आँगनमै धारा, पानीको लागि कुवाको सहारा

गोरखा : घरघरै आँगनको एउटा कुनामा धारा । धारालाई घेरा हालेर पक्की संरचना पनि बनाइएका छन् । पानी थाप्न, लुगा धुन र भाँडा माझ्न उपयोग हुने उक्त ठाउँ सुख्खा छ । धारामा पानी नआउने भएकाले सहिद लखन गाउँपालिका–२ मनकामनाको बनौतीमा स्थानीयवासी गाग्री बोकेर पँधेरो र कुवा धाइरहेका भेटिन्छन् ।

‘खानेपानी योजना बनेदेखि नै धारा आयो, पानी झरेन,’ स्थानीय गोदावरी अर्यालले भनिन्, ‘आँगनको धारा हेर्दै डोको बोकेर कुवा जान्छु । मान्छेले देख्दा पनि लाजमर्दो भयो ।’ यहाँका बासिन्दालाई खानेपानी उपलब्ध गराउन २०७३ मा रेडक्रसले चासो देखाएको थियो । ४२ घरधुरीका लागि १३ वटा धारा जडान गरिए । खानेपानी योजनाको व्यवस्थापन गतिलो नहुँदा ४–५ वटाभन्दा बढी धाराबाट पानी आएन ।

‘घरमा धारा भएर के गर्नु रु काठमाडौंमा डेरीको दूध किन्नभन्दा भैंसी पाल्छु भनेर गाउँ फर्किएँ,’ अर्यालले भनिन्, ‘अहिले भैंसीलाई चार खेप पानीले पुग्दैन । डोकोमा पानी बोकेर तरकारी फलाउन पनि साध्य लागेन ।’ बाटो हिँड्ने बटुवालाई एक गिलास पानी दिन धक मान्नुपरेको उनको दुखेसो छ । ‘बाटोको घरआँगनको धारो । तिर्खाएका बटुवाहरू धारा देखेर आइपुग्छन्,’ उनले भनिन्, ‘डोकोमा बोकेर ल्याएको पानी फारु गर्न मन लाग्छ । दिन्छु भन्ने कि दिन्न भन्ने । पानी दिन्न भन्न पनि मिलेन ।’

पानी नआउने धारामा नेपाल रेडक्रस सोसाइटीको लोगो छ । बेलाबखत गाउँ पुग्ने रेडक्रसका प्रतिनिधिले पानी नआउने धारामा राखेको लोगोले संस्थाको बेइज्जत भएको बताउने गरेका छन् । यहाँ भेटिएका केही स्थानीयले धाराले जग्गा मात्र ओगटेको भन्दै आक्रोश पोखे । ‘माथिल्लो गाउँका ६र७ वटा धारामा मात्र पानी झर्छ,’ स्थानीय समयमा पोखेरलले भनिन्, ‘तीनरचार घरका लागि एउटा धारो बनेको छ ।

तल्लो गाउँमा बनेको पाँच धारामा पानी आउँदैन । धाराले जग्गा मात्र ओगटे, पानी झरेन ।’ निर्माण सपन्न भएको १६ महिनासम्म पानी नआएपछि स्थानीयवासी कुवा र खोलाको पानी उपभोग गर्न बाध्य छन् । ‘नजिकैको बिरौटो खोलाको पानि खाने गरेका छौं,’ उनले भनिन् । उक्त योजनाअन्तर्गतकै एउटा धारा जनज्योति प्राविको प्रांगणमा छ । विद्यार्थीलाई सजिलोका लागि राखिएको उक्त धारामा पनिपानी आउँदैन ।

योजनाको दिगो तरिकाले व्यवस्थापन गरिदिए पानी आउने स्थानीय दिलप्रसाद आर्यालले बताए । ‘पानीको आए नआएको, सबै घरमा पुगे–नपगेको हेर्न मान्छे राख्ने र यसको व्यवस्थापन हुने हो भने सबै घरकालाई सुख हुन्छ,’ उनले भने । मुहानको पानी समानुपातिक वितरण नहुँदा समस्या थपिएको उनको भनाइ छ ।

स्थानीयको खानेपानी समस्या समाधानका लागि रेडक्रसबाहेक खानेपानी कार्यालयले पनि आठ घनमिटरको ट्यांकी निर्माण गरिदिएको छ । चार लाख रुपैयाँको लागतमा बनेको उक्त ट्यांकीमा पानी नअडिने स्थानीय बताउँछन् । बनेर
ट्यांकी तयार भयो भनेर पानी हाल्दा चुहिएपछि प्रयोगविहीन अवस्थामा छ ।

व्यवस्थापन अभावमै सबै धारामा पानी आउन नसकेको उपभोक्ता समितिका अध्यक्ष फानबहादुर थापाले स्वीकार गरे । ‘बीचबीचमा पाइप काटिएको छ, सडक खन्दा केही पाइप जेसीभीले फालिदियो,’ उनले भने ।

२८ लाखको लागतमा खानेपानी योजना बनेको उनले बताए । ‘गाउँभन्दा दुई किलोमिटर परको सिम्ले खोला मुहानबाट पानी ल्याएका हौं, माझगाउँसम्म त पानी आउँछ,’ उनले भने, ‘तल्लो गाउँमा समस्या छ ।’

पानीको व्यवस्थापन नहुँदा उपभोक्ताहरूबीच मनमुटाव बढेको छ । सबै उपभोक्ताहरूले खानेपानी योजनाको संरक्षणमा चासो नदेखाउँदा पनि समस्या भएको अध्यक्ष थापाले गुनासो गरे । ‘बिग्रिए सबै मिलेर बनाउन चासो देखाउनुपर्थ्यो, त्यसो भएन,’ उनले भने, ‘मिटर सिस्टम राखौं भन्दा पनि सबै एकमत हुनुहुन्न ।’

न्यूनतम शुल्क लिएर मिटर सिस्टम गरे संकलित रकमले योजनाको संरक्षणमा सघाउ पुग्ने उनको विश्वास छ । रेडक्रसले खानेपानी योजना निर्माण गरेर यसको व्यवस्थापन पक्षका बारे बुझाउन नसक्दा पनि समस्या थपिएको केही स्थानीयले बताए ।
कान्तिपुर दैनिकबाट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार