खानेपानी तथा सरसफाइ क्षेत्रमा महिला नेतृत्व: आवश्यकता र सम्भावना

  सिर्जना शाक्य  250 पटक हेरिएको

‘पहिले घरबाट बाहिर निस्कने वातावरण नै थिएन,’ ललितपुरको लुभु–८ की सरु श्रेष्ठ भन्छिन्, “तर सामाजिक रूपमा सक्रिय हुने मेरो चाहनालाई नमारी अगाडी बढ्दै गएपछि अहिले म खानेपानी उपभोक्ता संस्थाको उपाध्यक्षको पदसम्म पुगेकी छु।’ श्रेष्ठका अनुसार उनीसहितको टिमले लुभुको तल्लो दोभान क्षेत्रमा करिब २ हजार ६५ जनालाई खानेपानी सेवा उपलब्ध गराउँदै आएको छ।

संस्थामा उनले निर्वाह गरेको भूमिका पदमा मात्र सीमित छैन, नेतृत्व सही अभ्यास महिलालाई उत्प्रेरणा दिने प्रकारको छ। खुला प्रतिस्पर्धाबाट निर्वाचित उनी आज अध्यक्षसरह सक्रिय रहँदै योजना निर्माणदेखि कार्यान्वयनसम्म संलग्न छिन्।

नेपालको संविधान र स्थानीय तहसम्बन्धी नीति  तथा कागजातहरूले लैङ्गिक समानता र समावेशी सहभागितालाई सुनिश्चित गर्ने व्यवस्था गरेका छन्। खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिएको छ।

खानेपानी उपभोक्ता समितिहरूमा महिलाको सहभागिता औसतमा ३० देखि ४० प्रतिशतसम्म पुगेको देखिन्छ। तर नेतृत्व तहमा भने उनीहरूको उपस्थिति अझै सीमित छ। कतिपय स्थानीय तहले अध्यक्ष, सचिव वा कोषाध्यक्षमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था पनि गरेका छन्।

केही अध्ययनहरूमा महिला प्रतिनिधित्व करिब एक तिहाइसम्म देखिए पनि, समग्र राष्ट्रिय सन्दर्भमा निर्णयात्मक भूमिकामा महिलाको सहभागिता अझै न्यून रहेको छ।

नेपालको खानेपानी तथा सरसफाइ (वास) क्षेत्रमा महिलाहरूको भूमिका महत्वपूर्ण रहँदै आएको छ। घरायसी स्तरमा पानीको उपयोग, सरसफाइको अभ्यास र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका कामहरूमा महिलाहरू अग्रपंक्तिमा रहन्छन्। तर, यिनै महिलाहरू निर्णय प्रक्रियाको नेतृत्व तहमा भने लामो समयसम्म पछाडि परेका थिए। पछिल्ला वर्षहरूमा नीति तथा कानुनी व्यवस्थाले महिला सहभागितालाई सुनिश्चित गर्ने प्रयास गरे पनि व्यवहारिक रूपमा नेतृत्व तहमा उनीहरूको उपस्थिति अझै सीमित देखिन्छ।

यस्तो अवस्थामा सरु श्रेष्ठजस्ता उदाहरणहरूले महिला नेतृत्वको सम्भावना र प्रभावलाई स्पष्ट पार्छन्। उनले आफ्नो संस्थामा पारदर्शिता, जवाफदेहिता र समुदायसँगको प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेकी छन्। उपभोक्तासँग नजिक रहेर काम गर्ने, समस्यालाई तत्काल पहिचान गर्ने र समाधानतर्फ अग्रसर हुने अभ्यासले संस्थागत सुशासनलाई मजबुत बनाएको छ। उनका अनुसार, ‘मुहानदेखि मुखसम्म स्वच्छ खानेपानी पुर्‍याउने’ लक्ष्य प्राविधिक कुरा मात्रै नभएर व्यवस्थापन र उत्तरदायित्वको विषय पनि हो।

खानेपानी क्षेत्रमा महिला नेतृत्व किन आवश्यक छ भन्ने प्रश्नको उत्तर यिनै अनुभवहरूमा भेटिन्छ। महिलाहरू पानीको प्रयोग, बचत र सरसफाइसँग प्रत्यक्ष रूपमा जोडिएका हुने भएकाले उनीहरूको अनुभव निर्णय प्रक्रियामा समेटिँदा सेवा अझ व्यवहारिक र प्रभावकारी बन्छ। विभिन्न अध्ययनहरूले पनि महिला नेतृत्व भएका उपभोक्ता समितिहरूमा सेवा वितरण, सरसफाइ अभ्यास र कोष व्यवस्थापनमा सकारात्मक सुधार देखिएको उल्लेख गरेका छन्।

तर पनि महिलाहरू नेतृत्वमा आउन विभिन्न चुनौतीहरू छन्। सामाजिक मान्यताले महिलाहरूको सार्वजनिक सहभागितालाई सीमित बनाउने चुनौती प्रमुख हो। घरायसी जिम्मेवारी, समय अभाव, प्राविधिक सीपको कमी तथा आत्मविश्वासको अभाव जस्ता कारणहरूले पनि महिलाहरू नेतृत्वमा आउन कठिनाइ अनुभव गर्छन्। सरु श्रेष्ठकै अनुभवले देखाउँछ कि परिवार र समुदायको समर्थन बिना महिला नेतृत्व सहज हुँदैन। परिवारबाट राम्रो समर्थन पाएमा मात्र महिलाहरूले प्रभावकारी नेतृत्व दिन सक्ने सम्भावना देखिन्छ।

संस्थागत रूपमा पनि केही कमजोरीहरू देखिन्छन्। धेरै उपभोक्ता समितिहरूमा महिला प्रतिनिधित्व भए पनि उनीहरूलाई निर्णय प्रक्रियामा पूर्ण रूपमा सहभागी गराउने अभ्यास अझै सुदृढ हुन बाँकी छ। उनीहरूको अधिकारमा अध्यक्ष पदका पुरूषले हस्तक्षेप गरेको कुरा समीतिका महिला प्रतिनिधि नै बताउँछन्। यस्ता संस्थागत कमजोरी हटाउनका लागि महिलाहरूलाई क्षमता विकास, तालिम, नेतृत्व अभिवृद्धि कार्यक्रम तथा समावेशी वातावरण निर्माण अत्यावश्यक छ।

महिला नेतृत्वको प्रवर्द्धन सहभागिताको विषय मात्र होइन, यो सुशासनसँग पनि जोडिएको छ। पारदर्शिता, उत्तरदायित्व र समुदायसँगको नजिकको सम्बन्धले सेवा प्रवाहलाई प्रभावकारी बनाउँछ। सरु श्रेष्ठले अपनाएको यही अभ्यासबाट महिला नेतृत्वले संस्थालाई अझ बलियो, विश्वसनीय र समुदायसँग जोडिएको उत्तरदायी संरचना सघाउँछ।

यसर्थ, खानेपानी तथा सरसफाइ क्षेत्रमा महिला नेतृत्वको विकास दिगो र समावेशी सेवा प्रवाहका लागि अपरिहार्य देखिन्छ। नीति, कार्यक्रम र व्यवहारबीचको अन्तर घटाउँदै महिलालाई नेतृत्वमा सशक्त बनाउने प्रयासहरूलाई अझ व्यापक बनाउनु आवश्यक छ। परिवार र समितीका पुरूष प्रतिनिधिले अवसर र समर्थन दिँदा महिलाहरूले परिवर्तनको नेतृत्व पनि गर्न सक्छन्। यो कुरा सरु श्रेष्ठजस्ता उदाहरणहरूले देखाउँछन्।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार