आज विश्व शौचालय दिवस, सुरक्षित शौचालय, समान भविष्य भन्ने नाराका साथ मनाईदै

  वास खबर समाचारदाता  52 पटक हेरिएको
🔗
54
Shares

काठमाडौ : आज नोभेम्बर १९, विश्व शौचालय दिवस । ‘SAFE TOILETS. EQUAL FUTURES.’ अर्थात् ‘सुरक्षित शौचालय, समान भविष्य’ भन्ने नाराका साथ संसारभर मनाईदैछ।

सन् २०१३ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व शौचालय दिवसलाई औपचारिक मान्यता दिएपछि हरेक वर्ष नोभेम्बर १९ तारिखलाई विश्व शौचालय दिवसको रुपमा मनाउन थालिएको हो ।

नेपालले खुला दिसामुक्त अभियान मार्फत सरसफाइको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। तर खुला दिसामुक्त घोषणा हुनु र सबै नागरिकले सुरक्षित तथा व्यवस्थित सरसफाइ सेवा पाउनु एउटै कुरा होइन। अबको चुनौती शौचालय निर्माण र प्रयोगको सुनिश्चितताबाट अघि बढेर सुरक्षित, समावेशी, पहुँचयोग्य र दिगो सरसफाइ सेवा उपलब्ध गराउनु हो।

नेपालका ग्रामीण बस्ती, विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक स्थल र सहरी क्षेत्रमा अझै पनि शौचालयको गुणस्तर, सरसफाइ, पानीको उपलब्धता तथा व्यवस्थापनमा सुधार गर्नुपर्ने पक्ष छन्।

कतिपय सार्वजनिक शौचालय प्रयोगकर्ताको आवश्यकताअनुसार निर्माण भएका छैनन्। कतिपय स्थानमा शौचालय बने पनि नियमित सरसफाइ र सञ्चालन व्यवस्थापनको अभावमा प्रयोग गर्न कठिन छ।

विशेषगरी महिलाका लागि सुरक्षित वातावरण, महिनावारी स्वच्छता व्यवस्थापन र अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयोग्य संरचनाको सुनिश्चितता अबको प्राथमिकता बन्नुपर्छ।

यसका लागि स्थानीय तहले शौचालय निर्माण गर्दा महिला, किशोरी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अन्य प्रयोगकर्ताको आवश्यकता बुझेर योजना बनाउनुपर्छ। विद्यालयमा छात्रामैत्री शौचालय र महिनावारी स्वच्छता व्यवस्थापनको सुविधा सुनिश्चित गर्नुपर्छ।

स्वास्थ्य संस्थामा सेवाग्राही र स्वास्थ्यकर्मी दुवैका लागि पर्याप्त र सुरक्षित शौचालय हुनुपर्छ। सार्वजनिक शौचालयको निर्माणसँगै नियमित सञ्चालन, सरसफाइ, मर्मतसम्भार र पानीको उपलब्धताको दिगो व्यवस्था गर्नुपर्छ।

अझ महत्त्वपूर्ण कुरा, शौचालय र सरसफाइसम्बन्धी योजना निर्माण तथा निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ। महिलालाई सेवाको उपभोक्ताका रूपमा मात्र नभई योजना निर्माण, बजेट विनियोजन, सञ्चालन र अनुगमनमा नेतृत्वदायी भूमिका दिनुपर्छ।

किनभने शौचालय प्रयोग गर्ने व्यक्तिको वास्तविक आवश्यकता र अनुभव योजनामा समेटिएन भने निर्माण गरिएका संरचना सबैका लागि उपयोगी नहुन सक्छन्। संयुक्त राष्ट्रसङ्घले पनि यस वर्षको अभियानमा सरसफाइ सम्बन्धी समाधान निर्माणमा महिला तथा प्रभावित समुदायको सहभागितालाई विशेष महत्त्व दिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार