
मेचीनगर : धुलाबारी खानेपानी उपभोक्ता समितिले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो सेवा क्षेत्र भित्रका सात सामुदायिक विद्यालयलाई डस्टबिन वितरण गरेको छ ।
विद्यालयमा सरसफाइ प्रवर्द्धन तथा फोहोरको उचित व्यवस्थापन गर्ने उद्देश्यले समितिले डस्टबिन वितरण गरेको हो । समितिले धुलाबारी माध्यमिक विद्यालय, कविशिरोमणि माध्यमिक विद्यालय, हरि आधारभूत विद्यालय, भानु आधारभूत विद्यालय, महानन्द आधारभूत विद्यालय, डिगेन जनज्योति आधारभूत विद्यालय र शिशु साक्षर आधारभूत विद्यालयलाई डस्टबिन उपलब्ध गराएको हो ।
समितिका अध्यक्ष धनकाजी खत्रीले आफ्नो सेवा क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयलाई लक्षित गरी सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको जानकारी दिनुभयो । उहाँले खानेपानी सेवा प्रवाहसँगै समुदायमा सरसफाइ र सामाजिक गतिविधिमा समेत समितिले सहयोग गर्दै आएको बताउनुभयो ।

समितिका सचिव उमाकान्त सुवेदी (उमेश) का अनुसार संस्थाले हाल करिब ६ हजार ८०० घरधुरीमा स्वच्छ र पर्याप्त खानेपानी वितरण गर्दै आएको छ । खानेपानी सेवासँगै विभिन्न सामाजिक कार्यमा समेत संस्थाले सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
समितिका उपाध्यक्ष हिमालय आङदाम्बेले धुलाबासीलाई सहज र स्वस्थ खानेपानी उपलब्ध गराउन सहयोग गर्ने राजनीतिक दल, उपभोक्ता तथा कर्मचारीप्रति आभार व्यक्त गर्नुभयो । उहाँले समिति प्रति उपभोक्ताले देखाएको विश्वासलाई आगामी दिनमा पनि कायम राख्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समितिका कार्यालय प्रमुख गायत्रीप्रसाद ढुंगानाका अनुसार संस्थाको नयाँ खानेपानी आयोजना सञ्चालनको अन्तिम चरणमा पुगेको छ । उहाँले आयोजना समयमै सम्पन्न गर्न सहयोग गर्ने निर्माण व्यवसायी, स्थानीय अगुवा, विभिन्न राजनीतिक दल तथा समिति परिवारप्रति सम्मान व्यक्त गर्नुभयो । खानेपानी सेवा प्रवाहसँगै सामाजिक तथा सामुदायिक गतिविधिमा समेत सक्रिय रहने प्रतिबद्धता सहित कार्यक्रम सम्पन्न भएको समितिले जनाएको छ ।

तस्बिर : रघुनाथ खतिवडा


34 पटक हेरिएको 

