
महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलालीमा निर्माण सम्पन्न भएको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएका छन् । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैँक (एडिबी) को सहयोगमा निर्माण गरिएको फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याईएको हो ।
कैलालीको अत्तरीया र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आइसकेका छन् । सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्रमुख तुलसीराम खर्वुजाले कैलालीको धनगढी उप महानगरपालिकामा रहेको फोहोरमैला व्यवस्थापन केन्द्र भने चाँडै सञ्चालनमा आउने दाबी गर्नुभयो ।
तोकिएको समयमै निर्माण सम्पन्न भए पनि धनगढी उप महानगरपालिका–७, पटेलामा बनिरहेको फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आउन सकेको छैन् ।
थप गरेर एक अर्ब नौ करोड लागत अनुमान रहेको उक्त व्यवस्थापन केन्द्रको भेरियसन अर्डर प्रक्रियामा रहेकाले सञ्चालनमा ढिलाइ हुन गएको हो । “भिओका लागि माथिल्लो निकायमा पेस गरेका छौँ ।” सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्रमुख खर्वुजाले भन्नुभयो, “फोहरमैला व्यवस्थापनका लागि आवश्यक सवारी साधन र ‘स्टिमेट’मा नभएको विषयको निर्माणमा पालिकाले माग गरेपछि ‘भेरियसन अर्डर’ अघि बढाइएको हो ।”
धनगढीको फोहोरमैला व्यवस्थापन केन्द्रमा ३० वर्षसम्म धनगढीको फोहोर व्यवस्थापन गर्न सकिनेछ । चीनको सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सले ठेक्का पाएर निर्माणको काम तोकिएकै अवधीमा सकेको हो । तर ‘भिओ’का कारण निर्माण पक्षले अहिले काम गर्न पाएको छैन ।
सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका अनुसार तीन वर्षसम्म व्यवस्थापन केन्द्र निर्माण कम्पनी आफैले सञ्चालन गर्नुपर्ने हुन्छ भने त्यसपछि सम्बन्धित पालिकालाई हस्तान्तरण हुनेछ ।
सुदूरपश्चिममा एडिबीले चार वटा पालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि छनोट गरेको भएपनि कञ्चनपुरको भीमदत्त नगरपालिकाले त्यसका लागि जग्गा उपलब्ध गराउन सकेन । धनगढीमा २२ हेक्टर, शुक्लाफाँटामा पाँच बिघा र अत्तरियामा पाँच हेक्टर क्षेत्रफलमा फोहरमैला व्यवस्थापन केन्द्र बनेका छन् ।
सञ्चालनमा आएका फोहोरमैला व्यवस्थापन केन्द्रमा पुनः प्रयोग हुने, कुहिने र प्रयोगविहीन (नकुहिने, बिक्री नहुने) गरेर तीन तरिकाले फोहर छुट्टयाएर व्यवस्थापन गरिँदै छ । शुक्लाफाँटा नगरपालिकामा फोहोरमैला ३० करोड २५ लाख लगानीमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो ।
शुक्लाफाँटा नगरपालिका–११, श्रीकृष्ण सामुदायिक वन क्षेत्रको वनहरा खोला किनारमा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको शुक्लाफाँटा नगरपालिकाले जनाएको छ ।
शुक्लाफाँटा नगरपालिका कार्यालयका इन्जिनियर लोकेन्द्र भट्टले फोहोरमैला व्यवस्थापन केन्द्रको काम प्रभावकारी रूपमा भइरहेको बताउनुभयो । “सबै वडामा फोहर राख्ने कन्टेनरहरू राखेको छ”, उहाँले भन्नुभयो, “सहरी वडाहरूमा प्रत्येक दिन फोहोर सङ्कलन गरेर व्यवस्थापन केन्द्रमा लैजाने काम भएको छ ।” फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आए पछि शुक्लाफाँटा नगरपालिका सरसफाइमा जोड लिइएको उहाँको भनाइ छ ।


86 पटक हेरिएको 

