गधाको जस्तै जुनी थियो, खानेपानी आएपछि बल्ल बदलियो

  वास खबर सम्बाददाता  177 पटक हेरिएको

सिरहा : गोलबजार नगरपालिकाको केन्द्रबाट करिब साढे आठ किलोमिटर उत्तरमा पर्ने गोलामुक्सर गाउँ, आज हेर्दा शान्त, हरियाली र सम्भावनाले भरिएको देखिन्छ। तर केही वर्षअघिसम्म यही गाउँको जीवन गधाको जस्तै जुनीझैं थियो—दैनिक दुःख, अभाव र संघर्षले भरिएको।

स्थानीय जानकी थापा त्यो समय सम्झिँदै भन्नुहुन्छ, “बिहान उज्यालो नहुँदै पानीको खोजीमा निस्कनुपर्थ्यो। घण्टौं हिँड्दा पनि पालो नआउने, कहिलेकाहीँ खाली हात फर्किनुपर्थ्यो।” गाउँमा ‘जरुवा’ र अस्थायी कुवामा निर्भर हुनुपर्ने बाध्यता थियो। जमिन खनेर निकालिएको पानी नै पिउनुपर्ने अवस्था थियो, जुन न पर्याप्त थियो, न सुरक्षित।

त्यो समय पानी ल्याउनु मात्र काम थिएन, त्यो जीवनकै सबैभन्दा ठूलो संघर्ष थियो। महिलाहरूको दिन पानी बोक्नमै बित्थ्यो। समयमै खाना बन्ने अवस्था थिएन, बालबालिकाहरू ढिलो विद्यालय पुग्थे, खेतीपाती गर्न पनि सहज थिएन।

स्थानीय दीपा लामा भन्छिन्, “त्यो बेला जीवन साँच्चै गाह्रो थियो। कहिलेकाहीँ त लाग्थ्यो, के हाम्रो जीवनमा खानेपानीको लागि सहजताको दिन कहिल्यै आउँदैन ?”

खानेपानी अभावकै कारण कतिपयले गाउँ नै छाडे। गाउँमा बस्नेहरूका लागि जीवन धान्नु नै चुनौती थियो। गुलामुक्सर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गगन थापा मगरका अनुसार, “पानीकै कारण मानिसहरू विस्थापित हुन थालेका थिए। गाउँ सुनसान बन्दै गएको थियो।”

समस्या समाधानका लागि स्थानीय तहले पनि प्रयास गरे। वडा नं. ३ का अध्यक्ष धनप्रसाद लामाले चुनाव जित्दा खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो। तर तीन सय फिटसम्म बोरिङ गर्दा पनि पानी ननिस्किँदा आशा बारम्बार टुट्दै गयो।

त्यतिबेला गोलामुक्सरका बासिन्दाका लागि भविष्य अन्धकारजस्तै थियो।

तर परिवर्तन कहिलेकाहीँ अप्रत्याशित रूपमा आउँछ।

गाउँको यही कठिन घडीमा Welt Hunger Hilfe (WHH) र सबल नेपाल सहयोगी हातहरु फैलाउन आईपुग्यो।  उनीहरूले नयाँ स्रोत खोज्ने होइन, पुरानै स्रोतलाई व्यवस्थित गर्ने उपाय अपनाए। मोटर जडान गरियो, पाइपलाइन विस्तार गरियो, र १०/१० हजार लिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण गरियो।

त्यसपछि सुरु भयो, गोलामुक्सरको नयाँ अध्याय।

आज त्यही गाउँमा ६० घरधुरीमा चौबीसै घण्टा धारा बगिरहेको छ। जहाँ पहिले पानीको एक थोपा पाउन घण्टौं संघर्ष गर्नुपर्थ्यो, आज घर-आँगनमै सहज रूपमा पानी उपलब्ध छ।

दीपा लामा अहिलेको अवस्था सम्झिँदै मुस्कुराउँदै भन्नुहुन्छ, “अहिले पानी घरमै आउँछ, सपनाजस्तै लाग्छ। पहिलेको दुःख सम्झँदा अहिलेको सहजता झन् मूल्यवान् लाग्छ।”

जानकी थापाका लागि पनि जीवन पूर्ण रूपमा बदलिएको छ। “अहिले बिहानै उठेर पानीको चिन्ता गर्नु पर्दैन। समयमै खाना बन्छ, बच्चाहरू पनि समयमै विद्यालय जान्छन्,” उहाँ भन्नुहुन्छ।

पानी आएपछि केवल तिर्खा मात्र मेटिएको छैन, जीवनशैली नै परिवर्तन भएको छ। गाउँमा हरियाली बढेको छ। घरछेउमै तरकारी खेती सुरु भएको छ, प्याज, लसुन, आलु, रायोको साग, चम्सुर। यसले पोषण मात्र होइन, आत्मनिर्भरता पनि बढाएको छ।

अझ रोचक कुरा के छ भने, पहिले गाउँ छाडेर गएकाहरू पनि फर्किन थालेका छन्। प्रेम गगन थापा मगरका अनुसार, “जो कहिल्यै नफर्किने भन्दै गएका थिए, उनीहरू अहिले घर बनाउन थालेका छन्। खानेपानीले गाउँमा जीवन मात्र होइन, भविष्य पनि फर्काएको छ।”

यो परिवर्तनलाई दीगो बनाउन समावेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरिएको छ। समितिले आफ्नै विधान अनुसार काम गर्दै आएको छ, नयाँ धारा जडानदेखि मर्मत, महसुल संकलनदेखि व्यवस्थापनसम्म सबै प्रक्रिया व्यवस्थित छन्। प्रत्येक घरधुरीले न्यूनतम शुल्क तिरेर प्रणाली सञ्चालनमा योगदान गरिरहेका छन्।

आज गोलामुक्सर एउटा उदाहरण बनेको छ, जहाँ समस्या स्रोतको अभाव थिएन, व्यवस्थापनको कमी थियो।

एक समय गधाको जस्तै जुनी बिताइरहेको यो गाउँ, आज सम्मानजनक जीवनतर्फ उभिएको छ। र यो परिवर्तनले स्पष्ट सन्देश दिन्छ, सही योजना, सहकार्य र समुदायको सहभागिता भए, जीवन बदलिन समय लाग्दैन।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार