षा कोठामा केटाको सिटमा बस्यो भने तेरो डेक्स, बेन्च यो होइन भनेर हेप्थ्यो । केटीको सिटमा बस्यो भने केटीहरुले भन्ने शब्द पनि त्यही हुन्थ्यो।’ तेस्रो लिङ्गी भएर रजनी थकालीले प्राथमिक तह अध्ययनका क्रममा कत्तिसम्म विभेद भोगेका रहेछन् भन्ने कुरा उहाँको भोगाईबाट मनन् गर्न सकिन्छ ।
स्कुलमा आफ्नै सहपाठीहरुबाटै दुर्व्यवहार भोग्नु पर्दा धेरै जसो लैङ्गिक तथा यौनिक अल्पसंख्यक बालबालिका बीचैमा स्कुल छाड्न बाध्य हुने उहाँले बताउनुभयो । कोही उच्च शिक्षा हासिल गर्ने तहसम्म पुगेपनि त्यहाँ पनि फरक किसिमको दुव्र्यवहार भोग्नुपर्ने रजनीको अनुभव छ ।

स्कुल तहमा सहपाठीबाट हुने दुर्व्यवहार उच्च शिक्षा अध्ययनका क्रममा यौनजन्य हिंसामा परिणत हुने अर्का तेस्रो लिङ्गी किरण थापा बताउनुहुन्छ । ‘मलाई साथीहरुले चाहिं तँ त कस्तो केटी जस्तै है भनेर गाला चिमोट्दिने, गाला टोक्दिने, काखमा च्यापेर राख्ने गथ्र्यो’ थापा भन्नुहुन्छ ‘अहिले पो थाहा भयो ती त यौन हिंसा रहेछ भन्ने कुरा । मलाई याद छ, टिचरहरुले पनि तिमी त कत्ति मायालु है, तिमी त कस्तो लजालु है भनेर सुम्सुम्याउने, गाला चिमोट्दिने गर्नुहुन्थ्यो ।’ कतिपय टिचरहरुले त एकदम दुव्र्यवहार गरेको पनि उहाँको मानसपटलमा अझै ताजै छ ।
शैक्षिक संस्थामा आफ्नै सहपाठी तथा शिक्षकबाटै हिंसा खेप्नुपरेका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले सार्वजनिक जीवनमा पनि धेरै खाले विभेदको सामना गर्नुपरिरहेको उहाँहरुको भोगाइले बताउँछ । एक पटक सार्वजनिक शौचालय प्रयोग गर्ने क्रममा आफूले भोगेको दुर्व्यवहारको नालीबेली रजनीले सुनाउनुभयो । ‘त्यहाँ महिला र पुरुष दुवैको लाइन थियो । म चाहिं महिलाको लाइनमा बसें । मेरो अगाडि दुई तीन जना महिलाहरु पनि हुनुहन्थ्यो, मेरो पछाडि पनि महिलाहरु हुनुहुन्थ्यो । ठ्याक्कै मेरो पछाडि भएका एक जना महिलाले तपाई त यहाँ होइन नि, तपाईको उता हो भन्नुभयो । त्यत्तिबेला यो त मेरै हो भन्न पनि सकेन, म उता जान पनि सकेन ।’
यस्ता खाले दुर्व्यवहार उहाँले एक पटक मात्र नभई पटक पटक झेलिसकेको बताउनुभयो । यस्तो समस्या प्राय सार्वजनिक शौचालय, जहाँ धेरै भीडभाड हुने ठाउँमा भोग्नुपर्ने अर्का तेस्रो लिङ्गी किरण थापा बताउनुहुन्छ । ‘जहाँ चाहिं १०/१२ जना पुरुषहरु र उत्ति नै संख्यामा महिलाहरु जाने शौचालयहरु हुन्छन् । त्यस्तो ठाउँहरुमा एकदम धेरै गाह्रो हुन्छ । पुरुषकोमा जाउँ भने फिजीकल्ली गेटअपका कारणले पनि पुरुषसँगै शौचालयमा जान सम्भव हुँदैन ।

महिलाकोमा जाउँ भने शारीरिक बनावटले पनि साथ दिईरहेको हुँदैन । अनि कहाँ पुरुष पनि यता तिर आएको भनेर झन् अर्को विभेद खेप्नु पर्ने अवस्था छ ।’ कतिपय लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका कतिपय व्यक्तिहरु माथि शौचालय प्रयोग गर्ने बिषयमा नै कुटपिट भएको उहाँले बताउनुभयो ।
विद्यालय, सार्वजनिक स्थान, स्वास्थ्य संस्था कतै पनि समान व्यवहार नभएको उहाँहरुको अनुभव छ । अस्पतालमा लिइने टिकटमा नै महिला वा पुरुष मात्र हुने भएकाले आफूहरुको अभिलेख त्यहाँ नहुने रजनी थकालीको दाबी छ । अस्पतालमा उपचार पाए पनि कि पुरुषमा कि त महिलामा गणना हुने र यसले गर्दा नीति निर्माणमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका कुराहरु समावेश हुन नसकेको उहाँहरुको बुझाई छ ।
रजनी भन्नुहुन्छ ‘हामीले स्वास्थ्य सेवा लिए पनि हाम्रो डाटा देखेन । डाटा नदेखेपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई के कस्ता स्वास्थ्य समस्या हुने रहेछ भन्ने कुरा तथ्याङ्कमा देखिएन ।’
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले स्वास्थ्य सेवा लिएको बारे तथ्याङ्क नै नदेखेपछि सरकारले स्वास्थ्य क्षेत्रको नीति निर्माण गर्दा जहिले पनि आफूहरु छुटेको उहाँको भनाइ छ । ‘खाली महिला पुरुषको समस्या यो छ भनेर देखियो, त्यही अनुसारको नीति र कानुन बन्ने भयो’ रजनी भन्नुहुन्छ ‘त्यही अनुसार उहाँहरुको निशुल्क उपचार हुने भयो । तर हाम्रो डाटा नदेख्दा राज्यको सेवा सुविधाबाट पनि हामी बञ्चित भयौं ।’
रोजगारको क्षेत्रमा अझ धेरै समस्या रहेको उहाँहरुको भोगाई छ । प्राथमिक तहमै हुने विभेद र हेपाईका कारण विद्यालय शिक्षा नै पूरा गर्न नसकेका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरु जागिरका लागि पनि योग्य नहुने र कोही जागीर खाने योग्यता प्राप्त भए पनि नागरिकता लगायत विभिन्न समस्या देखाउँदै रोजगार नदिने गरेको लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि आवाज उठाउँदै आउनु भएका रजनीले बताउनुभयो । उहाँ नौलो बिहानी नामक संस्थाका संयोजक हुनुहुन्छ ।
रजनी भन्नुहुन्छ ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक बिषयमा विद्यालय शिक्षामै पठनपाठन गराउने हो भने मात्र हामी प्रतिको सामाजिक दृष्टिकोणलाई परिवर्तन गराउन सकिन्छ ।’
शैक्षिक संस्थामै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको बिषयमा पठनपाठन हुनुपर्ने उहाँको माग छ । ‘यो बिषयमा सम्पूर्ण शिक्षकहरु र विद्यार्थीहरुलाई पनि तालिम दिनुपर्छ । उहाँहरुले बुझेपछि बल्ल हाम्रा समुदायका साथीहरुलें सहज तरिकाले शिक्षाको अधिकार प्राप्त गर्न सक्छौं । किनकि हरेक ज्ञानको ज्योति विद्यालयबाट सुरुवात हुन्छ ।’
आफ्नो समुदायको हक अधिकारको बिषयमा कुरा उठाउँदै आएको १०/१२ बर्षभन्दा पनि बढी भैसकेको र केही सुधारका संकेतहरु देखिए पनि त्यो पूर्ण नरहेको उहाँले बताउनुभयो । ‘हामीले राष्ट्रिय लेबलमा, हरेक राजनीतिक दलसँग र स्थानीय तथा प्रदेश तहमा पनि विभिन्न कार्यक्रमहरु राखेर सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएका छौं, आशातित परिणाम नदेखिए पनि केही परिवर्तन अवश्य पनि भएको छ’ उहाँले भन्नुभयो ।
यी बाहेक नागरिकताको समस्या, प्रमाणपत्रको समस्या, आत्म सम्मानको समस्या, समाजमा पहिचान खुलाउने समस्या र अभिभावकले इच्छा विपरीत बलजफ्ती विवाह गरिदिने लगायत समस्याहरुसँग पनि यो समुदायका व्यक्तिहरुले जुध्दै आएका छन् ।
समाजमा महिला र पुरुष जस्तै तेस्रो लिङ्गको पनि अस्तित्व छ । उनीहरु पनि यही राष्ट्रका नागरिक हुन् र हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक हक छ भन्ने कुराको व्यापक सचेतना फैलाउन आवश्यक छ ।


256 पटक हेरिएको 

