उपत्यकामा खानेपानी चुहावट मर्मत गर्न द्रुत प्रतिकार्य टोली परिचालन

चुहावटको सूचना पाउना साथ घटनास्थल पुगेर मर्मत गर्ने

  वास खबर सम्बाददाता  72 पटक हेरिएको
🔗
112
Shares

काठमाडौं : काठमाडौं उपत्यका खानेपानी लिमिटेडको Rapid Response Team (द्रुत प्रतिकार्य टोली) शुक्रबार देखि औपचारिक रूपमा साइटमा परिचालन भएको छ।

काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणालीमा देखिने पाइपलाइन चुहावट, आकस्मिक क्षति तथा अन्य प्राविधिक समस्याको शीघ्र समाधान गर्ने उद्देश्यले टोली परिचालन गरिएको हो। यस टोलीले चुहावट सम्बन्धी सूचना प्राप्त हुनासाथ आवश्यक उपकरण तथा सामग्री सहित घटनास्थलमा पुगेर मर्मत सम्भार गर्नेछ।

खानेपानी वितरण प्रणालीमा हुने चुहावटलाई तत्काल नियन्त्रण गर्न र मर्मत सम्भार कार्यलाई प्रभावकारी बनाउन पूर्वाधार विकास मन्त्रालयको पहलमा ‘Water Leakage Rapid Response Mechanism in Kathmandu Valley’ गठन गरिएको हो। नियमित मर्मत सम्भार प्रणालीका अतिरिक्त तत्काल प्रतिकार्य गर्न सक्ने संयन्त्र विकास गर्ने उद्देश्यले यो व्यवस्था गरिएको हो।

पूर्वाधार विकास मन्त्रालयका अनुसार, २०८३ असोज २१ गतेको मन्त्रिस्तरीय निर्णयबाट उक्त संयन्त्र सञ्चालनका लागि कार्यदल गठन गरिएको हो। कार्यदललाई काठमाडौं उपत्यकाको खानेपानी वितरण प्रणालीमा हुने चुहावटको तत्काल नियन्त्रण तथा मर्मत सम्भार कार्य प्रभावकारी बनाउने जिम्मेवारी दिइएको छ।

कार्यदलको संयोजकमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रबन्ध निर्देशक राम रतन शाह रहनुभएको छ। कार्यदलमा मन्त्रीको निजी सचिवालयका प्रतिनिधिहरू, आयोजना कार्यान्वयन निर्देशनालयका इन्जिनियर शंकर थापा, पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर सन्तोष कुमार मण्डल, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका इन्जिनियर रामचन्द्र पौडेल र सडक विभागका इन्जिनियर असिम पौडेल सदस्य रहनुभएको छ।

यस अघि आयोजना कार्यान्वयन निर्देशनालयले पनि काठमाडौं उपत्यकाको खानेपानी वितरण प्रणालीमा देखिने चुहावट तथा अन्य प्राविधिक समस्या समयमै समाधान गर्ने उद्देश्यले चार जना कर्मचारीलाई फोकल पर्सन तोकिसकेको छ ।

टोली परिचालन सँगै पाइपलाइन चुहावटका कारण हुने पानीको क्षति न्यूनीकरण, मर्मत सम्भारमा लाग्ने समय घटाउने तथा उपभोक्तालाई खानेपानी वितरणमा देखिने अवरोध शीघ्र हटाउने अपेक्षा गरिएको छ। आकस्मिक रूपमा उत्पन्न हुने प्राविधिक समस्यालाई तत्काल सम्बोधन गर्न सकिएमा खानेपानी सेवाको निरन्तरता र विश्वसनीयता बढाउन सहयोग पुग्नेछ।

काठमाडौं उपत्यकामा बढ्दो खानेपानी माग र वितरण प्रणालीमा देखिने प्राविधिक समस्याका बीच  यी दुवै संयन्त्रको प्रभावकारी सञ्चालनले चुहावट नियन्त्रण तथा सेवा व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार