
वीरगञ्जका फोहोरपानी तथा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा नआएको र त्रिशूली नदी प्रदूषित हुँदै गएको उदाहरण दिँदै सरसफाइमा सुनिश्चित बजेट र स्पष्ट जिम्मेवारी तोक्नुपर्नेमा जोड
काठमाडौं : वीरगञ्जमा ठूलो लगानीमा निर्माण गरिएका फोहोरपानी प्रशोधन तथा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा छैनन्। उता, त्रिशूली नदी आसपासका होटल तथा बस्तीबाट निस्कने ढल र दिसाजन्य लेदो नदीमै मिसिँदा नदी प्रदूषित हुँदै गएको छ। यी दुई उदाहरण प्रस्तुत गर्दै प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठले नेपालमा सहरी सरसफाइको समस्या पूर्वाधार अभाव मात्र नभई योजना, संस्थागत व्यवस्थापन र कार्यान्वयनसँग पनि जोडिएको बताउनुभएको छ।
काठमाडौंमा आयोजित नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी राष्ट्रिय सिकाइ सम्मेलनमा (CWIS National Learning Conference 2026) मा बोल्दै सांसद श्रेष्ठले सरसफाइ क्षेत्रमा ठूलो लगानी भए पनि निर्माण गरिएका संरचना सञ्चालन गर्न नसक्नु गम्भीर चुनौती भएको बताउनुभयो।

CWIS Alliance Nepal, FSM Network र NFSSM Alliance को सहकार्य तथा गेट्स फाउन्डेसनको आर्थिक सहयोगमा UN-Habitat द्वारा आयोजित सम्मेलनमा उहाँले वीरगञ्जको उदाहरण दिँदै ठूलो लगानीमा निर्माण गरिएको फोहोरपानी प्रशोधन केन्द्र ढलको बहाव र प्रशोधन केन्द्रको संरचनाको उचाइबीच तालमेल नमिल्दा सञ्चालनमा आउन नसकेको बताउनुभयो। त्यस्तै, वीरगञ्जमा निर्माण गरिएको ठूलो फोहोर व्यवस्थापन केन्द्र पनि प्रयोगविहीन रहेको उहाँले उल्लेख गर्नुभयो।
विभिन्न नजिकका सहरबाट समेत फोहोर ल्याएर व्यवस्थापन गर्न सकिने गरी निर्माण गरिएको उक्त केन्द्र सञ्चालनमा नआउनु राज्यको लगानी र आयोजना व्यवस्थापन माथिकै प्रश्न भएको उहाँको भनाइ थियो।
सांसद श्रेष्ठले त्रिशूली नदी आसपासका होटल तथा अर्धसहरी बस्तीमा दिसाजन्य लेदो र फोहोरपानी व्यवस्थापनको समस्या पनि उत्तिकै गम्भीर रहेको बताउनुभयो। होटलहरूमा साना सेप्टिक ट्याङ्की निर्माण गरिए पनि ती भरिएपछि निस्कने दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापन गर्ने प्रणाली नहुँदा अन्ततः त्रिशूली नदीमै पुग्ने गरेको उहाँले बताउनुभयो।

कुनै समय सफा र नीलो पानीका लागि चिनिने त्रिशूली नदी अहिले ढल तथा अन्य प्रदूषित पदार्थ मिसिँदा प्रदूषित हुँदै गएको उहाँको भनाइ थियो। नदीको प्रदूषणले र्याफ्टिङ व्यवसायमा समेत नकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै उहाँले सरसफाइको समस्या वातावरणीय र जनस्वास्थ्यको विषय मात्र नभई पर्यटन तथा अर्थतन्त्रसँग पनि जोडिएको बताउनुभयो।
त्यसैगरी तराई क्षेत्रमा बाढी तथा डुबानका कारण शौचालयबाट दिसाजन्य लेदो चुहिने र वातावरण प्रदूषित हुने समस्या रहेको उहाँले औँल्याउनुभयो। बाढीपछि यस्तो जोखिम अझ बढ्ने भएकाले स्थानीय भूगोल र जोखिमअनुसार सरसफाइका संरचना निर्माण तथा व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ थियो।
सांसद श्रेष्ठले सरसफाइ क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि संस्थागत जिम्मेवारी स्पष्ट हुनुपर्ने र यस क्षेत्रमा बजेट विनियोजन अनिवार्य गरिनुपर्ने बताउनुभयो। खानेपानी तथा सरसफाइ सेवामा संघ, प्रदेश र स्थानीय तहका निकायबीच जिम्मेवारी स्पष्ट नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको उहाँले उल्लेख गर्नुभयो।

स्थानीय तहमा नेतृत्वको प्राथमिकताअनुसार मात्र सरसफाइको बजेट छुट्याउने अवस्था रहेको भन्दै उहाँले यस क्षेत्रका लागि केन्द्रदेखि स्थानीय तहसम्म निश्चित र समर्पित बजेटको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो। सरसफाइ क्षेत्र अझै पनि कम प्राथमिकतामा परेको र सहरी सरसफाइका लागि पर्याप्त योजना तथा लगानी हुन नसकेको उहाँको भनाइ थियो।
उहाँले सहरी सरसफाइमा दक्ष तथा प्रमाणित जनशक्तिको व्यवस्था, आधुनिक प्रविधिको प्रयोग र निजी क्षेत्रको सहभागिता बढाउनुपर्ने पनि बताउनुभयो। सार्वजनिक बसपार्कजस्ता धेरै मानिसको आवतजावत हुने स्थानमा निजी क्षेत्रको सहभागितामा आधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरी उन्नत सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गर्न सकिने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभयो।

सरसफाइ क्षेत्रलाई प्रभावकारी बनाउन राजनीतिक तथा नीतिगत तहबाट आवश्यक निर्णय लिन आफूहरू प्रतिबद्ध रहेको बताउँदै उहाँले धेरै कार्यक्रम घोषणा गर्नुभन्दा थोरै कार्यक्रमबाट सुरु गरेर त्यसलाई पूर्णता दिई अरूले समेत अनुसरण गर्न सक्ने नमुना स्थापित गर्नुपर्नेमा जोड दिनुभयो।
‘थोरैबाट सुरुवात गरौँ, तर त्यसलाई पूर्णता दिएर देखाउन सकिने र अरूले पनि अनुसरण गर्न सक्ने उदाहरण स्थापित गरौँ,’ उहाँले भन्नुभयो।

वाटर एड नेपाल, नेपाल नगरपालिका संघ, खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यवस्थापन विभागको समन्वयमा र गेट्स फाउण्डेसनको वित्तिय व्यवस्थापनमा देशभरिका सात वटा नगरपालिकामा नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम नेपाल (Scalling of Citywide Inclusive Sanitation Service System program) सञ्चालन गरिएको छ।

कार्यक्रम सञ्चालित नगरपालिकामा नगरस्तरीय मानव मलमूत्र व्यवस्थापन सम्बन्धी कानुनी औजारहरु निर्माण गर्ने, मानव मलमूत्र व्यवस्थापन सम्बन्धी तथ्याङ्क संकलन तथा सुदृढीकरण गरी एन वासमा अद्यावधिक गर्ने कार्य गरिएको छ।
यस्तै नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी क्षमता विकास गर्न विभिन्न तालिमहरु सञ्चालन गरिएको छ भने संस्थागत प्रारुप तयार गर्ने लगायत प्राविधिक सहयोग गरिएको छ ।
नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रमको UN-Habitat कार्यकारी निकाय हो ।


58 पटक हेरिएको 

