
नेपालमा आउँदो फागुन २१ गते संघीय संसदको निर्वाचन हुँदैछ। लोकतन्त्रको यो महत्त्वपूर्ण पर्व नजिकिँदै गर्दा हरेक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरू अहिले नागरिकको घरदैलोमा पुगेर भोट मागिरहेका छन्।
कसैले विकासका सपना बाँडिरहेका छन्, कसैले विगतका उपलब्धि सुनाइरहेका छन्, कसैले भावनात्मक अपिल गरिरहेका छन्। तर, मतदाता नागरिकको हैसियतले हामीले एउटा गम्भीर प्रश्न आफैँसँग पनि सोध्नैपर्छ, के हामीले रोज्न खोजिरहेका नेताहरूले हाम्रो दैनिकीसँग जोडिएका आधारभूत सवाललाई साँच्चै बुझेका छन् ?
खानेपानी र सरसफाइ कुनै हेपिएको क्षेत्र हुनुहुँदैन । यो स्वास्थ्यसँग जोडिएको छ, गरिबी, शिक्षा, महिला, बालबालिका, वातावरण सबैसँग जोडिएको छ। यो विकासको मेरुदण्ड हो।
ती आधारभूत सवालमध्ये सबैभन्दा महत्वपूर्ण विषय हो, खानेपानी र सरसफाइ।
संविधानले स्वच्छ खानेपानी र सरसफाइलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको धेरै वर्ष भइसक्यो। तर, व्यवहारमा हेर्दा आज पनि देशका धेरै बस्तीमा सुरक्षित खानेपानी पहुँचभन्दा टाढाको कुरा बनेको छ। कतै धाराबाट पानी आउँदैन, कतै आएको पानी पिउन योग्य हुँदैन, कतै सुक्खायाममा हप्तौँ पानीको हाहाकार हुन्छ।
हामीले उम्मेदवारसँग सोध्नैपर्ने पहिलो प्रश्न यही हो, तपाईं निर्वाचित भएपछि मेरो बस्तीमा सुरक्षित, नियमित र गुणस्तरीय खानेपानी कसरी सुनिश्चित गर्नुहुन्छ ?
खानेपानी भनेको पाइप बिछ्याउने र धारा बनाउने काम मात्र होइन। यसको स्रोत संरक्षण, पानीको गुणस्तर परीक्षण, वितरण प्रणालीको मर्मत सम्भार, र दिगोपनाको सुनिश्चितता गर्नु हो। के उम्मेदवारसँग यसको स्पष्ट योजना छ ? कि हरेक चुनावमा जस्तै खानेपानी ल्याइदिन्छु भन्ने उही पुरानो आश्वासन मात्रै दोहोर्याईदैछ ?
यस्तै नेपाल २०७६ असोजमै खुला दिसामुक्त राष्ट्र घोषणा भैसकेको देश हो । यसको अर्थ हाम्रो सरसफाइ समस्या समाधान भइसकेको हो ? बिल्कुल होइन। धेरै ठाउँमा शौचालय त छन्, तर फोहोर पानी, सेप्टिक ट्यांकी, ढल व्यवस्थापन, फोहोरमैला व्यवस्थापन जस्ता विषय झन् जटिल बन्दै गएका छन्।
त्यसैले उम्मेदवारसँग हामीले सोध्नुपर्ने अर्को प्रश्न हो, तपाईंको क्षेत्रको फोहोरमैला, ढल र सेप्टिक फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजना के हो ?
आज शहरहरूमा ढल सिधै खोलामा मिसिएको छ, गाउँहरूमा सेप्टिक ट्यांकी भरिएपछि के गर्ने भन्ने अन्योल छ। यसले खानेपानीका स्रोत नै प्रदूषित गरिरहेको छ। के हाम्रा उम्मेदवारहरूले शौचालय र खानेपानीको सम्बन्ध बुझिरहेका छन् ?
यस पटकको चुनावमा हामीले अनुहार होइन, सोच रोज्नुपर्छ। नारा होइन, योजना खोज्नुपर्छ।
चुनावका बेला धेरै कुरा सजिलै भन्न सकिन्छ। तर, असली प्रश्न बजेट र प्राथमिकतामा हुन्छ । हामीले उम्मेदवारसँग सोध्नैपर्छ, तपाईं निर्वाचित भएपछि खानेपानी र सरसफाइ क्षेत्रलाई कति प्राथमिकता दिनुहुन्छ ? यसको लागि पर्याप्त बजेट सुनिश्चित गर्न संसदमा तपाईंको भूमिका के हुनेछ ?
अझ महत्त्वपूर्ण प्रश्न, तपाईंले गरेका वाचा पूरा भए वा नभएको कुरा हामीले कसरी निगरानी गर्ने ? तपाईं हामीप्रति कसरी जवाफदेही बन्नुहुन्छ ?
आज जलवायु परिवर्तनले पानीका मुहान सुक्दै गएका छन्, वर्षाको ढाँचा फेरिँदै गएको छ, बाढी–पहिरोले खानेपानीका संरचना बारम्बार बगाइरहेको छ। यो अवस्थामा खानेपानी र सरसफाइलाई अब “सामान्य पूर्वाधार” भनेर मात्र हेर्न मिल्दैन। त्यसैले सोध्नै पर्ने अर्को प्रश्न जलवायु परिवर्तनको असरलाई ध्यानमा राखेर तपाईंको खानेपानी तथा सरसफाइ क्षेत्रको योजना के हो ?
उम्मेदवारहरू आज भोट माग्न आउँछन्। हात जोड्छन्, मुस्कुराउँछन्, वाचा गर्छन्। तर, भोलि चुनाव जितेपछि कतिजना फेरि हाम्रो टोल, हाम्रो धाराको समस्या, हाम्रो ढलको दुर्गन्ध सम्झिन्छन् ? त्यसैले यो चुनावमा नागरिकको हैसियतले हामीले एउटा शक्तिशाली काम गर्न सक्छौँ ।
घोषणापत्रको एक पानामा लेखिएको “खानेपानी र सरसफाइ” भन्ने वाक्य होइन, त्यसलाई व्यवहारमा उतार्ने प्रतिबद्धता खोज्नुपर्छ।
खानेपानी र सरसफाइबारे स्पष्ट दृष्टिकोण, योजना र प्रतिबद्धता नभएका उम्मेदवारलाई प्रश्न सोध्ने।
किनकि खानेपानी र सरसफाइ कुनै हेपिएको क्षेत्र हुनुहुँदैन । यो स्वास्थ्यसँग जोडिएको छ, गरिबी, शिक्षा, महिला, बालबालिका, वातावरण सबैसँग जोडिएको छ। यो विकासको मेरुदण्ड हो।
त्यसैले यस पटकको चुनावमा हामीले अनुहार होइन, खानेपानी र सरसफाइ क्षेत्रको विकास र प्रबर्धनको खाका रोज्नुपर्छ। नारा होइन, योजना खोज्नुपर्छ। र घोषणापत्रको एक पानामा लेखिएको “खानेपानी र सरसफाइ” भन्ने वाक्य होइन, त्यसलाई व्यवहारमा उतार्ने प्रतिबद्धता खोज्नुपर्छ।
किनकि सुरक्षित खानेपानी र सरसफाइ बिना न त स्वस्थ नागरिक हुन्छ, न त समृद्ध नेपाल।
Photo : Unicef Nepal.


266 पटक हेरिएको 

