आउनुहोस्, आफ्‌नो र परिवारका लागि नायक बनौं

  विनोद धौलागिरि  100 पटक हेरिएको
🔗
73
Shares

विनोद धौलागिरि

नायक हुनका लागि चलचित्रमा अभिनय गर्नैपर्छ भन्ने छैन । एउटा सानो बानीले तपाईंलाई आफ्नै स्वास्थ्यको रक्षक र परिवारको नायक बनाउन सक्छ : न कुनै ठूलो खर्च, न विशेष सीप, न त असाधारण साहस नै चाहिन्छ । खाना खानुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले कम्तीमा २० सेकेन्ड हात धुने बानी मात्र अपनाउनुहोस् । किनकि तपाईंका हातले दिनभरि छोएका वस्तुबाट रोगका सूक्ष्मजीव मुखसम्म पुग्न सक्छन् र तपाईंलाई मात्र होइन, परिवारका सदस्यलाई समेत बिरामी बनाउँछन् । यस विश्व हात धुने दिवसमा सङ्कल्प गरौँ : आफ्नो स्वास्थ्य जोगाऔँ, परिवारलाई सुरक्षित राखौँ र हात धुने नायक बनौँ !

साबुनपानीले हात धुने काम सामान्य लाग्न सक्छ । तर यही सामान्य बानीले झाडापखाला, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण र अन्य सरुवा रोगको जोखिम घटाउन महत्वपूर्ण भूमिका खेल्छ । खाना पकाउनुअघि, खाना खानुअघि, शौचालय प्रयोग गरेपछि वा बच्चाको दिसा सफा गरेपछि हात सफा गर्नु व्यक्तिगत सरसफाइमा सीमित विषय होइन; यो परिवार, विद्यालय, समुदाय र समग्र जनस्वास्थ्यसँग जोडिएको अभ्यास हो ।

हामी दिनभरि पैसा, मोबाइल फोन, ढोकाका ह्यान्डल, सार्वजनिक यातायातका सतह, खानेकुरा, फोहोर तथा विभिन्न व्यक्तिले छोएका वस्तु छुन्छौँ । यस्ता सम्पर्कबाट हातमा रोगका सूक्ष्मजीव पुग्छन् । त्यसपछि त्यही हातले खाना समात्दा, मुख वा नाक छुँदा अथवा अरूले प्रयोग गर्ने वस्तु छोएपछि ती सूक्ष्मजीव एक ठाउँबाट अर्को ठाउँमा सर्छन् । हातमा फोहोर देखिँदैमा मात्र सूक्ष्मजीव भएको हुँदैन; सफा देखिने हातमा पनि रोग सार्न सक्ने जीवाणु वा विषाणु हुन सक्छन् ।

विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्रसंघीय बालकोषले सन् २०२५ मा सार्वजनिक गरेको समुदायस्तरको हात स्वच्छतासम्बन्धी विश्वव्यापी निर्देशिकाले हातको स्वच्छतालाई व्यक्तिगत इच्छामा मात्र छाड्न नहुने सार्वजनिक स्वास्थ्यको प्राथमिकताका रूपमा व्याख्या गरेको छ । साबुन, पानी, सही जानकारी र हात धुन सहज हुने वातावरण उपलब्ध गराउनु पनि यसको महत्वपूर्ण पक्ष हो ।

यसै सन्दर्भमा, अक्टोबर १५ मा मनाइने विश्व हात धुने दिवसले एउटा सरल तर महत्वपूर्ण प्रश्न उठाउँछ : हात धुने फाइदा थाहा भएर पनि हामीले सही समयमा, सही तरिकाले हात धोइरहेका छौँ त ?

हात धुने वैज्ञानिक इतिहास : परम्परादेखि प्रमाणसम्म

पानीले हात सफा गर्ने अभ्यास मानव समाजमा लामो समयदेखि रहँदै आएको छ । विभिन्न संस्कृतिमा खाना खानुअघि वा धार्मिक तथा सामाजिक क्रियाकलापका क्रममा हात धुने चलन थियो । तर हात सफा गर्नु र हातमार्फत रोग सर्नुबीचको वैज्ञानिक सम्बन्ध स्थापित हुन समय लाग्यो । रोग किन लाग्छ, सङ्क्रमण कसरी फैलिन्छ र हातको स्वच्छताले त्यसलाई कसरी रोक्न सक्छ भन्ने बुझाइ चिकित्सा विज्ञानको विकाससँगै स्पष्ट हुँदै गयो ।

हातको स्वच्छतालाई चिकित्सकीय अभ्यासमा प्रमाणका आधारमा स्थापित गर्ने इतिहासमा हङ्गेरियन चिकित्सक इग्नाज सेमेल्वाइसको योगदान उल्लेखनीय छ । सन् १८४७ मा भियनाको एक प्रसूति अस्पतालमा काम गर्दा उनले चिकित्सक तथा विद्यार्थीले शव परीक्षणपछि प्रसूति गराउने वार्डमा जाँदा प्रसूति ज्वरोका कारण महिलाको मृत्यु बढी हुने गरेको अवलोकन गरे । त्यसपछि उनले क्लोरिनयुक्त घोलले हात सफा गरेर मात्र प्रसूति सेवामा संलग्न हुनुपर्ने व्यवस्था लागू गरे । त्यसपछिको अवधिमा सम्बन्धित वार्डमा मातृमृत्यु उल्लेख्य रूपमा घटेको देखियो ।

सेमेल्वाइसले त्यतिबेला आजको अर्थमा जीवाणु सिद्धान्त पूर्ण रूपमा व्याख्या गर्न सकेका थिएनन् । तथापि, चिकित्सकका हातबाट सङ्क्रमण सर्न सक्ने सम्भावना पहिचान गरी हात सफा गर्ने अभ्यास लागू गर्नु संक्रमण नियन्त्रणको इतिहासमा महत्वपूर्ण मोड बन्यो । पछि लुई पाश्चरको सूक्ष्मजीवसम्बन्धी अनुसन्धान र जोसेफ लिस्टरले शल्यचिकित्सामा प्रतिजीवाणु विधिको प्रयोगलाई अघि बढाएपछि रोगका सूक्ष्मजीव र सङ्क्रमणबीचको सम्बन्धबारे वैज्ञानिक बुझाइ थप बलियो भयो ।

यी ऐतिहासिक विकासले एउटा आधारभूत पाठ सिकाउँछन् : रोगको जोखिम घटाउन सधैँ जटिल प्रविधि वा महँगो उपकरण आवश्यक हुँदैन । वैज्ञानिक प्रमाणका आधारमा अपनाइएको साधारण व्यवहारले पनि उल्लेखनीय स्वास्थ्य लाभ दिन सक्छ । आज हातको स्वच्छता अस्पतालमा मात्र होइन, घर, विद्यालय, कार्यालय, बजार, सार्वजनिक यातायात र अन्य सामुदायिक स्थानमा पनि रोग रोकथामको आधारभूत उपाय मानिन्छ ।

फोहर हातमा के हुन्छ ? रोग कसरी सर्छ ?

हातमा रोग सार्न सक्ने सूक्ष्मजीव विभिन्न माध्यमबाट पुग्छन् । शौचालय प्रयोग गरेपछि, दिसा वा फोहोर छोएपछि, काँचो मासु वा दूषित खाद्यवस्तु समातेपछि तथा खोक्दा वा हाच्छिउँ गर्दा निस्केका स्रावले, दूषित सतह छोएपछि हातमा सूक्ष्मजीव जम्मा हुन सक्छन् । मानिसले अनायासै आँखा, नाक र मुख छुने भएकाले हातमा रहेका केही सूक्ष्मजीव शरीरभित्र प्रवेश गर्न सक्छन् । दूषित हातबाट खानेकुरा वा पिउने पानीमा सूक्ष्मजीव पुग्दा पनि सङ्क्रमण फैलिन सक्छ ।

हातमार्फत इकोली, साल्मोनेलाजस्ता जीवाणु तथा नोरोभाइरस र रोटाभाइरसजस्ता विषाणु मानिसमा सर्दछन् । यिनीहरूमध्ये केहीले झाडापखाला, बान्ता तथा पेटसम्बन्धी समस्या गराउन सक्छन् । रोग सार्ने सूक्ष्मजीवको प्रकार, शरीरमा प्रवेश गर्ने मात्रा, व्यक्तिको उमेर र स्वास्थ्य अवस्था तथा सरसफाइको समग्र अवस्थाले सङ्क्रमणको जोखिम निर्धारण गर्छन् । सबै सूक्ष्मजीव हानिकारक हुँदैनन्‌; मानव शरीर र वातावरणमा सामान्यतः पाइने धेरै सूक्ष्मजीवले हानि गर्दैनन् । तर रोग सार्न सक्ने सूक्ष्मजीवको फैलावट रोक्नु जनस्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुन्छ ।

हात धुँदा हातमा रहेका फोहोर, तेलजन्य पदार्थ र सूक्ष्मजीव हटाउन मद्दत पुग्छ । साबुनले छालाको सतहमा टाँसिएका फोहोर र सूक्ष्मजीव छुटाउन सहयोग गर्छ, अनि पानीले तिनलाई पखालेर हटाउँछ । त्यसैले पानीले हात भिजाउनु मात्र साबुनपानीले हात धुनुजत्तिकै प्रभावकारी हुँदैन । साबुनको प्रयोग, हातका सबै भागमा मिच्ने प्रक्रिया र सफा पानीले राम्ररी पखाल्ने काम एकअर्काका पूरक हुन् ।

हात धुँदा कति स्वास्थ्य लाभ हुन्छ ?

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले विभिन्न अध्ययनका आधारमा समुदायमा हात धुने अभ्यासबारे दिइने शिक्षा र प्रवद्र्धनले झाडापखालाका घटना करिब २३–४० प्रतिशत र सामान्य जनसंख्यामा रुघाखोकीजस्ता श्वासप्रश्वाससम्बन्धी रोग करिब १६ देखि २१ प्रतिशतले घटाउन सहयोग गर्न सक्ने जनाएको छ । विद्यालयका बालबालिकामा पेट तथा आन्द्रासम्बन्धी समस्याका कारण अनुपस्थित हुने दर पनि घट्न सक्छ । यी प्रतिशत अध्ययनहरूबाट प्राप्त अनुमान हुन्‌; हरेक स्थान वा व्यक्तिमा यति नै कमी आउँछ भन्ने ग्यारेन्टी होइन । हात धुने प्रभाव पानी र साबुनको उपलब्धता, व्यवहारको नियमितता, सरसफाइ, खानेपानीको गुणस्तर र रोगको प्रसारजस्ता अन्य पक्षमा पनि निर्भर हुन्छ ।

हात धुने बानीको फाइदा रोग लागेपछि उपचार खर्च घटाउनमा मात्र सीमित हुँदैन । यसले बिरामी हुँदा काम वा पढाइ छुट्ने सम्भावना घटाउन, परिवारका सदस्यमा सङ्क्रमण फैलिने जोखिम कम गर्न र समुदायमा स्वास्थ्य सुरक्षाको अभ्यास बलियो बनाउन पनि सहयोग पुर्‍याउँछ । विशेषगरी साना बालबालिका, ज्येष्ठ नागरिक तथा प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिका लागि सङ्क्रमण रोकथामका यस्ता साधारण उपाय महत्वपूर्ण हुन सक्छन् ।

हात धुने सही तरिका : २० सेकेन्डको बानी, स्वास्थ्यको सुरक्षा

हात धुने फाइदा त्यसको सही तरिका र नियमिततासँग जोडिएको हुन्छ । हातमा साबुन लगाएर तुरुन्तै पखाल्नु पर्याप्त नहुन सक्छ । औँलाबीच, नङमुनि, औँठा र हातको पछाडिको भागजस्ता स्थान छुट्न सक्छन् । त्यसैले हात धुँदा सबै सतहमा साबुन पुग्ने गरी मिच्नु र त्यसपछि सफा पानीले राम्ररी पखाल्नु आवश्यक हुन्छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले साबुनपानीले हात कम्तीमा २० सेकेन्ड मिच्न सिफारिस गर्छ । यो समय साबुन हातमा लगाएर तुरुन्तै पखाल्नुभन्दा सबै भाग सफा गर्न पर्याप्त समय दिनका लागि हो । हात धुँदा घडी हेर्नु वा मनमनै २० सेकेन्ड गन्नु उपयोगी हुन सक्छ । बालबालिकालाई उमेरअनुसारको गीत गाउन वा २० सेकेन्डको रमाइलो गतिविधिमार्फत हात धुने अवधि सिकाउन सकिन्छ । तर मुख्य कुरा समय पूरा गर्नु मात्र होइन, हातका सबै भाग राम्ररी मिच्नु पनि हो ।

कुन समयमा हात धुनुपर्छ?

सबैभन्दा बढी ध्यान दिनुपर्ने समय ती हुन्, जब हातबाट रोगका सूक्ष्मजीव खाना, मुख वा अर्को व्यक्तिसम्म पुग्न सक्छन् । विश्व स्वास्थ्य संगठन र युनिसेफको समुदायस्तरको निर्देशिकाले निम्न प्रमुख समयलाई प्राथमिकता दिएको छ ।
– खाना तयार गर्नुअघि ।
– खाना खानुअघि तथा अरूलाई खाना खुवाउनुअघि ।
– शौचालय प्रयोग गरेपछि वा दिसा सफा गरेपछि ।
– खोकिसकेपछि, हाच्छिउँ गरेपछि वा नाक सफा गरेपछि ।
– हात स्पष्ट रूपमा फोहर भएपछि ।

यसका अतिरिक्त, बिरामीको हेरचाह गर्नुअघि र पछि, फोहोर वा जनावरको दिसा छोएपछि, बच्चाको दिसा सफा गरेपछि तथा काँचो मासुजस्ता सम्भावित रूपमा दूषित खाद्यवस्तु समातेपछि पनि हात सफा गर्नु उपयुक्त हुन्छ । स्वास्थ्य संस्थामा बिरामीको उपचार वा हेरचाह गर्दा भने सामान्य घरायसी अभ्यासभन्दा विस्तृत संक्रमण रोकथाम मापदण्ड पालना गर्नुपर्छ ।

साबुनपानी नभए के गर्ने?

साबुन र सफा बगिरहेको पानी उपलब्ध हुँदा त्यसैबाट हात धुनु उत्तम विकल्प हो । तर हात स्पष्ट रूपमा फोहर नभएको अवस्थामा साबुनपानी उपलब्ध नभए कम्तीमा ६० प्रतिशत अल्कोहल भएको ह्यान्ड स्यानिटाइजर प्रयोग गर्न सकिन्छ । स्यानिटाइजर हातका सबै सतहमा पुग्ने गरी लगाएर सुक्दासम्म मिच्नुपर्छ । हातमा देखिने फोहोर, चिल्लो पदार्थ वा दिसा लागेको अवस्थामा भने स्यानिटाइजर साबुनपानीको पूर्ण विकल्प होइन ।

हात धुने सुविधा उपलब्ध गराउनु पनि व्यवहार परिवर्तनकै हिस्सा हो । घर, विद्यालय, स्वास्थ्य संस्था, कार्यालय, बजार र सार्वजनिक शौचालयमा पानी र साबुन राख्ने व्यवस्था हुनुपर्छ । पानीको स्रोत, साबुनको निरन्तर उपलब्धता, फोहोर पानीको सुरक्षित निकास र हात धुने ठाउँमा सहज पहुँच सुनिश्चित नभएसम्म केवल सचेतना अभियानले दिगो परिणाम दिन कठिन हुन्छ ।

विश्व हात धुने दिवस : नारादेखि व्यवहार परिवर्तनसम्म

विश्व हात धुने दिवस प्रत्येक वर्ष अक्टोबर १५ मा मनाइन्छ । साबुनपानीले हात धुने महत्वबारे जनचेतना फैलाउन र यसलाई दैनिक जीवनको नियमित व्यवहार बनाउन सन् २००८ मा पहिलोपटक यो दिवस मनाइएको थियो । ग्लोबल ह्यान्डवासिङ पार्टनरसिपका अनुसार पहिलो वर्ष ७० भन्दा बढी देशमा १२ करोडभन्दा बढी बालबालिका साबुनपानीले हात धुने अभियानमा सहभागी भएका थिए । त्यसयता यो दिवसले व्यक्ति, परिवार, विद्यालय, समुदाय, सरकार र विभिन्न संस्थालाई हातको स्वच्छताका लागि साझा प्रयास गर्न प्रेरित गर्दै आएको छ ।

सन् २०२६ को दिवससँग जोडिएको बहुवर्षीय सन्देश “द्यभ ब ज्बलमधबकजष्लन ज्भचय!” अर्थात् “हात धुने नायक बन्नुस् !” रहेको छ । यसले हात धुने कामलाई आफ्नो व्यक्तिगत बानीमा सीमित नराखी अरूलाई पनि सही व्यवहार अपनाउन प्रेरित गर्ने अभियानका रूपमा हेर्छ । बच्चाले घरमा हात धुने बानी सिकाउन सक्छ, शिक्षकले विद्यालयमा यसको अभ्यास गराउन सक्छन्, स्वास्थ्यकर्मीले वैज्ञानिक जानकारी दिन सक्छन् र स्थानीय सरकारले सार्वजनिक स्थानमा साबुनपानीसहितको सुविधा सुनिश्चित गर्न सक्छ । हात धुने नायक बन्न कुनै विशेष पद, स्रोत वा ठूलो अभियान आवश्यक पर्दैन; सही समयमा आफैँ हात धुने र अरूलाई पनि त्यसो गर्न सहज बनाउने व्यवहारबाट यसको सुरुआत हुन्छ ।

विश्वव्यापी चुनौती : जानकारी मात्र पर्याप्त छैन

हात धुने महत्वबारे जानकारी फैलाउनु आवश्यक छ, तर जानकारी हुनु र व्यवहारमा लागू गर्नु एउटै कुरा होइन । घरमा साबुन र पानी नहुनु, विद्यालयमा हात धुने ठाउँको अभाव हुनु, सार्वजनिक शौचालयमा पानीको व्यवस्था नहुनु वा हात धुनका लागि छुट्याइएको स्थान प्रयोग गर्न असहज हुनुजस्ता अवरोधले नियमित अभ्यासमा असर पार्छन् । त्यसैले हातको स्वच्छतालाई व्यक्तिको लापरबाहीका रूपमा मात्र व्याख्या गर्नु उचित हुँदैन; व्यवहार अपनाउन आवश्यक सुविधा र वातावरण पनि उपलब्ध हुनुपर्छ ।

विश्व स्वास्थ्य संगठन र यूनिसेफले अक्टोबर २०२५ मा सार्वजनिक गरेको समुदायस्तरको हात स्वच्छतासम्बन्धी निर्देशिकाले सन् २०२४ मा विश्वभर करिब १.७ अर्ब मानिसको घरमा आधारभूत हात स्वच्छता सेवा उपलब्ध नभएको उल्लेख गरेको छ । तीमध्ये करिब ६१ करोड १० लाख मानिससँग हात धुने कुनै सुविधा नै थिएन । यी तथ्याङ्कले हात धुने अभ्यासलाई व्यक्तिगत बानीको विषय मात्र नभई खानेपानी, सरसफाइ, सार्वजनिक पूर्वाधार र स्वास्थ्य सेवासँग जोडिएको विकासको मुद्दाका रूपमा बुझ्नुपर्ने देखाउँछन् ।

यसैकारण प्रभावकारी हात स्वच्छता कार्यक्रमका लागि तीन पक्ष महत्त्वपूर्ण छन् : हात धुन आवश्यक सामग्री र सुविधा, सही जानकारी तथा नियमित अभ्यासलाई सहज बनाउने भौतिक र सामाजिक वातावरण । पानी र साबुन उपलब्ध गराएर मात्र हुँदैन; ती सामग्री आवश्यक समयमा प्रयोग गर्न मिल्ने ठाउँमा हुनुपर्छ । मानिसलाई कहिले र कसरी हात धुने भन्ने जानकारी दिनुपर्छ, अनि घर, विद्यालय, कार्यालय र सार्वजनिक संस्थामा यसलाई सामान्य व्यवहारका रूपमा स्वीकार गरिने वातावरण बनाउनुपर्छ ।

नेपालमा हात धुने अभ्यासलाई कसरी बलियो बनाउने?

नेपालमा पनि हातको स्वच्छतालाई दैनिक जीवनका विभिन्न क्षेत्रमा व्यवहारमा उतार्न सकिन्छ । घरमा खाना पकाउने ठाउँ र शौचालय नजिक हात धुने सुविधा राख्ने, विद्यालयमा साबुन र पानीको नियमित व्यवस्था गर्ने, स्वास्थ्य संस्थामा संक्रमण रोकथामसम्बन्धी मापदण्ड पालना गर्ने तथा सार्वजनिक शौचालयमा हात धुने सुविधा कायम राख्ने काम यसका व्यावहारिक उदाहरण हुन् । स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, स्वास्थ्य संस्था, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र समुदायका संस्थाले आ–आफ्नो जिम्मेवारीअनुसार यसमा योगदान दिन सक्छन् ।

विद्यालयमा हात धुने अभ्यासलाई एकदिने कार्यक्रम वा दिवसको औपचारिकतामा सीमित गर्नु हुँदैन । विद्यार्थीले खाना खानुअघि र शौचालय प्रयोग गरेपछि हात धुने बानी नियमित रूपमा अभ्यास गर्न पाउने व्यवस्था आवश्यक हुन्छ । शिक्षकले यसको सही तरिका प्रदर्शन गर्न सक्छन्, विद्यालयले पानी र साबुनको उपलब्धता जाँच्न सक्छ र अभिभावकले घरमा पनि त्यही अभ्यासलाई निरन्तरता दिन सक्छन् । बालबालिकाले सानैदेखि सिकेको व्यवहारले परिवारका अन्य सदस्यलाई समेत प्रभावित गर्न सक्छ ।

यसैगरी, स्वास्थ्य तथा सरसफाइसम्बन्धी अभियानमा हात धुने सन्देशलाई खानेपानीको सुरक्षा, शौचालयको प्रयोग, दिसाको सुरक्षित व्यवस्थापन, खाद्य स्वच्छता र फोहोर व्यवस्थापनसँग जोड्नुपर्छ । हात धुनु महत्वपूर्ण भए पनि दूषित खानेपानी, असुरक्षित खाना वा खुला दिसाबाट हुने जोखिमलाई यसले एक्लै हटाउन सक्दैन । त्यसैले रोग रोकथामका लागि हातको स्वच्छता र समग्र सरसफाइलाई एकीकृत रूपमा अघि बढाउनु आवश्यक छ ।

आजैदेखि सुरु गरौँ : हात धुने नायक बन्ने सङ्कल्प

हात धुने अभ्यासको प्रभाव त्यसलाई वर्षमा एक दिन सम्झनुमा होइन, दैनिक जीवनका सही समयमा निरन्तर अपनाउनुमा निर्भर हुन्छ । विश्व हात धुने दिवसले हामीलाई यही व्यवहारको पुनःस्मरण गराउँछ । हात सफा राख्नु व्यक्तिगत सुरक्षाको एउटा उपाय हो; सही अभ्यासलाई परिवार र समुदायमा विस्तार गर्नु सामूहिक स्वास्थ्य सुरक्षाको आधार हो ।

आजैदेखि केही सरल कामबाट यसको सुरुआत गर्न सकिन्छ : खाना तयार गर्नुअघि र खानुअघि साबुनपानीले हात धुने, शौचालय प्रयोग गरेपछि हातका सबै भाग कम्तीमा २० सेकेन्ड मिच्ने, बच्चालाई हात धुने सही तरिका सिकाउने, घर र विद्यालयमा साबुनपानी उपलब्ध छ कि छैन जाँच्ने तथा अरूलाई पनि सही समयमा हात धुन प्रोत्साहित गर्ने । सार्वजनिक निकाय र संस्थाले चाहिँ सबैले प्रयोग गर्न सक्ने, सफा र सहज हात धुने सुविधा सुनिश्चित गर्नुपर्छ ।

हात धुनु सानो काम हो, तर यसको प्रभाव ठूलो हुन सक्छ । यसको लाभ लिन महँगो प्रविधि वा जटिल उपकरण आवश्यक पर्दैन; सही जानकारी, साबुन, पानी र नियमित अभ्यास आवश्यक पर्छ । आजको दिन एउटा व्यक्तिगत सङ्कल्प र सामुदायिक प्रतिबद्धताबाट सुरु गरौँ : हामी आफैँ सही समयमा हात धुनेछौँ, परिवार र समुदायलाई प्रेरित गर्नेछौँ र हात धुने सुविधा सबैका लागि उपलब्ध गराउन पहल गर्नेछौँ ।

स्वच्छ हात, सुरक्षित परिवार र स्वस्थ समाज : हाम्रै स्वास्थ्य, हाम्रै हातमा । आउनुहोस्, सबैजना हात धुने नायक बनौं ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार