सरसफाइ सप्ताह २०८३ सुरु, सङ्घ देखि स्थानीय तहसम्मलाई सहभागी हुन निर्देशन

  वास खबर सम्बाददाता  85 पटक हेरिएको

काठमाडौ : सरकारले  ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते सोमबारदेखि देशभर  ‘सरसफाइ सप्ताह २०८३’ मनाउने अभियान सुरु गरेको छ ।

सङ्घीय, प्रादेशिक र स्थानीय तहका सबै सरकारी कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्था समेत समेट्ने गरी यो अभियान सञ्चालन गरिने प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन समेत दिएको छ।

सरसफाइ अभियानको शुभारम्भ गर्दै स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले आज एकै समयमा मुलुकभरका सबै अस्पतालमा सरसफाइ अभियान सुरु गरिएको बताउनुभयो।

त्यस अवसरमा प्रतिनिधिसभा सदस्य केपी खनालले अस्पतालमा बाहिर प्लाष्टिकको फोहोर भेटिएको विषयमा सम्बन्धित निकायलाई जानकारी गराउँदै आगामी दिनमा अस्पतालले प्रशासनले सफाइमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा, वीर अस्पतालका निमित्त निर्देशक प्रा डा प्रभा कोइरालालगायतको सहभागिता थियो ।

सरकारले आजदेखि सङ्घ, प्रदेश र स्थानीय तह अन्तर्गतका सबै सरकारी कार्यालयमा सरसफाइ सप्ताह सुरु गरेको हो । अभियान आगामी जेठ १ गतेसम्म सञ्चालन गरिनेछ । अभियान सञ्चालन गर्नका लागि सरकारले सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गनिर्देशन, २०८३ समेत जारी गरेको छ ।

सरकारले सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न, सरसफाइसम्बन्धी आचारण विकास गर्नका लागि सरसफाइ अभियान सुरु गरेको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार