
काठमाडौ : नेपालमा सरसफाइ व्यवस्थापनको सन्दर्भमा सेप्टिक ट्याङ्क र ढलबाट निस्किने मानव मलमूत्रको सुरक्षित व्यवस्थापन अझै पनि धेरै स्थानमा चुनौतीको विषय बनेको छ।
औपचारिक मानव मलमूत्र प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) स्थापना गर्न उच्च लागत, पर्याप्त जमिन र प्राविधिक व्यवस्थापन आवश्यक पर्ने भएकाले धेरै स्थानीय तहले तत्काल यस्तो संरचना निर्माण गर्न सकेका छैनन्। यही अवस्थालाई मध्यनजर गर्दै केही स्थानमा ट्रेन्च प्रणालीलाई अस्थायी तथा व्यवहारिक विकल्पका रूपमा प्रयोग गर्ने अभ्यास देखिएको छ।
नेपालका केही नगरपालिका तथा गाउँपालिकाहरूमा सरसफाइ सेवा प्रदायकले सेप्टिक ट्याङ्कबाट संकलन गरिएको फेकल स्लजलाई निश्चित स्थानमा बनाइएको लामो खाल्डो अर्थात् ट्रेन्चमा फाल्ने र त्यसलाई माटोले छोपेर प्राकृतिक रूपमा विघटन हुन दिने अभ्यास अपनाएका छन्।
यस्तो प्रणाली कार्यान्वयन गर्दा प्रायः स्थानीय तहको समन्वयमा विभिन्न विकास साझेदार संस्थाहरूले प्राविधिक सहयोग प्रदान गरेका उदाहरण पनि छन्। यसले तत्कालका लागि अनियन्त्रित रूपमा खोल्सा, नदी वा खुला जमिनमा फोहोर फाल्ने अभ्यासलाई कम गर्न सहयोग पुगेको मानिन्छ।
ट्रेन्च प्रणाली के हो ?
सरसफाइ व्यवस्थापनको सन्दर्भमा ट्रेन्च प्रणाली भनेको दिसाजन्य लेदो (सेप्टिक ट्याङ्क वा शौचालयबाट निस्किने मलजन्य फोहोर) लाई अस्थायी रूपमा सुरक्षित तरिकाले व्यवस्थापन गर्न प्रयोग गरिने सरल विधि हो। यस प्रणालीमा जमिनमा निश्चित लम्बाइ, चौडाइ र गहिराइ भएको खाडल खनिन्छ।
सेप्टिक ट्याङ्क वा ढल सफा गर्दा संकलन गरिएको मानव मलमूत्रलाई त्यही ट्रेन्चभित्र हालिन्छ। त्यसपछि उक्त फोहोरलाई माटोले छोपिन्छ, जसले गर्दा दुर्गन्ध कम हुन्छ र खुला रूपमा फोहोर फैलिने जोखिम घट्छ। समयसँगै माटो, घाम, हावा र सूक्ष्म जीवहरूको प्राकृतिक प्रक्रियाबाट त्यो मलमूत्र बिस्तारै विघटन हुँदै जान्छ।
ट्रेन्च प्रणाली विशेष गरी त्यस्ता स्थानमा प्रयोग गरिन्छ जहाँ मानव मलमूत्र व्यवस्थापनका लागि औपचारिक प्रशोधन केन्द्र उपलब्ध छैन। धेरै साना सहर तथा ग्रामीण क्षेत्रमा सेप्टिक ट्याङ्क सफा गरेपछि संकलित फोहोर कहाँ लैजाने भन्ने समस्या देखिने गर्छ। यदि त्यस्तो फोहोरलाई नदी, खोल्सा वा खुला जमिनमा फालियो भने वातावरणीय प्रदूषण र जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। त्यसैले यस्तो अनियन्त्रित फोहोर फाल्ने अभ्यासलाई रोक्न ट्रेन्च प्रणालीलाई अस्थायी व्यवस्थापन उपायका रूपमा अपनाइने गरिएको छ।
यस प्रणालीको अर्को महत्वपूर्ण पक्ष भनेको यसको कम लागत र सरल संरचना हो। औपचारिक फेकल स्लज ट्रीटमेन्ट प्लान्ट निर्माण गर्न ठूलो बजेट, पर्याप्त जमिन, प्राविधिक जनशक्ति तथा सञ्चालन–व्यवस्थापन क्षमता आवश्यक पर्छ।
तर ट्रेन्च प्रणाली निर्माण गर्न त्यति धेरै लगानी वा जटिल प्रविधि आवश्यक पर्दैन। स्थानीय तह वा सरसफाइ सेवा प्रदायकले सामान्य प्राविधिक मार्गदर्शनका आधारमा नै यस्तो संरचना निर्माण गर्न सक्छन्। यही कारणले गर्दा सीमित स्रोत भएका नगरपालिका तथा गाउँपालिकाहरूका लागि यो अपेक्षाकृत सजिलो विकल्प मानिन्छ।
ग्रामीण क्षेत्र वा साना सहरहरूमा, जहाँ सेप्टिक ट्याङ्कबाट निस्किने मलमूत्रको मात्रा धेरै हुँदैन, त्यहाँ ट्रेन्च प्रणालीले केही समयसम्म व्यवस्थापन गर्न सहयोग पुर्याउन सक्छ। यसले फोहोरलाई एउटै व्यवस्थापन स्थलमा राख्ने व्यवस्था मिलाउँछ र वातावरणमा सिधै फाल्ने अभ्यासलाई नियन्त्रण गर्न मद्दत गर्छ।
यद्यपि, ट्रेन्च प्रणालीलाई दीर्घकालीन समाधानका रूपमा भने लिन सकिँदैन। सुरक्षित र दिगो सरसफाइ व्यवस्थापनका लागि अन्ततः व्यवस्थित मानव मलमूत्र प्रशोधन केन्द्र वा अन्य उपयुक्त प्रशोधन प्रणाली विकास गर्नु आवश्यक हुन्छ।


215 पटक हेरिएको 

