सरसफाइका उपलब्धि जोगाउन बलियो प्रणाली र साझेदारी आवश्यक : कार्यक्रम व्यवस्थापक प्रधान

न्यून आय भएका समुदायका लागि जलवायु उत्थानशील सरसफाइ सेवा सम्बन्धी नयाँ पहल अघि बढाइने

  वास खबर समाचारदाता  94 पटक हेरिएको
🔗
91
Shares

काठमाडौं : संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) की आवास कार्यक्रम व्यवस्थापक (Habitat Programme Manager) प्रज्ञा प्रधानले नेपालमा सरसफाइ क्षेत्रले हासिल गरेका उपलब्धिलाई दिगो बनाउन नीतिगत सुधार सँगै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ।

काठमाडौ भैरहेको नगरव्यापी समावेशी सरसफाइ (CWIS) राष्ट्रिय सिकाइ सम्मेलन २०२६ मा मन्तव्य राख्दै उहाँले नेपालले खुला दिसामुक्त (ओडीएफ) घोषणा हासिल गरेपछि सरसफाइ क्षेत्रमा नयाँ चरणको यात्रा सुरु भएको बताउनुभयो।

अब सरसफाइ सेवाको पहुँच विस्तारमा मात्र सीमित नभई सेवाको गुणस्तर, दिगोपना, समतामूलक पहुँच र सरसफाइ सेवा शृङ्खलाको पूर्णतामा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।

CWIS  एलायन्स नेपाल, FSM नेटवर्क बंगलादेश, र NFSSM एलायन्स भारतको सहकार्य तथा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोगमा यूएन–ह्याबिट्याटद्वारा आयोजित सिकाइ सम्मेलनमा उहाँले नेपालले विगत दुई दशकमा सरसफाइ क्षेत्रमा हासिल गरेको प्रगतिलाई संस्थागत गर्दै आगामी दिनमा अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

गुणस्तरीय र दिगो सरसफाइ सेवाको आवश्यकता

प्रधानले सन् २००५ मा सहरी सरसफाइलाई प्राथमिकतामा राखेर सुरु भएको अभियान र सन् २०१० देखि सञ्चालन भएको खुला दिसामुक्त अभियानले नेपाललाई दक्षिण एसियामै पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा गराउने ऐतिहासिक उपलब्धि हासिल भएको स्मरण गर्नुभयो।

तर, खुला दिसामुक्त राष्ट्र घोषणा सरसफाइ यात्राको अन्तिम गन्तव्य नभई नयाँ चरणको सुरुवात मात्र भएको उहाँले स्पष्ट पार्नुभयो। अब सबै नागरिकको समान पहुँच सुनिश्चित गर्दै सरसफाइ प्रणालीलाई समावेशी, सुरक्षित, वातावरणमैत्री र दिगो बनाउनुपर्ने उहाँको भनाइ थियो।

यही आवश्यकतालाई सम्बोधन गर्न नगरव्यापी समावेशी सरसफाइ (CWIS) पहल सुरु गरिएको उल्लेख गर्दै उहाँले यसले नीतिगत तथा लगानीको वातावरण सुधार, संस्थागत एवं प्राविधिक क्षमता अभिवृद्धि र सरसफाइलाई स्थानीय तथा राष्ट्रिय योजना र कार्यान्वयन प्रणालीमा समेट्न सहयोग पुर्‍याएको बताउनुभयो।

तथ्याङ्कमा आधारित योजना आवश्यक

प्रधानले CWIS एलायन्स र क्षेत्रीय सञ्जालहरूले सरसफाइ क्षेत्रका विविध पक्षलाई एउटै साझा उद्देश्यमा जोड्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। यसले क्षेत्रगत पैरवी, ज्ञान तथा अनुभव आदानप्रदान र स्रोत परिचालनलाई थप प्रभावकारी बनाएको उहाँको भनाइ थियो।

परियोजना सम्पन्न हुँदैमा यसबाट स्थापित प्रणाली, क्षमता र साझेदारीको अन्त्य नहुने उल्लेख गर्दै उहाँले सरकारले यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। विशेष गरी स्थानीय तहमा तथ्याङ्कको प्रयोग, योजना तथा लगानीका लागि स्थानीय वास सूचकाङ्कको उपयोग र प्रमाणमा आधारित प्राथमिकता निर्धारणलाई थप सुदृढ बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

नीति, नियामक सुधार र योजनालाई व्यवहारमा उतार्ने समय आएको उल्लेख गर्दै उहाँले नमुना परियोजना र नीतिगत उपलब्धिलाई समुदायको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने कार्यमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। यसले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्रयासमा समेत योगदान पुर्‍याउने उहाँको भनाइ थियो।

उहाँले यूएन–ह्याबिट्याटले आगामी दिनमा पनि सरसफाइ क्षेत्रको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, सन् २०२७ देखि न्यून आय भएका समुदायका लागि समतामूलक र जलवायु उत्थानशील सरसफाइ सेवा प्रवर्द्धन गर्ने नयाँ पहल सञ्चालन गर्ने तयारी रहेको जानकारी दिनुभयो। उक्त पहलले यस अघिको सहकार्यबाट प्राप्त सिकाइ र उपलब्धिलाई आधार बनाउने उहाँले बताउनुभयो।

सम्मेलनमा पूर्वाधार विकास मन्त्रालयका सहसचिव, खानेपानी तथा ढल व्यवस्थापन विभागका उप-महानिर्देशक, अन्य सरकारी कर्मचारी, CWIS एलायन्सका सदस्य संस्थाका प्रमुख तथा प्रतिनिधि, FSM नेटवर्क बंगलादेश र NFSSM एलायन्स भारतका प्रतिनिधिहरूको उपस्थिति थियो।

त्यसैगरी नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम नेपाल कार्यक्रम (Scalling of Citywide Inclusive Sanitation Service System program) सञ्चालन भएका सातवटै प्रदेशका सात नगरपालिका/गाउँपालिकाका जनप्रतिनिधि तथा सरसफाइ शाखा प्रमुख र प्रतिनिधि एवं सिटीवाइड इन्क्लुसिभ स्यानिटेसन क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार