
काठमाडौं : सरकारले खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी राष्ट्रिय अभियानात्मक कार्यक्रम (National Flagship Programme) सञ्चालनको लागि रूपरेखा तयार गर्ने प्रक्रियाको सुरुवात गरेको छ । खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाइ क्षेत्रको दिगो विकासलाई लक्षित गर्दै पाँच बर्षे अभियानात्मक कार्यक्रम सञ्चालन गर्न सरोकारवाला सँग परामर्श कार्यशाला गरेको हो।
खानेपानी मन्त्रालयले “एक घर–एक धारा” अवधारणा सहित राष्ट्रिय खानेपानी अभियानात्मक कार्यक्रम र १०० नगरपालिकामा सुरक्षित सरसफाइ सेवा विस्तार गर्न राष्ट्रिय सरसफाइ कार्यक्रम गरी दुई वटा अभियानात्मक कार्यक्रमको रुपरेखा तयार पार्न थालेको हो ।
यो कार्यक्रम Sanitation and Water for All (SWA) को राष्ट्र प्रमुख पहल अन्तर्गत नेपालले लिएका प्रतिबद्धताहरू परिपूर्ति गर्न र खानेपानी तथा सरसफाइ ऐन, राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति र १६औँ योजना तथा दिगो विकास लक्ष्य (SDG 6) को प्राप्तिका लागि पनि सञ्चालन गर्न आवश्यक भएको खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठले बताउनुभयो।

२०८२ असार १४ गते देखि १८ गते सम्म स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी तथा सरसफाइका लागि वित्तीय स्रोत परिचालन सम्बन्धी राष्ट्र प्रमुख स्तरीय अभियान कार्यक्रमलाई सम्बोधन गर्दै सरसफाइ तथा खानेपानी जस्ता आधारभूत सेवा सुविधाहरूको पहुँच सबै नागरिकसम्म पुर्याउन नेपाल प्रतिबद्ध रहेको र यसका लागि खानेपानी तथा सरसफाइ सम्बन्धी अभियानमूलक कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको थियो।
सहसचिव श्रेष्ठले कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रभावकारी स्रोत परिचालन सुनिश्चित गर्न समग्र खानेपानी तथा सरसफाइ क्षेत्रको वित्तीय रणनीति तयार पारिने उहाँले बताउनुभयो । यसका लागि सरकारी बजेट, विकास साझेदार, निजी क्षेत्र तथा जलवायु वित्त समेत समेटिने गरी मिश्रित वित्तीय रणनीति अपनाइने उहाँको भनाइ थियो।
यी कार्यक्रमहरू सन् २०३० सम्म सबै घरधुरी र सार्वजनिक संस्थामा सुरक्षित, भरपर्दो र जलवायु–अनुकुलित खानेपानी सेवा पु¥याउने दीर्घकालीन लक्ष्यसँग जोडिएको खानेपानी मन्त्रालयका सिनियर डिभिज्नल इन्जिनियर योगेन्द्र चित्रकारले बताउनुभयो । यस्तै देशका १०० वटा नगरपालिका केन्द्रित राष्ट्रिय सरसफाइ कार्यक्रमले सुरक्षित सरसफाइ सेवा, फोहोर ढल तथा मलमूत्रको व्यवस्थापन गरिने उहाँले बताउनुभयो।

युनिसेफको प्राविधिक सहयोगमा खानेपानी मन्त्रालयले आयोजना गरेको कार्यशालामा परामर्शदाता कम्पनीहरु Scholars Consult Pvt. Ltd. र Engineers and Trainers Associates Ltd.को तर्फबाट ई. कविन्द्र विक्रम कार्कीले राष्ट्रिय खानेपानी अभियानात्मक कार्यक्रम र ई.कबिर राजभण्डारीले र राष्ट्रिय सरसफाइ कार्यक्रमको बिषयमा प्रस्तुतीकरण गर्नुभयो। वित्तिय रणनीतिका बिषयमा भने रबिनलाल महर्जनले प्रस्तुतीकरण गर्नुभएको थियो।

मन्त्रालयले सरोकारवालाबाट प्राप्त सुझावका आधारमा कार्यक्रमलाई थप परिमार्जन गरी विभिन्न चरणको छलफलबाट अन्तिम रुप दिने र कार्यान्वयन योग्य बनाउने जनाएको छ। अभियानात्मक कार्यक्रमको रुपरेखा तयार पार्ने जिम्मेवारी परामर्शदाता कम्पनीहरुलाई दिईएको छ ।
कार्यक्रमले सुरक्षित खानेपानी पहुँच विस्तार, शहरी सरसफाइ सुधार, संस्थागत क्षमता अभिवृद्धि तथा स्रोत परिचालनमा वृद्धि गर्ने अपेक्षा गरिएको छ। यसले नेपालको खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप विश्वसनीय र प्रभावकारी बनाउने विश्वास लिइएको छ।

कार्यक्रममा युनिसेफ नेपालको वास सेक्सन प्रमुख Muhammad Irfan ले Sanitation and Water for All (SWA) को राष्ट्र प्रमुख पहल अन्तर्गत नेपालले लिएका प्रतिबद्धताहरू परिपूर्तिका लागि सरकारसँग सहकार्य गर्न युनिसेफ सदैव प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सबैको सहकार्यबाट मात्र यो उपलब्धी हासिल गर्न सकिनेमा जोड दिनुभयो।

कार्यक्रममा अन्तर मन्त्रालयहरु शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास मन्त्रालय सहित नगर विकास कोष, खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग, खानेपानी तथा ढल व्यवस्थापन विभाग, राष्ट्रिय खानेपानी, सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो।

यस्तै विकास साझेदारहरु यु.एन. ह्याबिटाट, युनिसेफ, जाइका, अक्सफाम, बेलायती दुतावास, एस.एन.भी, लगायत खानेपानी तथा सरसफाइ क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुको सहभागिता थियो।



तस्बिरहरु : पी.टी.लोप्चन/WASHKhabar


196 पटक हेरिएको 

