वनको आम्दानी वन्यजन्तुको पानीमा लगानी, अर्घाखाँचीमा बने दुई प्राकृतिक पोखरी

वन्यजन्तुलाई पानीको सहज उपलब्धतासँगै जलस्रोत पुनर्भरणमा समेत योगदान पुग्ने अपेक्षा

  वास खबर सम्बाददाता  191 पटक हेरिएको
🔗
157
Shares

अर्घाखाँची : वनपैदावार बिक्रीबाट प्राप्त आम्दानी वन संरक्षणमै लगानी गर्दै अर्घाखाँचीको शीतगङ्गा नगरपालिकास्थित गैँडे सामुदायिक वन उपभोक्ता समूहले वन्यजन्तुका लागि दुई वटा प्राकृतिक पोखरी निर्माण गरेको छ। गर्मीयाममा पानीका स्रोत सुक्दै जाँदा वन्यजन्तुले भोग्नुपर्ने पानीको अभाव कम गर्ने उद्देश्यले पोखरी निर्माण गरिएको हो।

सामुदायिक वनले काठदाउरा बिक्रीबाट प्राप्त रकममध्ये तीन लाख ६८ हजार रुपैयाँ खर्चेर निर्माण गरेका पोखरीमा वन्यजन्तु तथा चराचुरुङ्गीले सहजै पानी पिउन पाउने अपेक्षा गरिएको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीको प्राविधिक सहयोगमा ढुङ्गा र माटोको प्रयोग गरी पोखरी निर्माण गरिएको हो।

पोखरीमा पानीको उपलब्धता कायम राख्न करिब छ सय मिटर टाढा रहेको मुहानबाट पाइपमार्फत पानी ल्याइएको छ। प्राकृतिक स्वरूपमा निर्माण गरिएका पोखरीमा बाह्रै महिना पानी अड्याउने लक्ष्य राखिएको छ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशर खड्काका अनुसार पोखरी निर्माणले वन्यजन्तुका लागि पानीको व्यवस्था गर्नुका साथै वन डढेलो नियन्त्रण र भूमिगत जलस्रोत पुनर्भरणमा समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

गर्मीका बेला वनभित्रका पानीका स्रोत सुक्दा वन्यजन्तु पानीको खोजीमा टाढा जानुपर्ने अवस्था हुन्छ। वनक्षेत्रभित्रै पानीको व्यवस्था हुँदा वन्यजन्तुलाई सहज हुने र पानीको खोजीमा बस्ती आसपास पुग्नुपर्ने बाध्यता पनि कम हुने खड्काले बताउनुभयो।

चितुवा देखि मयूर सम्मको बासस्थान

गैँडे सामुदायिक वनमा चितुवा, हरिण, बँदेल र मृगलगायत वन्यजन्तु पाइन्छन्। त्यस्तै, धनेस, मयूर, वनकुखुरा र गिद्धसहित विभिन्न प्रजातिका चराचुरुङ्गीको पनि बासस्थान रहेको छ।

केही समयअघि नजिकैको रजिया जङ्गलमा सिसी क्यामरामा बाघसमेत कैद भएको खड्काले बताउनुभयो। वनक्षेत्रमा रहेका वन्यजन्तु र चराचुरुङ्गीको संरक्षणका लागि पानीको व्यवस्था गर्नु महत्त्वपूर्ण हुने उहाँको भनाइ छ।

सामुदायिक वन उपभोक्ता समूहले पोखरी निर्माणसँगै आसपासको क्षेत्रमा वृक्षरोपण गरी वनक्षेत्रलाई थप आकर्षक बनाउने तयारी गरेको छ। समूहकी सचिव सीता बेल्बासेका अनुसार प्राकृतिक वातावरणको संरक्षण गर्दै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना छ।

यसअघि गत वर्ष धरमपानी क्षेत्रमा निर्माण गरिएको प्लास्टिक पोखरीबाट प्लास्टिक हटाएर गोबर, माटो र चुनाको प्रयोग गरी प्राकृतिक स्वरूप दिइएको थियो। यस वर्ष सीतापोखरी क्षेत्रमा अर्को वन्यजन्तुमैत्री पोखरी निर्माण गरिएको हो।

वन संरक्षणमा स्थानीय उपभोक्ताको सक्रियता

३३८ हेक्टर क्षेत्रफलमा फैलिएको गैँडे सामुदायिक वनमा ८२३ जना उपभोक्ता आबद्ध छन्। वन संरक्षण र वन्यजन्तुको सुरक्षालाई प्राथमिकता दिँदै समूहले वन डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण गर्नुका साथै दुई जना वन हेरालुसमेत परिचालन गरेको छ।

सामुदायिक वनका अध्यक्ष जुद्धबहादुर सुनारका अनुसार वनमा डढेलो फैलिन नदिन र वन्यजन्तु तथा चराचुरुङ्गीको संरक्षण गर्न विभिन्न उपाय अपनाइएको छ। वन्यजन्तुको सिकार हुन सक्ने जोखिम न्यूनीकरण गर्न हेरालु राखिएको उहाँले बताउनुभयो।

वनपैदावार बिक्रीबाट प्राप्त आम्दानीलाई वन संरक्षण र वन्यजन्तुको आवश्यकतासँग जोड्ने सामुदायिक वनको प्रयास प्राकृतिक स्रोतको दिगो व्यवस्थापनको उदाहरण बनेको छ। वनभित्रै पानीको व्यवस्था गर्दा जैविक विविधताको संरक्षण, भूमिगत जलस्रोत पुनर्भरण र पर्यावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार