मुख्यमन्त्री कँडेल र नगरप्रमुख ढकालद्वारा भेरी पम्पिङ आयोजनाको संयुक्त अनुगमन

  वास खबर सम्बाददाता  253 पटक हेरिएको

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको खानेपानी समस्या समाधान गर्न निर्माणाधीन भेरी पम्पिङ आयोजनाको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले संयुक्त रूपमा अनुगमन गर्नु भएको छ ।

त्यस क्रममा भेरी पम्पिङ आयोजनाको प्रगति विवरणबारे मुख्यमन्त्री कँडेल र नगरप्रमुख ढकालले जानकारी लिनुभयो। मुख्यमन्त्री कँडेलले आयोजना  लक्ष्य अनुसार तोकिएको समयमै सम्पन्न हुने गरी काम गर्न निर्देशन दिनुभयो।

यो आयोजना तीनै तहका सरकारको संयुक्त लागतमा निर्माण भइरहेको छ । आयोजनामा संघीय सरकारको ८० प्रतिशत, प्रदेश सरकारको १३ प्रतिशत र नगरपालिकाको ७ प्रतिशत लगानी छ । आयोजनाको निर्माण चिनियाँ कम्पनी सिंज्याङ टम्स् इन्टरनेशनल इकोनोमी एण्ड टेक्निकल को–अपरेसनले गत वर्षदेखि गरिरहेको छ ।

आयोजनाका कन्सल्टेन्ट प्रमुख रमेश अधिकारीका अनुसार, अहिलेसम्म आयोजनाको भौतिक प्रगति करिब १४ प्रतिशत रहेको छ । पहिलो प्याकेज अन्तर्गत ३ अर्ब ५ करोड ८ लाख १५ हजार २८०।६१ रुपैयाँ लागतमा काम भइरहेको आयोजना अन्तर्गत यतिबेला नदीदेखि ७ किलोमिटर दुरीमा रहेको वीरेन्द्रनगर नगरपालिका–११ को अमृतडाँडामा मुख्य रिजर्भ ट्याङ्की निर्माणको काम भइरहेको छ । त्यहाँ तीनवटा ठुला ट्याङ्कीहरू बन्दैछन् । साथै पहिलो प्याकेजको पाइप बिछ्याउने काम १६ किलोमिटर सकिएको कन्सल्टेन्ट प्रमुख अधिकारीले जानकारी गराउनुभयो।

बजार क्षेत्रमा ३५ किलोमिटर पाइप बिछ्याइनेछ । यही लक्ष्यका साथ काम भए समयसीमामै आयोजना सम्पन्न हुनेछ । आयोजना सन् २०२७ मा सम्पन्न गर्ने समयसीमा छ । सन् २०५० सम्म वीरेन्द्रनगरमा वृद्धि हुनसक्ने जनसंख्यालाई मध्यनजर गरेर अघि बढेको आयोजना अन्तर्गत पहिलो चरणको काम भइरहेको हो । आयोजना अन्तर्गत भेरी नदीको पानी पम्पिङ प्रविधिबाट राजधानी वीरेन्द्रनगरमा ल्याइनेछ ।

यो आयोजना कार्यान्वयनका लागि खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत वीरेन्द्रनगर आयोजना कार्यान्वयन इकाईको कार्यालय नै स्थापना गरिएको छ ।

अनुगमन पश्चात् मुख्यमन्त्री यामलाल कँडेलले भन्नुभयो, ‘विगतमा निर्माण प्रक्रियाका कतिपय चरणहरू पूरा नगरी कार्यान्वयनमा जाँदा केही अलमल देखिएको थियो । अहिले प्रभावकारी रूपमा काम भइरहेको पाइयो ।’ उहाँले भनेजस्तै आयोजनाको चर्चा ७० को दशकको सुरुवातदेखि नै चलेको थियो । तर, विभिन्न कारणले अघि बढ्न सकेन । गत वर्षदेखि मात्रै औपचारिक रूपमा कार्यान्वयनमा गएको हो ।

‘छिटो योजना आओस् भन्ने चाहना र मनोविज्ञानका कारण विगतमा केही समस्या भए पनि अब प्रदेश सरकार र नगरपालिकाबीच कुनै अन्योल छैन,’ कँडेलले भन्नुभयो, ‘बजेटकै कारण आयोजना प्रभावित हुने अवस्था पनि छैन ।’ कँडेलले ठेकेदार कम्पनीलाई अहिले जुन गतिमा काम भइरहेको छ, सोही अनुसार निरन्तरता दिन निर्देशन दिनुभयो । कँडेलका बुझाइमा यो आयोजना वीरेन्द्रनगरबासीका लागि मात्र नभई सिङ्गो प्रदेश राजधानीको गौरव र भरोसाको आयोजना हो ।

नगरप्रमुख मोहनमाया ढकालले भेरी पम्पिङ खानेपानी आयोजना वीरेन्द्रनगरको नगर गौरवको आयोजना मात्र नभएर प्रदेशले नै गौरव गर्ने आयोजना भएको बताउनुभयो । उहाँका अनुसार, संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको साझा लगानीमा र नगरपालिकाको नेतृत्वमा भएको यो आयोजना बजेटको हिसाबले पनि ७५३ पालिकामै सबैभन्दा ठूलो हो ।

‘पम्पिङ प्रविधिबाट नेपालमै पहिलो परियोजना र वीरेन्द्रनगरबासीलाई सन् २०५० सम्म खानेपानी पुग्ने अनुमान सहित सुरु गरिएको योजना हो यो,’ उहाँले भन्नुभयो, ‘यसमा सबै अग्रसर भएर लाग्नुभएको छ । जंगल क्षेत्रको रुख कटानको समस्या समाधान भइसक्यो ।’ त्यो सबैको सहयोगका कारण मात्रै सम्भव भएको उहाँ बताउनुहुन्छ। उहाँले थप्नुभयो ‘जुन गतिमा अहिले काम भइरहेको छ, यही गतिमा एकमत भएर अगाडि बढ्न सक्यौँ भने निर्धारित समयमै यो काम सम्पन्न हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

उहाँका अनुसार, दोस्रो प्याकेजको कामका लागि पनि टेन्डर खुलिसकेको छ । पहिलो प्याकेजको काम निर्धारित समयमा सम्पन्न भइसकेपछि दोस्रो चरणमा आम नागरिकको घरघरमा वितरण प्रणालीको काम अघि बढ्ने उहाँले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार