
कुनै पनि सहर वा नगर कति सभ्य र व्यवस्थित छ भन्ने कुराको मापन त्यहाँका सार्वजनिक शौचालयको अवस्थाबाट गर्न सकिन्छ। नेपालको सन्दर्भमा सहरहरूमा बढ्दो जनसङ्ख्या र सहरीकरणसँगै पर्याप्त, सफा र सुरक्षित सार्वजनिक शौचालयको अभाव सधैं एउटा प्रमुख समस्याको रूपमा रहँदै आएको छ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्ने र सरसफाइमा पहुँचको हक सुनिश्चित गरेको छ। यसैगरी, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापन गर्ने काम, कर्तव्य र अधिकार वडा समितिलाई तोकेको छ।
यिनै कानुनी प्रावधान र नागरिकको आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले “सार्वजनिक शौचालय सम्बन्धी दिग्दर्शन (निर्माण, सञ्चालन र व्यवस्थापन)” तयार पारेको छ।
यस दिग्दर्शनले शौचालयको निर्माण, सञ्चालन र व्यवस्थापनका लागि स्पष्ट खाका र न्यूनतम् सेवा मापदण्डहरू निर्धारण गरेको छ।
यो दिग्दर्शन जस्तो सुकै वित्तीय स्रोत, निर्माणकर्ता वा व्यवस्थापक भए पनि सार्वजनिक शौचालयको सुविधालाई स्वीकार्य मापदण्ड अनुसार सञ्चालन गर्न तयार पारिएको एउटा महत्त्वपूर्ण नीतिगत दस्तावेज हो।

शौचालयको उचित प्रयोग र जनस्वास्थ्य: सार्वजनिक शौचालयको निर्माण मात्र समाधान होइन, यसको उचित प्रयोग र व्यवस्थापन जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ। सार्वजनिक शौचालयको उचित प्रयोगले खानेपानीबाट फैलिन सक्ने पखाला र हैजा जस्ता सरूवा रोगहरू फैलिनबाट रोक्न सकिन्छ।
शौचालय प्रयोग गरेपछि हात धुने बानीको प्रवर्द्धनले कीटाणु फैलिने सम्भावनालाई न्यूनीकरण गर्दछ। यसका साथै, नकुहिने वस्तुहरू जस्तै वाइप्स (Wipes) र स्यानिटरी सामग्री जथाभावी फाल्नाले प्लम्बिङ (Plumbing) बिग्रिने समस्या आउने भएकाले उचित प्रयोगले मर्मतसम्भार लागतलाई समेत कम गर्दछ।
स्थान छनोट र सार्वजनिक शौचालयका प्रकार: सहरको कुन ठाउँमा शौचालय बनाउने भन्ने कुरा यसको सफलताको पहिलो सर्त हो। पार्क, सपिङ्ग सेन्टर, यातायात केन्द्र (बस स्टेशन, बस स्टप), पर्यटकीय स्थल, बजारक्षेत्र र मनोरञ्जन स्थल जस्ता पैदलयात्रीहरूको घुइँचो लाग्ने स्थानहरू सार्वजनिक शौचालयको लागि उपयुक्त मानिन्छन्।
यस्ता शौचालयहरू उचित पैदल दूरी (२०० देखि ३०० मिटर) भित्र हुनुपर्दछ। सार्वजनिक स्थान उपलब्ध नभएमा सरकारी जग्गा उपयोग गर्ने अथवा निजी जग्गा भाडामा लिएर पनि प्रयोग गर्न सकिन्छ।
दिग्दर्शनले सार्वजनिक शौचालयलाई आकार, सङ्ख्या र स्थानको आधारमा विभिन्न प्रकारमा वर्गीकरण गरेको छ।
जग्गाको उपलब्धता अत्यन्त कम भएको अवस्थामा दुई कोठे शौचालय (प्रकार १) बनाउन सकिन्छ भने महिला, पुरूष, लैङ्गिकमैत्री र अपाङ्गमैत्री सुविधायुक्त छुट्टाछुट्टै कोठा भएको सुविधासम्पन्न शौचालय पनि निर्माण गर्न सकिन्छ। बजार र किनमेल केन्द्रमा उच्च क्षमताका शौचालयहरू आवश्यक पर्दछन् भने मेला वा महोत्सवमा अस्थायी शौचालयको व्यवस्था गर्नुपर्ने हुन्छ।
समावेशी र पहुँचयोग्य डिजाइन (Inclusive Design): आधुनिक सार्वजनिक शौचालयहरू सबै वर्ग र समुदायका लागि सहज हुनुपर्दछ। सार्वजनिक शौचालय अपाङ्गता भएका व्यक्तिलगायत सबैको लागि सहज पहुँच हुने हुनुपर्दछ। यसका लागि र्याम्प (Ramp), चौडा ढोका, र समाउने स्थान (Grab bar) को अनिवार्य व्यवस्था हुनुपर्छ।
ह्वीलचेयर प्रयोग गर्न मिल्ने गरी पर्याप्त क्षेत्रफल (१५०० मिमि X १८०० मिमि) भएको छुट्टै क्युबिकलको व्यवस्था हुनुपर्दछ। र्याम्पको उचाइ ४५० मिमि भन्दा बढी भएको अवस्थामा यसको स्लोप (Slope) १:१२ हुनुपर्दछ र र्याम्पको सतहबाट ८५० देखि १००० मिमिको उचाइमा ह्यान्डरेल (Handrail) राख्नुपर्दछ। कमजोर दृष्टि भएका प्रयोगकर्ताहरूको सहजताका लागि बाटोमा ट्याक्टाइल (Tactile) छपाइ र ब्रेल (Braille) लिपिको व्यवस्था हुनुपर्दछ।
यस दिग्दर्शनले लैङ्गिक समानता र बालमैत्री अवधारणालाई पनि विशेष जोड दिएको छ। महिला सार्वजनिक शौचालयमा कम्तिमा एउटा क्युबिकलमा स्यानिटरी प्याड मिल्काउने व्यवस्था हुनुपर्दछ र प्याड बिक्रीवितरण यन्त्र (Vending machine) को पनि व्यवस्था हुनुपर्दछ।
सबै प्रकारका लैङ्गिक पहिचान भएका प्रयोगकर्ताहरूको गोपनीयता र समावेशीतालाई सम्बोधन गर्न लैङ्गिक-तटस्थ (Gender-Neutral) शौचालयको निर्माण गरिनुपर्दछ। यसका अतिरिक्त, पारिवारिक शौचालय वा कम्तीमा पनि महिला र पुरुष दुवै शौचालयमा बच्चाको डाइपर फेर्ने स्थान (Baby Changing Stations) को व्यवस्था हुनुपर्दछ। हात धुने स्थान सानाठुला वा अग्लोहोचो सबै प्रकारका प्रयोगकर्ताहरूलाई सहज हुने गरी फरक फरक उचाइमा जडान गर्नुपर्दछ।
पानी आपूर्ति, फोहोर व्यवस्थापन र वातावरणीय दिगोपन: सार्वजनिक शौचालयको सफलता पर्याप्त पानीको उपलब्धतामा निर्भर गर्दछ। दैनिक सरसफाइ र प्रयोगका लागि सामान्यतः प्रति प्रयोगकर्ता १० लिटर पानी आवश्यक हुन्छ भने प्रत्येक पल्ट सफाइ गर्दा २० लिटर पानी लाग्छ।
तसर्थ, शौचालयमा पानी भण्डारण क्षमता दैनिक आवश्यकताको १.५ देखि २ गुणा बढी हुनुपर्छ र कम्तिमा दुई दिनको माग धान्न सक्ने हुनुपर्दछ। पानी संरक्षणका लागि पानीको खपत कम हुने सेन्सर जडित धाराहरू र दोहोरो फ्लस (Dual flush) प्रणालीको प्रयोग गर्नुपर्दछ।
सम्भव भएसम्म पानीको वैकल्पिक स्रोतका रूपमा शौचालयको छाना प्रयोग गरी आकाशेपानी सङ्कलन गर्ने र जलभरण गर्ने प्रविधि अपनाउनु पर्दछ।
फोहोरपानीको स्थलगत व्यवस्थापनको लागि स्तरीय सेप्टिक ट्याङ्कीको निर्माण गर्नुपर्दछ। सेप्टिक ट्याङ्की दुई खण्डको हुनुपर्दछ र यसको लम्बाइ चौडाइभन्दा २ देखि ४ गुणा लामो हुनुपर्दछ। सेप्टिक ट्याङ्कीबाट निस्किने प्रशोधित फोहोरपानी सोकपिट वा ढलनिकासमा पठाउनुपर्दछ।
फोहोर विसर्जनका लागि परिसरभित्र पर्याप्त सङ्ख्यामा फोहोर हाल्ने भाँडोको व्यवस्था हुनुपर्छ र फोहोर अलग्याउने (Segregation) कार्यलाई प्राथमिकता दिनुपर्दछ।
सुरक्षा, गोपनीयता र मर्मतसम्भार (Safety, Privacy & O&M): सार्वजनिक शौचालय प्रयोगकर्ताका लागि पूर्ण रूपमा सुरक्षित र गोप्य हुनुपर्छ। प्रत्येक क्युबिकल भुइँदेखि छानासम्म छुने गरी बारिएको र राम्ररी लाग्ने बलियो चुकुल भएको हुनुपर्दछ। पर्याप्त प्राकृतिक प्रकाशको उपयोग गर्दै न्यूनतम् २०० लक्स (lux) क्षमताको बत्ती जडान गर्नुपर्छ।
सुरक्षाका लागि रणनीतिक स्थानहरूमा सिसिटिभी (CCTV) क्यामेरा जडान गर्न सकिन्छ, तर यसले मानिसहरूको गोपनीयता भङ्ग गर्नु हुँदैन। आपतकालीन अवस्थाका लागि हेल्पलाइन फोन र आपतकालीन द्वारको स्पष्ट सङ्केत हुनुपर्दछ।
शौचालयको मर्मतसम्भार र सरसफाइ अर्को महत्त्वपूर्ण पक्ष हो। शौचालयमा हरेक दिन नियमित सरसफाइ गर्नुपर्दछ र फोहोर देखिएको अवस्थामा तत्काल सफा गर्नुपर्दछ। सफाइ गर्दा किटाणुनाशक औषधिको प्रयोग गर्नुपर्छ र सफाइकर्मीका लागि पञ्जा, मास्क लगायतका व्यक्तिगत सुरक्षा उपकरण (PPE) उपलब्ध गराउनुपर्छ।
सरसफाइकर्मीलाई पेशागत स्वास्थ्य र सुरक्षासम्बन्धी तालिम दिनुपर्दछ। कुनै पनि उपकरण वा संरचनामा क्षति पुगेमा तत्काल मर्मत गर्नुपर्दछ र सरसफाइसम्बन्धी विवरण अद्यावधिक गर्न लगबुक (Logbook) राख्नुपर्दछ। सफाइकर्मीलाई आवश्यक पर्ने प्लम्बिङ औजार (जस्तै: रेन्च, प्लन्जर), विद्युतीय औजार, र मापन औजारहरूको उचित भण्डारण गरिएको हुनुपर्छ।
व्यावसायिक मोडेल र आर्थिक दिगोपन (Business and Financial Models): सार्वजनिक शौचालय सधैं घाटामा चल्ने संरचना होइनन्। सही व्यावसायिक मोडेल अपनाउन सके यिनीहरू आर्थिक रूपमा दिगो हुन सक्छन्।
सार्वजनिक शौचालय निर्माण गर्न स्थानीय, प्रदेश र संघीय सरकारबाट कोष जुटाउन सकिन्छ। यसका साथै दातृ निकाय, राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र कर्पोरेट सामाजिक जिम्मेवारी (CSR) अन्तर्गत निजी क्षेत्रलाई पनि आकर्षित गर्न सकिन्छ।
सञ्चालन र मर्मतसम्भारको खर्च जुटाउन विभिन्न राजस्व स्रोतहरू पहिचान गरिएका छन्। प्रयोगकर्ताको तिर्न सक्ने क्षमतालाई विचार गरी न्यूनतम् उपभोक्ता शुल्क उठाउन सकिन्छ। शौचालयको बाहिरी र भित्री गारोमा स्थानीय व्यापारीहरूसँग समन्वय गरी विज्ञापन राखेर, खाली जग्गा भाडामा लगाएर, वा प्रायोजन (Sponsorship) मार्फत पनि आम्दानी गर्न सकिन्छ।
सञ्चालनका लागि मुख्यतया तीनवटा मोडेल प्रभावकारी हुन्छन्:
१. प्रत्यक्ष व्यवस्थापन: स्थानीय निकाय वा वडा कार्यालयले बजेट विनियोजन गरी आफैंले प्रत्यक्ष सञ्चालन र व्यवस्थापन गर्ने।
२. निजी सार्वजनिक साझेदारी (PPP): निर्माणमा नगरपालिकाले लगानी गर्ने र दैनिक सञ्चालन, सरसफाइ तथा मर्मतसम्भारको जिम्मेवारी खुल्ला प्रतिस्पर्धा मार्फत निजी कम्पनी वा गैरसरकारी संस्थालाई दिने। यस मोडेलमा निजी क्षेत्रले राजस्व बाँडफाँट सम्झौता अन्तर्गत काम गर्न सक्छ।
३. समुदायको संलग्नता: स्थानीय व्यापारिक वा सामुदायिक संस्थासँग साझेदारी गरी जिम्मेवारी र लागत बाँड्ने। यसमा समुदायकै व्यक्तिहरूलाई अनुगमनका लागि स्वयंसेवकको रूपमा खटाउन पनि सकिन्छ।
आर्थिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन ‘क्रस-सब्सिडी’ (Cross-subsidy) अवधारणा अन्तर्गत उच्च, मध्यम र न्यून घुइँचो हुने ४-६ वटा शौचालयहरूको क्लस्टर बनाएर सञ्चालन गर्न सकिन्छ।
नगरपालिकाको भूमिका र अनुगमन संयन्त्र (Municipal Interventions): सार्वजनिक शौचालयलाई व्यवस्थित बनाउन स्थानीय सरकार (नगरपालिका वा गाउँपालिका) को भूमिका अहम् हुन्छ। नगरपालिकाले शौचालयको डिजाइन र निर्माण स्थानीय भवन संहिता अनुरूप भएको सुनिश्चित गर्नुपर्छ।
निर्माणपूर्व सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने हुन्छ। त्यस्तै, अपाङ्गता भएका व्यक्तिको पहुँचसम्बन्धी मापदण्ड (ह्वीलचेयर मार्ग, सङ्केतहरू) र स्वास्थ्य तथा सुरक्षा नियमावलीको पालना भए नभएको स्थानीय सरकारले नियमित मूल्याङ्कन गर्नुपर्छ।
शौचालयको सेवा गुणस्तरीय राख्न अनुगमन संयन्त्र अत्यन्त कडा हुनुपर्छ। स्थानीय सरकारको अनुगमन एकाइले साबुन, टिस्यु पेपरको उपलब्धता, सरसफाइ, फोहोर व्यवस्थापन लगायतका विषयमा अनुगमन गर्नुपर्दछ।
निजी संस्था वा अपरेटरसँग गरिने सम्झौतापत्र (Contract document) मा कार्यक्षेत्रको दायरा, नियम र सर्तहरू, भुक्तानी प्रक्रिया, कार्यसम्पादन मानक, र मापदण्ड पूरा नगरेमा हुने दण्ड तथा राम्रो काम गरेवापत दिइने प्रोत्साहनका व्यवस्थाहरू स्पष्ट रूपमा उल्लेख गरिनुपर्छ।
नागरिक वा प्रयोगकर्ताहरूको भूमिका पनि उत्तिकै रहन्छ। सेवाग्राहीले सेवा सन्तुष्टि वा गुनासो दर्ता गर्नका लागि अनलाइन आईसीटी आधारित प्लेटफर्म वा फोन नम्बरको व्यवस्था गर्नुपर्छ। शौचालय हाताभित्र मदिरापान वा चुरोट सेवन जस्ता निषेधित कार्यलाई निरुत्साहित गर्न प्रष्ट सङ्केतहरू राख्नुपर्छ र सकारात्मक आचरण प्रदर्शन गर्न प्रोत्साहन गर्नुपर्छ।
कार्यसम्पादन मापन गर्नका लागि मुख्य सूचकहरू (KPI) जस्तै: सफाइको आवृत्ति, मर्मत सञ्चालन (२४ घण्टाभित्र मर्मत), र प्रयोगकर्ताको सन्तुष्टिलाई आधार मानिनुपर्छ।
निष्कर्ष: सहरलाई सुन्दर, स्वस्थ र समावेशी बनाउन व्यवस्थित सार्वजनिक शौचालय पूर्वसर्त हो। स्थानीय सरकारले यसको निर्माणमा नेतृत्वदायी भूमिका खेल्ने, निजी क्षेत्र र समुदायलाई व्यवस्थापनमा जोड्ने, र नागरिकले शिष्टतापूर्वक यसको उपभोग गर्ने हो भने सार्वजनिक शौचालयहरू सहरको सभ्यता झल्काउने ऐना बन्न सक्छन्। दिगो आर्थिक मोडेल र कडा अनुगमन संयन्त्रले मात्र यसको दीर्घकालीन सञ्चालनलाई सुनिश्चित गर्न सक्छ।
लेखक सैंजु, परियोजना व्यवस्थापन परामर्शदातामा कार्यरत खानेपानी तथा सरसफाइ इन्जिनियर हुनुहुन्छ।


59 पटक हेरिएको 

